समाज

सदर चिडियाखानामा आन्तरिक पर्यटक बढे (फोटो फिचर)

ललितपुर– ललितपुरमा रहेको नेपालको एकमात्र चिडियाखाना अवलोकन गर्ने पर्यटकहरुको संख्यामा बृद्धि भएको छ। जैविक विविधताको संरक्षणका लागि विस १९८९ मा श्री ३ जुद्ध शमशेरले स्थापना गरेको सदर चिडियाखानाको व्यवस्थापन राष्ट्रिय प्रकृति संरक्षण कोष गरेसँगै पर्यटकहरुको संख्यामा वृद्धि भएको हो। 

पदयात्रामा महत्वपूर्ण मानिएको अन्नपूर्ण, गौरीशंकर र मनास्लु संरक्षण क्षेत्रको व्यवस्थापनको समेत जिम्मा लिएको कोषले चिडियाखानामा जंगलमा जीवन जीउन नसकेका, घाइते, झगडालु, वृद्ध तथा यही उत्पादन भएका जीवजन्तुको संरक्षण गर्दै आएको छ। सदर चिडियाखानामा २०१४/०१५ मा ९ लाख ८ हजार अवलोकनकर्ताहरु भित्रिएकोमा २०१५/०१६ मा १० लाख २० हजार पर्यटकहरु आएको कोषका लेखा अधिकृत सुकबहादुर गुरुङ्गले बताए। आर्थिक वर्ष २०१६/०१७ मा ११ लाख ५९ हजार र चालु आवको यस अवधिमा ११ लाख ५० हजार अवलोकनकर्ताहरु आएका थिए। चिडियाघरमा दैनिक २८ सयदेखि ३ हजार स्वदेशी र ५० देखी ८० जनाको संख्यामा विदेशी पर्यटकहरु आउने गरेको गुरुङ्गले बताए। 

ललितपुरको जावलाखेलमा रहेको चिडियाखाना ६ हेक्टर क्षेत्रफलमा फैलिएको छ। यहाँ १ सय ११ प्रजातिका ८ सय २२ स्तनधारी जीवजन्तु, पंक्षी, घस्रने र पानीमा तैरने जन्तु छन्। लोपोन्मुख सूचीमा सुचीकृत विभिन्न प्रजातिका दुर्लभ वन्यजन्तुको व्यवस्थापन चिडियाघरमा छ। कृष्णसार, आसामी बाँदर, सीमाङ्ग बाँदर, पाटे बाघ, एकसिंगे गैडा, हात्ती, अर्ना,  घरियाल, कछुवा, कराल सुगा, चाईनिज कालिज, हायसिन्थमकाउ लोपोन्मुख जीवजन्तु साँघुरो स्थानमा व्यवस्थापन गरिएको छ। तत्कालिन प्रधानमन्त्री जुद्धशमशेर जबराबाट निजी चिडियाखानाको रुपमा सञ्चालित २००७ साल पछि नेपाल सरकारको स्वामित्वमा आयो र २०११ मा सर्वसाधारणलाई खुल्ला गरिएको थियो तर यसको उचित व्यवस्थापन भने हुन सकेको छैन। 

चिडियाखाना प्रवेश गरेपछि त्यहाँ रहेका जनावार हेर्नुका साथै हात्ती सवारी, लौका विहार र माछा मार्ने काम गर्न पाइन्छ। त्यसका लागि पनि निश्चित रकम तिर्नुपर्ने हुन्छ। माछा मार्ने काम पनि यहाँ गर्न पाईन्छ। चिडियाखानामा रहेका जनावार हेर्नका लागि अधिकांश युवापुस्ता जानेको गरेको पाइएको छ। विद्यार्थी र अन्य युवापुस्ताका लागि एक आकर्षक पर्यटकीय गन्तव्य हुने गरेको चिडियाखाना स्थलमा भेटिएका धनगढीका संकल्प पौडेलले बताए। 

चिडियाखानामा नेपाल, भारत, भुटान, बङगलादेश, म्यानमार र चीनमा पाईने दुई वटा पाटेबाघ प्रमुख आकर्षण बन्ने गरेको छ। एक पटकमा ३० किलोग्रामसम्म मासु खानसक्ने एक बाघका लागि दैनिक ६ केजी बफ मासु खुवाइने गरेको भेटनरी अधिकृत नविन केसीले बताए। उनी भन्छन्, ‘सेन्टर किचनबाट दैनिक आहारहरु व्यवस्थापन गरिएको छ। खानाको परिमाण र गुणस्तर दैनिक परिक्षण गरि यहाँ रहेका जीवजन्तुहरुलाई खुवाईने गरिन्छ।’ उनले चार वर्गमा विभाजन गरि यहाँका जीवजन्तुहरुलाई खुवाईने गरेको बताए। केसी भन्छन्, ‘३५ प्रजातिका २ सय ६८ प्रजातिका म्यामल, ९ प्रजातिका ३२ रेप्टाईल्स, १२ प्रजातिका ९७ माछा र ५५ प्रजातिका ४ सय ५ चराहरु निकुञ्जमा रहेका छन्।’

काकातुवा, चितुवा, चरीबाघ, बङ्गाल बाघ, सारस, धनेश, भुँडीफोर लगायतका जनावर र पंक्षी यहाँको आकर्षण छ। जलचरका रूपमा समुद्रमा पाइने विभिन्न प्रजातिका माछा, दुम्सी, गोमन सर्पलगायतका आकर्षक जनावर यहाँ छन्। चित्तल, घोरल, बाह्रसिङ्गे, अष्ट्रिच अवलोकन गरेर आगन्तुक रमाइरहेका छन्। यस चिडियाघरमा सार्क सदस्य मुलुकबाट पर्यटकहरु बढी आउने गरेको कोषले जनाएको छ।

सदर चिडियाखानामा आन्तरिक पर्यटक बढे फोटो फिचर