समाज

बाजा प्रशिक्षण पूरा गरेका ३८ विद्यार्थी ‘दीक्षित’

स्नातक र स्नातकोत्तर तह पास गरेपछि विश्वविद्यालयहरूबाट विद्यार्थीलाई दीक्षित गरिनु सामान्य कुरा हो। तर भक्तपुरमा, अन्य सीप सिकेका व्यक्तिहरूलाई पनि दीक्षित गर्ने परम्परा देख्न पाइन्छ। यही क्रममा, बिहीबार बाजा प्रशिक्षण पूरा गरेका विद्यार्थीहरूको भव्य दीक्षान्त समारोह सम्पन्न भएको छ।

भक्तपुरको इनाचोस्थित निओ फ्युजन स्कुल अफ कम्प्युटरले आयोजना गरेको बाजा प्रशिक्षणमा सहभागी भएका प्रशिक्षार्थीहरूलाई औपचारिक रूपमा दीक्षित गरिएको हो।

निओ फ्युजन बाजा समूहले आफ्नो ९औँ धिमे बाजा र ५औँ धाँ बाजा समूहको दीक्षान्त सम्पन्न गरेको छ। जसमा १९ जना धिमे बाजा र १९ जना धाँ बाजा प्रशिक्षणार्थी गरी कुल ३८ जना विद्यार्थीहरू दीक्षित भएका छन्।

बाजा समूहका अध्यक्ष सबिन लेबाले प्रत्येक वर्ष प्रशिक्षण पूरा गरेका विद्यार्थीहरूलाई दीक्षित गर्दै आएको र यस पटक पनि सोही परम्परा कायम गरिएको बताए। यस पटक धाँ बाजामा ६ छात्रा र १३ छात्र तथा धिमे बाजामा १२ छात्रा र ७ छात्र दीक्षित भएका हुन्।

दीक्षान्त समारोहमा धाँ बाजामा प्रथम भएका एलेक्स कोजुले आफूलाई बाजा बजाउन अत्यन्तै मन परेकाले प्रशिक्षणमा सहभागी भएको बताए। उनले थपे, "बुबाको इच्छा पूरा गर्न पनि मैले बाजा सिकेँ, अब आउने गाईजात्रामा धाँ बाजा बजाउँछु।"

महिलातर्फ धाँ बाजामा प्रथम भएकी बबिना ध्योजुले दाइले बाजा बजाएको देखेर आफूले पनि सिक्न इच्छा लागेको सुनाइन्। धिमे बाजामा प्रथम भएका प्रतिक कुम्पाख र महिलातर्फ प्रथम इशा श्रेष्ठले सानैदेखि बाजा बजाउने इच्छा पूरा भएको बताउँदै खुसी व्यक्त गरे।

निओ फ्युजन बाजा समूहको स्थापना २०७६ मा भएको हो। समूहले अहिलेसम्म ६ सयभन्दा बढी प्रशिक्षार्थीहरूलाई विभिन्न बाजाहरूमा प्रशिक्षित गरिसकेको छ।

समूहका संचालक बालकृष्ण बनामालाका अनुसार, प्रशिक्षण कार्यक्रम तीन महिनाको हुन्छ र प्रत्येक वर्ष दुई-दुई समूहलाई धाँ, धिमे, बाँसुरी, पछिमा, पोङ्गा लगायतका बाजाहरूमा प्रशिक्षण दिइन्छ।

दीक्षान्त समारोहको अवसरमा प्रशिक्षार्थीहरूलाई भक्तपुरको दत्तात्रय मन्दिर नजिकको नासद्य देवतास्थलमा बाजा बजाउँदै नगर परिक्रमा गरी लगिएको थियो। त्यहाँ पूजा सम्पन्न भएपछि पुनः बाजा बजाउँदै तालिमस्थलसम्म परिक्रमा गरिएको थियो।

नेवार समाजमा बाजाको विशेष महत्त्व रहेको छ। जन्मदेखि मृत्युसम्मका सबै संस्कारमा, चाडपर्व र जात्रामा बाजा प्रमुख अंगको रूपमा बजाइन्छ। त्यस्तै, नेवार समुदायको सार्वजनिक मठमन्दिर र पाटीहरूमा पनि दैनिक विहान बेलुका बाजा टोलीले बाजा बजाउने चलन छ।

प्रकाशित: २७ भाद्र २०८१ १९:०४ बिहीबार