समाज

एकल महिलालाई गाउँपालिका अध्यक्षले बनाइदिए घर

राईलाई घरको चाबी हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष कालाखेती।

मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले आफूले पाउने सेवा सुविधा बापत्‌को रकमबाट पालिकाकै एकजना आवासविहीन एकल तथा विपन्न महिलालाई पक्की घर बनाइदिएका छन्।

अध्यक्ष कालाखेतीले गाउँपालिका अध्यक्ष भए बापत् आफूले पाउने पारिश्रमिक तथा सेवा सुविधाबापतको रकमले घर बनाइदिएका हुन्। उक्त घर मंगलबार एक कार्यक्रमकाबीच मनहरी-५ की ४० वर्षीया सोनी राइलाई हस्तान्तरण गरिएको छ।

घर निर्माणका लागि २ लाख १५ हजार रुपैयाँ खर्च भएको अध्यक्ष कालाखेतीले बताए। ‘मैले निर्वाचकै समयमा चुनाव जितेँ भने सरकारी गाडी चढ्दिन र आउने सबै सेवा सुविधा गरिब तथा विपन्नको सेवामा लगाउँछु भन्ने घोषणा एवम् प्रतिबद्धता गरेको थिएँ’, उनले भने, ‘सोही अनुसार मैले सबै सेवा सुविधा गरिब तथा विपन्नको सेवामा लगाउँदै आएको छु।’

आफन्त कोही नभएको र सानो छाप्रोमा असुरक्षित ढंगबाट बस्दै आएको थाहा पाएपछि राईको लागि घर बनाइदिएको कालाखेतीले बताए। घर प्राप्त गरेपछि राईले खुसी व्यक्त गरिन्। ‘मुडा लोड गर्ने क्रममा दुर्घटनामा परेर श्रीमानको मृत्यु भएपछि अर्काको घरमा आश्रय लिएर बस्दै आएको थिएँ’, राईले भनिन्, ‘अब अर्काको घरमा बस्नुपर्ने दिनको अन्त्य भएको छ। पालिका अध्यक्षले घर बनाइदिनुभएकोमा एकदमै खुसी छु।’

उनले ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएकी छन्। अध्यक्ष कालाखेतीले आफूले पाउने सेवा सुविधाको रकमबाट यस अघि दुर्घटनामा परेका एक विपन्न बोटे परिवारको उपचारको खर्च व्यहोरिदिएका थिए भने चाडपर्वको समयमा विपन्नहरूलाई खाद्यान्न समेत वितरण गर्दै आएका छन्। 

उनले आफूले पाउने पारिश्रमिक तथा सेवा सुविधा बापत् प्राप्त गर्ने रकमबाट कोष निर्माण गरेका छन्। सोही कोषमा रहेको रकमबाट सहयोग गर्दै आएको उनले जनाए। अध्यक्ष कालाखेतीले आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता जाहेर गरेका छन्।

प्रकाशित: १ आश्विन २०८१ २०:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App