समाज

स्वास्थ्य संस्थाको स्टिकर टाँसेको गाडीमा भेटियो डेढ क्विन्टल गाँजा

सोमबार राति प्रहरीलाई ठक्कर दिएर भोगको स्कोरपिओ गाडीभित्र डेढ क्विन्टल लागुऔषध गाँजा फेला परेको छ। प्रहरीले गाडीमा सवार दुई जनालाई नियन्त्रणमा लिएको छ।

राति पौने ९ बजेतिर विराटनगर महानगरपालिका–१७ स्थित मण्टापोखरीबाट गाडीसहित दुवै जनालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

उनका अनुसार स्कोरपिओभित्र गाँजा फेला परेपछि चालक सुनसरीको धरान उपमहानगरपालिका–१७ रेल्वेका ४५ वर्षीय सुक्षिम राई र स्कोरपिओमा सवार धरान–११ का ४६ वर्षीय देवराज राईलाई नियन्त्रणमा लिइएको हो।

लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा को २ च ७५९ नम्बरको स्कोरपिओलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरमा कार्यरत प्रहरी हवलदार कैलाश खत्री दाहाललाई ठक्कर दिएर स्कोर पिओ भागेको थियो। त्यसपछि थप प्रहरीले गाडीलाई रोक्ने क्रममा मण्टापोखरी छेउमा पुगेपछि नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ। 

ठक्करबाट सामान्य घाइते भएका दाहालको उपचार भइरहेको बताउँदै, डिएसपी बस्नेतले भने, ‘ठक्कर दिएर भागेको गाडी लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर प्रकाश थापा नेतृत्वको टोलीले संयुक्त टोलीले नियन्त्रणमा लिएको हो। गाडीको अगाडि रहेको सिसामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लेखिएको स्टिकर टाँस भएको छ। गाडी कसको हो यकिन भइसकेको छैन, बुझ्ने काम भइरहेको छ।’

नियन्त्रणमा लिएर खानतलासी गर्दा पछाडिको भागमा ६ वटा बोराभित्र लुकाइछिपाइ राखिएको अवस्थामा १ सय ४६ किलोग्राम गाँजा बरामद भएको बताउँदै, डिएसपी बस्नेतले भने, ‘प्रहरीलाई देखेपछि गाडी तीव्र गतिमा भाग्ने क्रममा प्रहरीलाई ठक्कर दिएको हो। नियन्त्रणमा लिएको गाडी र बरामद भएको गाँजासहित दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान सुरु गरेका छौं।’

उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: १ आश्विन २०८१ १६:०८ मंगलबार