सुन तस्करी प्रकरणमा फरार रहेका वाल्डो क्यासिनोका सञ्चालक हङकङकी टेरेन्स से पक्राउ परेका छन्।
उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरी जिल्ला अदालतमा बुझाएको छ।
सुन तस्करीको पैसा लुकाउन सो क्यासिनोलाई प्रयोग गरिएको दाबीसहित प्रहरीले क्यासिनोकी सञ्चालक हङकङकी टेरेन्स सेविरुद्ध मुद्दा दायर गरेको थियो।
सीआईबीले ६० जनाविरुद्ध मुद्दा दायर गर्दा त्यसमा वाल्डो क्यासिनो समेत परेको छ। दुई वर्ष अघि पनि सीआईबीले सो क्यासिनोमाथि छानबिन गरेको थियो। उनलाई क्यासिनोबाटै पक्राउ गरेर जिल्ला अदालतमा बुझाइएको सिआइबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले जानकारी दिए।
सुन तस्करी गिरोहमा संलग्न चिनिया नागरिक एलेक्स भन्ने याउ पुचिङले ५२ हजार अमेरिकी डलर सो क्यासिनोबाट विदेश पठाएको सीआईबीको अनुसन्धानमा खुलेको थियो। दावाजिन वाङ र दावा छिरिङले पनि सो क्यासिनोमा पैसा लैजाने गरेका थिए। क्यासिनोमा जुवा खेल्नका लागि आइडी बनाउने, पैसा जम्मा गर्ने तर त्यो पैसा जुवा नखेली हङकङमा रहेको उनीहरुको अर्को क्यासिनोबाट निकाल्ने गरेका थिए।
सुन तस्करीमा संलग्न चिनियाँहरु सो क्यासिनोको प्राइभेट कोठामा गएर बस्ने गर्दथे। त्यहाँ सुन तस्करीको डिल हुने गरेको सीआईबीको दाबी छ। क्यासिनो सञ्चालक टेरेन्स हङकङ भागेपछि उनलाई फरार प्रतिवादी बनाएर जिल्ला अदालतमा मुद्धा दायर गरिएको थियो।
प्रकाशित: २६ भाद्र २०८१ १८:०५ बुधबार