समाज

सङ्खुवासभामा ट्रयाक्टर दुर्घटना, दुई जनाको मृत्यु

सङ्खुवासभाको मकालु गाउँपालिका–३ समाटारमा बुधबार ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

खाँदबारी किमाथाङ्का सडक खण्डको वरुणबाट खाँदबारी आउने क्रममा ट्र्याक्टर भीरबाट खस्दा त्यसमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेमा खाँदबारी नगरपालिका–८ विश्नेधाराका चालक किरण श्रेष्ठ र सहचालक उदित श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।

ट्र्याक्टर भीरबाट करिब तीन सय मिटर तल अरुण नदीमा खसेको हो। नदीले बगाएको उक्त ट्र्याकटरको नम्बर प्लेट खुल्न नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित: २ आश्विन २०८१ १५:०३ बुधबार