समाज

सकियो वासस्थान नवप्रवर्तन कन्क्लेभ: फोहोर व्यवस्थापनमा साझा नीतिको आवश्यकतामा जोड

चितवनमा फोहोर व्यवस्थापन, वातावरण सेनिटेसनसम्बन्धी तेस्रो वासस्थान नवप्रवर्तन (ह्याबिट्याट इनोभेसन कन्क्लेभ २०२४) सम्मेलन सकिएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयको संयुक्त आयोजनामा भदौ ३१ देखि सञ्चालन भएको सम्मेलन बुधबार सकिएको हो।

फोहोरलाई सेग्रिगेट गरी यसबाट ऊर्जा उत्पादन, खाद्य सुरक्षा प्रवर्धन र वातावरण संरक्षणसँग एकीकृत गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलन पूर्ण रूपमा सफल भएको सम्मेलनका संयोजक एवं पूर्वमन्त्री गणेश शाहले जानकारी दिए।

नेपाल फोहोरमा आधारित उद्यमशीलतामा अगाडि बढ्नुपर्ने धारणासहित सम्मेलन आयोजना गरिएको थियो। कन्क्लेभमा चितवनका पालिका प्रमुखलाई पनि सहभागी गराई समस्या र चुनौतीका विषयमा छलफल गरिएको र समाधानका उपाय खोजिएको उनले बताए।

अहिले देशभरका नगर प्रमुखहरूलाई फोहोर व्यवस्थापनको टाउको दुखाइको विषय बनेको छ। फोहोरलाई डम्पिङभन्दा पनि कसरी मोहरमा परिणत गर्ने र रोजगारी सिर्जना गर्ने भन्ने विषयमा कन्क्लेभ केन्द्रित रहेको उनले बताए।

उनले नारायणी र बागमतीजस्ता नदीनालाको सभ्यता हराउँदै गएकाले त्यसतर्फ समेत सरकारले सोच्नुपर्ने बेला आएको बताए। ‘जंगलमा हामी धनी भयौं भनेका छौं आगो मात्र लागेको छ’, उनले भने, ‘नदीनाला ढलमा परिणत हुँदैछन्।’

विज्ञान बुझेर प्रविधिको उपयोग गर्दै दिमागलाई सिर्जनशील बनाउनुपर्ने धारणासमेत राखे।

कृषि विश्वविद्यालयका उपकुलपति प्रा. डा. पुण्यप्रसाद रेग्मीले मानिसको वासस्थान मात्र नभई प्रकृतिको संरक्षण गर्नुपर्ने बताएका छन्। रेग्मीले यस विषयसंँग सम्बन्धित विज्ञ, जानकार, नीति निर्माताको सहभागितामा भएको कन्क्लेभले यस विषयमा थप निकास निस्कने विश्वास व्यक्त गरे। ‘अनुसन्धानबाट आएको कुरालाई किसानको खेतसम्म लगाउनुपर्दछ’, उनले भने, ‘काठमाण्डौं विश्वविद्यालयसँग सहकार्य गरेर अगाडि बढ्छौं।’

दुई दिनसम्म चल्ने सम्मेलनमा वातावरण, दिसाजन्य फोहोर व्यवस्थापन र खाद्य सुरक्षाका विषयमा कार्यपत्र प्रस्तुत भएका थिए। सम्मेलनमा भर्चुअलमार्फत विशेषज्ञले आफ्नो प्रस्तुति राखेको आयोजकले जानकारी दिएको छ।

कार्यपत्र प्रस्तुत गर्दै प्रोफेसर आशुतोष तिवारीले फोहोर व्यवस्थापनको चुनौती दक्षिण एसियामा रहेको बताए। दक्षिण एसियमा दैनिक ६ सय टन फोहोर निस्कने भन्दै अहिले नेपालमा झन्झन् चुनौती थपिँदै गएको बताए। ‘फोहोर व्यवस्थापन पालिका प्रमुख र उपप्रमुखको मात्र होइन, सबैले आआफ्नो तर्फबाट गर्न सकिन्छ’, उनले भने, ‘हामीले कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्‍यो।’

स्थानीय तहले फोहोर व्यवस्थापनका लागि ल्यान्डफिल साइट निर्माण गर्नुपर्ने बताए। विज्ञानसँग नीतिलाई जोड्नुपर्ने भन्दै उनले पालिका प्रमुखहरूले पोलिसी लेभलमा काम गर्नुपर्ने बताए।

काठमाडौं विश्वविद्यालयका प्रोफेसर प्रकाश श्रेष्ठले फोहोर व्यवस्थापनमा साझा भएकाले नेपालभन्दा बाहिरी मुलुकसँग मिलेर काम गर्नुपर्ने बताए। भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले फोहोर व्यवस्थापनमा काम गर्न नसकिएको बताए।

‘भरतपुर महानगरपालिकाबाट दैनिक ७० टनभन्दा माथि फोहोर निस्कन्छ’, उनले भने, ‘यो व्यवस्थापन गर्न हामीलाई कठिन छ।’

अहिले महानगरपालिकाले नारायणी किनारमा फोहोर फाल्ने गरेको छ। गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले राजनीतिक खिचतानी हुँदा फोहोर व्यवस्थापन गर्न चुनौती रहेको बताए।

सम्मेलनले चुनौतीहरूको पहिचान र समाधान गर्न विद्यार्थीलाई सशक्त बनाउन सहयोग आयोजकले जानकारी दिएको छ। कार्यक्रममा प्राज्ञ, नीति निर्माता, लगानीकर्ता, केन्द्रीय र स्थानीय सरकारी निकाय, गैरसरकारी संस्था, कृषि तथा वन विश्वविद्यालय, रामपुर र काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी र सरसफाइ प्रविधिमा विशेषता भएका व्यक्तिहरूको उपस्थिति थियो।

सम्मेलनमा प्यालन छलफल, प्राविधिकहरूको सत्र, नगरपालिका प्रमुखहरूले फोहर व्यवस्थापनमा झेलिरहेका समस्या, स्नातकोत्तर विद्यार्थीका प्रस्तुति रहेको थियो। यसले खाद्य सुरक्षा, सरसफाइ र वातावरण व्यवस्थापनमा रहेका चुनौतीहरूको समाधान गर्न सहयोग पुग्ने अपेक्षा लिइएको छ। 

प्रकाशित: २ आश्विन २०८१ ०८:२७ बुधबार

# Waste management # common policy