समाज

अमेरिका र चीनसँग सैन्य अभ्यासमा नेपाली सेना

नेपाली सेनाले एकैपटक दुई शक्तिशाली राष्ट्रका सेनासँग सैनिक अभ्यास गर्दैछ। अमेरिकी सैनिकसँग अहिले संयुक्त सैन्य अभ्यास सूरु भएको छ। अमेरिकी सेनासँगको अभ्यास सकिएलगत्तै चिनियाँ सेनासँग सुरु हुनेछ। असोज ४ गते अमेरिकी सेनासँगको सैन्य अभ्यास सकिएलगत्तै असोज ५ बाट नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच संयुक्त अभ्यास हुने नेपाली सेनाले बताएको छ। 

चिनियाँ सेनासँगको अभ्यास चीनको सिचुवान प्रान्तमा हुनेछ। अमेरिकी सेनासँगको सैन्य अभ्यास भने आइतबार सुरु भएको हो। उक्त अभ्यास काठमाडौं, मकवानपुर र धादिङमा सम्पन्न हुनेछ। संयोग पनि उस्तै छ। दुवै देशका सेनासँगको यो चौथो संस्करणको सैन्य अभ्यास हो। दुवै देशसँगको अभ्यासका क्रममा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने विधि तथा प्रक्रियाका सम्बन्धमा ज्ञान आदानप्रदान हुने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

विपद व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सन २०१२ देखि अभ्यास सञ्चालन हुँदै आएको छ। नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको तेस्रो सैन्य अभ्यास नेपालमा भएको थियो। अभ्यासको चौथो संस्करण चीनमा हुने नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरव केसीले बताए। 

‘आजबाट नेपाली सेना र अमेरिकी सैनिकबीच सैन्य अभ्यास सुरु भएको छ, असोज ५ गतेबाट नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच संयुक्त सैन्य अभ्यास हुँदैछ,’ केसीले भने । नेपाली सेनाले यी दुवै शक्तिशाली राष्ट्रसँग एक पटक संयुक्त सैन्य अभ्यास गरेर दुवैसँग नेपाली सेनाको व्यहार सामान छ भनेर सन्देश दिन खोजेको छ। कोरोना संक्रमणको जोखिम देखाउँदै २०७६ (सन २०१९) पछि नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच सैन्य अभ्यास हुन सकेको थिएन । सैन्य अभ्यास असोज १५ सम्म चल्ने सहायक रथी केसीले बताए।

तत्कालीन प्रधानसेनापति प्रभुराम शर्माले आफ्नै कार्यकालमा नेपाल र चीनबीचको सैन्य अभ्यास गराउन चाहे पनि चिनियाँ पक्षले सहमति दिएको थिएन। तर पछिल्लो पटक दुवै सैन्य अधिकारीहरूले यसको तयारी गरेर प्रक्रिया अघि बढाई मितिसमेत तय गरिसकेका छन। त्यसका लागि उपरथी प्रेमध्वज अधिकारीले चीन पुगेर छलफल गरेका थिए। उपरथी अधिकारी चीनबाट फर्किएलगत्तै सैन्य अभ्यासको मिति तय भएको थियो। ‘सगरमाथा फ्रेन्डसिप’ नाम दिइएको नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यास यसपटक चीनको सिचुवान प्रान्तको छेन्दुनजिकैको सहर छोङछिङमा हुने नेपाली सेनाले जनाएको छ।  

यसअघि सन २०१९ मा उक्त सैन्य अभ्यास काठमाडौंमा भएको थियो । नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच अन्य तालिमहरू नियमित भए पनि सैन्य अभ्यास भएको थिएन। दुई मुलुकका सैनिक अधिकारीबीच २०७४ देखि सैन्य अभ्यास हुँदै आएको छ। जसलाई विश्वका शक्तिराष्ट्रहरूले अस्वाभाविक ठान्दै आएका भए पनि यसपटक नेपाली सेनाले अमेरिकी सेना र चिनियाँ सेनासँग एक पटक सैन्य अभ्यास गरेर शक्ति राष्ट्रसँगको सम्बन्धलाई सन्तुलित बनाउन खोजेको छ।

‘छिमेकी मुलुक भारतसँग पनि संयुक्त सैन्य अभ्यास हुँदै आएको छ। चीन पनि उत्तिकै महŒव बोकेको समान छिमेकी मुलुक हो। शक्ति राष्ट्रहरूमध्ये एक भएकाले हाम्रो सैन्य कूटनीतिले सबैलाई समान व्यवहार र भाइचराको सम्बन्ध स्थापित गर्नुपर्ने हुन्छ,’ एक सैन्य अधिकारीले भने। कतिपय मुलुकका कूटनीतिज्ञले विगतमा नेपाल र चीनबीच भएका सैन्य अभ्यासको खुलेरै विरोध गरेको विषयलाई नेपाली सेनाले महत्त्व दिएको छैन। नेपाली सेनाले चीनसँगको संयुक्त सैन्य अभ्यास नियमित र सामान्य भएको बताउँदै आएको छ। नेपालले भारतीय सेनासँग पनि  सैन्य अभ्यास गर्दै आएको छ। नेपाली र भारतीय सेनाबीच हुने सैन्य अभ्यासलाई ‘सूर्य किरण’ नाम दिइएको छ। 

प्रकाशित: ३१ भाद्र २०८१ ०६:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App