समाज

गलकोट दुर्घटनाः मृतकको शव परीक्षण सुरु, आजै परिवारलाई बुझाइने

मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको गलकोटमा शुक्रबार भएको जिप दुर्घटनामा मृत्यु भएकाहरुको शव परीक्षणपछि आज साँझसम्म परिवारको जिम्मा लगाइने भएको छ।

शुक्रबार बिहान गलकोट नगरपालिका-२ को भुङ्खानीमा काठमाडौंदेखि पूर्वी रुकुमतर्फ जाँदै गरेको रा १ झ २०० नम्बरको पिकअप जिप सडकदेखि तीन सय मिटर तल खस्दा तीन जनाको मृत्यु भएको थियो।

मृतकको शव हाल गलकोट नगर अस्पतालमा राखिएको छ। आज बिहानैदेखि मृतकको शव परीक्षण सुरु गरिएको र साँझसम्म शव परिवारको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए।

घटनामा पुथा उत्तरगङ्गा गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्रा बुढा, उनकी आमा ६१ वर्षीय गोपीमाया बुढा र वडा नं ३ का अध्यक्ष जसबीर सिर्पालीको निधन भएको थियो।

घटनामा गम्भीर घाइते २९ वर्षीय चालक प्रेमबहादुर पुनको धौलागिरि अस्पतालमा सिटिस्क्यान गरेपछि थप उपचारका लागि पोखरा पठाइएको छ।

प्रकाशित: २९ भाद्र २०८१ ११:०३ शनिबार