स्याङ्जामा एक पालिका एक हुलाक कार्यालय स्थापना हुने भएको छ। सरकारले हुलाकको पुनः संरचनाअन्तर्गत एक पालिका एक हुलाक कार्यालय स्थापना गर्ने नीति लिएसँगै स्याङ्जामा कार्यान्वयन प्रक्रिया अघि बढाइएको हो।
स्याङ्जाका ११ पालिकामा एक जिल्ला हुलाक र अन्य १२ वटा इलाका हुलाक कार्यालय छन्। प्रत्येक पालिकामा एउटा हुलाक कार्यालय रहने व्यवस्था भएबमोजिम एउटा पालिकामा एकभन्दा धेरै भएका हुलाक हटाइने भएको छ।
एउटा पनि हुलाक कार्यालय नभएका पालिकामा कार्यालय स्थापना गरी सेवा दिने तयारी भइरहेको जिल्ला हुलाक कार्यालय स्याङ्जाका प्रमुख गुरुप्रसाद मरासिनीले बताए।
स्याङ्जाका ११ पालिकामध्ये हाल तीनवटा पालिकामा दुईरदुई, सातवटा पालिकामा एकरएक वटा र एउटा पालिकामा हुलाक कार्यालय छैन। स्याङ्जाको पुतलीबजार नगरपालिका, आँधीखोला र हरिनास गाउँपालिकामा दुईरदुईवटा हुलाक कार्यालय रहेको उनले बताए।
‘एउटै पालिकामा दुई/दुईवटा रहेका कार्यालयमध्येबाट एउटा मात्रै राखिने छ,’ उनले भने, ‘एकरएकवटा भएका पालिकामा तिनैबाट सेवा दिइने र नभएको पालिकामा कार्यालय स्थापना गर्छौं।’
पुतलीबजार नगरपालिकामा जिल्ला हुलाक र कोल्मामा इलाका हुलाक कार्यालय छ। पुतलीबजारमा कोल्मा इलाका हुलाक कार्यालय हटाइने भएको हो।
त्यस्तैगरी, आँधीखोला गाउँपालिकामा रङ्गेठाँटी इलाका हुलाक कार्यालय र पञ्चमूल इलाका हुलाक कार्यालय छन्। आँधीखोलाको पञ्चमूल इलाका हुलाक कार्यालय हटाइने भएको हो।
हरिनास गाउँपालिकामा क्याक्मी र किचनासमा इलाका हुलाक कार्यालय रहेकामा क्याक्मी इलाका हुलाक कार्यालय हटाइने भएको उनले जानकारी दिए।
बिरुवा गाउँपालिकामा एउटा पनि इलाका हुलाक कार्यालय नभएकाले हुलाक पुनः संरचनाअनुसार आगामी असोजबाट कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइने भएको हो।
नयाँ पुनः संरचनाअनुसार हुलाक कार्यालय सञ्चालनका विषयमा स्थानीय पालिकाका जनप्रतिनिधि, कर्मचारीहरुबीच अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको उनले बताए।- रासस
प्रकाशित: २९ भाद्र २०८१ ०६:५३ शनिबार