समाज

भुक्तानी नदिएको भन्दै उपभोक्ता समितिको प्रदर्शन

भुक्तानी माग गरेर प्रदर्शन गर्दै उपभोक्ता समिति। तस्बिर: नागरिक

अघिल्लो आर्थिक वर्षको उपभोक्ता समितिहरू मार्फत निर्माण भएका योजनाहरूको भुक्तानी नदिएको भन्दै उपभोक्ता समितिले बुधबार इटहरी उपमहानगरपालिका अगाडि प्रदर्शन गरेका छन्।

आर्थिक वर्ष २०८०/०८१ अन्तर्गत विभिन्न योजनाहरूको सम्झौता भएर काम पुरा गरेपनि उपमहानगरले भुक्तानी नदिएको जनाउँदै प्रदर्शन गरेका हुन्।

उपभोक्ता समितिले ‘नगरबासीले तिरेको कर दुरुपयोग बन्द गर, उपभोक्तामाथिको ज्यादती बन्द गर, उपभोक्ताको भुक्तानी तुरुन्त दे, उपभोक्ता हेप्न पाइँदैन’ लगायतका प्ले कार्ड प्रदर्शन गरी नाराबाजी गर्दै प्रदर्शन गरे। काम सकेर पटक पटक ताकेता गर्दा पनि नपाएपछि बाध्य भएर आन्दोलन गर्न परेको संघर्ष समितिका संयोजक दीपक श्रेष्ठले बताए। प्रदर्शनका क्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी बाक्लो परिचालन गरिएको थियो।

इटहरीमा एक साताअघि एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी र नागरिक मुक्ति पार्टीद्वारा संयुक्त रुपमा पत्रकार सम्मेलन गरी १४ बुँदे ध्यानाकर्षण सार्वजनिक गरेको थियो। जसमा  गत आर्थिक वर्षको उपभोक्ता समितिहरू मार्फत निर्माण भएका योजनाहरूको भुक्तानी अहिलेसम्म नदिएको माग पनि समेटिएको थियो।

राजनीतिक दलले उपमहानगरपालिकाद्वारा हुँदै आएका गतिविधि र विभिन्न सामान खरिद प्रक्रियाका सम्बन्धमा १५ दिनभित्र जवाफ दिन माग गरेका थिए। यदि तोकिएको समयमा सार्वजनिक सुनुवाईंमार्फत जवाफ नदिए आन्दोलन चर्काउने चेतावनी दिएका थिए। 

उपभोक्ता समितिमार्फत पुरा भएको योजनाको भुक्तानीको विषयमा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै असोजबाट भुक्तानी दिने बताएका छन्। 

प्रकाशित: २६ भाद्र २०८१ १८:४५ बुधबार