समाज

जेल जीवन बिताइरहेका बालबालिकालाई शैक्षिक सामग्री

खोटाङ– जिल्ला कारागार शाखा खोटाङका आश्रित बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको छ। बिभिन्न मुद्धामा जेल जीवन बिताइरहेका आमासँगै कारागारमा बसिरहेका तीन आश्रित बालबालिकालाई मंगलबार शैक्षिक सामग्री प्रदान गरिएको हो। 

आमासँगै जेलमा आश्रित जीवन बिताइरहेका बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका साँढे ५ वर्षका मौसम राई, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका ४ वर्षका रेसम राई र दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका डेढ वर्षकी उर्मिला बिश्वकर्मालाई दिक्तेल बचत तथा ऋण सहकारी संस्था, लालुपाते बहुउद्देश्यीय सहकारी संस्था र सक्रिया बचत तथा ऋण सहकारी संस्थाले झोला, कापी, पेन्सिल र ट्र्याकसुट प्रदान गरेको हो। उमेर पुगे पनि उचित शिक्षादिक्षाबाट बञ्चित बनेका बालबच्चाको शैक्षिक प्रगतिका लागि ६१ औं सहकारी दिवसको अवशरमा सहकारीले लुगा र शैक्षिक सामग्री प्रदान गरेको जनाएको छ।

आश्रित बालबालिकालाई सक्रिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्र लयालु, कारागार शाखाका प्रमुख चित्राखर आचार्य लगायतले शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन्। सहकारीले बालबालिकालाई शैक्षिक सामग्रीका साथमा खाजा प्रदान गरेको छ। यस्तै, आश्रित बालबालिकालाई कारागारभित्रै पढाउने काम गरिरहेकी तस्बिरा राई र बिमला सुबेदीलाई एक÷एक महिना बराबरको प्रोत्साहन भत्ता प्रदान गरिएको छ। 

कर्तव्य ज्यान मुद्दामा आमा जेल परेपछि हाल तीन आश्रित बालबालिका आमासँगै कारागारभित्र बस्न बाध्य छन्। आश्रित जीवन बिताउनेक्रममा शिक्षाबाट बञ्चित बनेका बालबालिकाका लागि तीन सहकारीको पहलमा गत बैसाखबाट कारागारभित्रै पठन–पाठनको व्यवस्था मिलाइएको छ।

आश्रित बालबालिकालाई कारागारभित्रै लेखपढ गर्ने व्यवस्थाका लागि तीनै सहकारीले एक लाखको अक्षयकोष खडा गरेर जेल जीवन बिताइरहेकी तस्बिरा राई र बिमला सुबेदीलाई मासिक एक हजार दुई सय तलव पाउने गरी सहयोगी शिक्षिकाकारुपमा नियुक्ती गरेको जनाएको छ। बालबच्चालाई बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म पठन–पाठनको व्यवस्था मिलाइएको तस्बिरा राईले बताईन्। 

प्रकाशित: २० चैत्र २०७४ १०:५४ मंगलबार

जेल जीवन बिताइरहेका बालबालिकालाई शैक्षिक सामग्री