समाज

पेट्रोलमा प्रतिलिटर ४ र डिजेलमा ५ रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो। पेट्रोलको मूल्य चार रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रति लिटर पाँच रुपैयाँ घटाइएको छ।

निगमका अनुसार, इन्डियन आयल कर्पोरेसनबाट आइतबार मूल्य घटेर आए अनुसार नेपालमा नयाँ दर लागू गरिएको हो। मूल्य घटेसँगै पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १५६.५० रुपैयाँ र डिजेलको १४६.५० रुपैयाँ कायम भएको छ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५८ रुपैयाँ र डिजेलको १४८ रुपैयाँ कायम भएको छ भने तेस्रो वर्गमा पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको नयाँ मूल्य १५९ रुपैयाँ र डिजेलको १४९ रुपैयाँ निर्धारण गरिएको छ।

प्रकाशित: ३० भाद्र २०८१ २०:२७ आइतबार