समाज

मैले नचाखेको स्वाद

अनुभूति

खानेकुरामा मलाई मासुको परिकार निकै मनपर्छ तर ‘बफ’ मैले कहिल्यै खाएको थिइनँ। बफ मन नपरे पनि नेवारी खाजा भने मेरो फेबरेट। नेवारी साथीको घरमा भोज खानेदेखि भक्तपुर र काठमाडौंका नेवारी खाजा घरमा खाजा खानु मेरो रहर नै हो। भक्तपुरे चिउरा, कालो भटमास, तामाको तरकारीसँग गफ गर्दै खाजा खाँदा पेट भरिएको र समय कटेको पत्तै नहुने।

नेवार समुदायमा मात्र होइन, नेपालका अन्य जातजातिमा पनि भोजको निकै महत्त्व छ। पछिल्लो समय कतिपय जातजातिले काठमाडौंको टुँडिखेलमा आयोजना गर्ने पर्वमा त्यस्ता परिकार खुबै देख्न पाइन्छ। जुन हरेक समुदायले रमाएर खाँदै गरेको भेटिन्छ।

थारु समुदायको आफ्नै मौलिक खानेकुरा छन्। ढिक्री, लाई, लड्डु, दुधपुवा, गँगटा, झिँगेमाछा, सानो बाम, ऐँठालगायतका परिकार निकै स्वादिला छन्। वीरगन्जतिर काम गर्दा घुँगीको निकै कथा सुनिन्थ्यो। थारु समुदायको मिठो यो परिकार खाने प्रयास नगरेको पनि होइन तर यो खानलाई खाने कला पनि जान्नुपर्दो रहेछ। त्यसैले घुँगी चुस्न नजानेर मुखसम्म लगेर पनि मैले त्यो पोसिलो परिकारको स्वाद लिन पाइनँ।

मुसहरको त मुख्य परिकार भनेकै मुसाजस्तो लाग्छ। मैले मुसहरले मुसा मारेर खाएको पनि देखेको छु। ‘खेतको दुलाबाट मासु र भात’ भन्ने समाचार दसैंतिर प्रकाशित हुँदा निकै लोकप्रिय बनेको थियो। खेतको दुलामा हुने धानलाई कुटेर चामल बनाएको अनि दुलाबाट निस्केको मुसालाई पोलेर मासु बनाएको प्रत्यक्ष देखेको छु। त्यही मासु र भात मुसहरका बच्चाले पिँढीमा बसेर खाँदा मेरो मुख पनि रसाएको थियो तर खाने आँटचाहिँ आएको थिएन।

नेपालका अन्य मौलिक परिकारमा कोदो, मकै, फापरको ढिँडो, रोटी तरकारी, गुन्द्रुक साँधेको, मकै भटमास, सातु, खिर, दही–चिउरा–केरा, चटामरी, योमरी, आलुतामा साँधेको, विविध खालका सुक्खा रोटीहरू एवं विभिन्न जातजातिका परिकारलाई लिन सकिन्छ। कतिपय हराउँदै गएका छन् भने कतिपयले नयाँ ढंगले व्यवसायीकरण हुन पुगेका छन्।

खानेकुरा भूगोलअनुसार पनि फरक पर्दोरहेछ। माछा र सतुवा मन पराउने म राजधानीमा काम गर्न थालेपछि मम र छोयलाको सोखिन बन्न पुगेँ। बफ नखाने भएपछि चिकेन मम र चिकेन छोयला खुब खाइयो। छोयलाको सोखिन म त्यसको खोजीमा कहाँ गइनँ ? हाँसको छोयला खान हरिसिद्धिदेखि झम्सीखेलसम्म पुगें। बफ नखाने भएकाले हाँसपछिको स्वादिलो छोयला चिकेन नै हुन्थ्यो।

खासमा खानेकुरा पेट भर्ने साधन मात्र होइन। योसँग सिंगो संस्कृति जोडिएको हुन्छ। मौसमअनुसारका खानेकुरा खाने चलन नेपाली संस्कृतिमा पहिल्यैदेखि चलिआएको छ। जाडो महिनामा घिउचाकु खानेदेखि गर्मीमा सर्बत खाने परम्परा हाम्रै संस्कृतिको हिस्सा हो। अनि खानेकुराले मानिसलाई नयाँ उत्साह र उमङ्ग पनि दिने गर्छ। त्यसैले बुढाबुढीदेखि बालबच्चा सबै भोजनमा रमाउँछन्।

कतिपय खानेकुरा जात र धर्मका आधारले पनि छुट्टाएको हुँदो रहेछ। बाल्यकालमै यो खान हुन्छ, यो खान हुन्न भनेको कुरा पछि पनि मानिँदो रहेछ। बफको सबालमा मेरो धारण यही हो। मलाई यो मन नपर्ने होइन तर मैले यो खाएको छैन।

यही भोजनको पछिल्लो फरक स्वाद मैले भक्तपुरमा भेटेँ। यही मंगलबार भक्तपुर पुग्दा भने मैले निकै फरक स्वाद जिन्दगीमा महसुस गरेँ। जुन निकै उत्कृष्ट थियो। भक्तपुरमा मेयरले सालको टपरीमा मगाएको खाजा सेट निकै रहर लाग्दो थियो। सानो टपरीमा सबै कुरा राखिएकाले कुनै कुनै त छोपिनसमेत पुगेका थिए।

मैले भटमास र चिउरा खाँदै आलुतामा पिउन थालेँ। चिउरा जति चलाउँदै गएँ, उति नयाँ परिकार देखापर्न थाले। म त्यसैमा रमाउन थालेँ। चलाउँदा चलाउँदै मस्यौराजस्तो परिकार देखापर्‍ यो। मुखमा हालेँ, चिकेन रहेछ। पोलेको चिकेन निकै मिठो थियो। मैले यति मिठो चिकेन कहिल्यै खाएको रहेनछु। त्यति मिठो स्वादबाट म वञ्चित रहेछु। मैले अरू परिकारसँगै चिकेन पनि खाँदै गए।

जब चिकेन छोयला निकै मिठो हुन थाल्यो, मलाई चिकेनप्रति शंका लाग्यो। चिकेन त यति मिठो हुन नपर्ने त, हो यो के ? मटन पक्कै होइन किनकि डेढ दशकसम्म भक्तपुरमा खाजा खाँदा मटनको परिकार खासै देखिनँ। बरु दत्तात्रय बोकाको मासु भने खाइन्थ्यो। त्यसको महक नै यस्तो हुन्थ्यो कि बोकाको मासुमा शंका कसैले गर्दैनथे।

यो चिकेनमा भने शंका गढ्यो। कसैलाई सोध्ने कुरा भएन। सोधिनँ। चपाउँदै खान थालेँ। मिठो यति धेरै थियो कि शंका गर्न पनि मन लागेन। जब पेट भरियो, मिठोपन कम हुँदै आयो। शंकाले डेरा जमाउन थाल्यो। मनले ठोकुवा गर्‍यो। यो चिकेन होइन। मटन हुने कुरै भएन। दिमागले सहजै उत्तर दियो– यो बफ छोयला हो। बफ भन्ने चिन्दाचिन्दै पनि दुईचार टुक्रा थप खाएँ किनकि मिठो यति धेरै थियो कि कहिल्यै नखाएको बफ खान मन दोमन बनेन।

बफ मेरो मुखमा परेको यो पहिलो पटक भने होइन। हरिसिद्धिमा हाँसको छोयला सेट मगाउँदा झुक्किएर सुकुटी खाएको थिएँ। मैले छोयला भनेर खाँदै गर्दा साहुले साँच्चिकै हाँसको छोयला लिएर आएपछि सुकुटी भन्ने चिनेको थिएँ। त्यति बेला त्यो निकै मिठो लागेको थियो। तर नखाने भएकाले मुख कुल्ला गरेँ। साहुजीले बफको चाहिँ पैसा लिएनन्।

त्यसैले मंगलबारको मेरो स्वाद निकै फरक छ। मैले बफ भनेर चिन्दा पनि थप छोयला खाएँ। खानाको सोखिन म बफलाई छाडेर पो मिठो परिकारमा निस्केको रहेछु भन्ने आत्मबोध भयो। मैले जुन चिज छाडेर स्वाद खोज्न निस्केको थिएँ, अन्ततः त्यही चिज नै सबैभन्दा स्वादिलो भेटेँ। थाहा छैन फेरि बफ खान्छु खान्नँ तर निर्धक्कसाथ भन्छु– त्यो बफ छोयला निकै स्वादिलो थियो।

प्रकाशित: २९ भाद्र २०८१ १०:१४ शनिबार

#Meat dish