समाज

चोरी शिकारी नियन्त्रणका लागि स्विप अप्रेसन

दुर्गम ओलाङचुङगोला भन्दा माथि टिपतालापास बीच भागमा राखिएको पासो संकलन गरी नष्ट गर्नुअघि नेपाली सेनाको नयाँ रणभीम गुल्मको टोली। तस्बिर सौजन्यः रेञ्जर योगेश ढकाल

ताप्लेजुङ – दुर्लभ वन्यजन्तु तथा वनस्पति सहितका जैविक विविधताले भरिएको ताप्लेजुङको उत्तरी क्षेत्रमा चोरी शिकारी नियन्त्रणका लागि‘स्विप अप्रेसन’सञ्चालन गरिएको छ। वन्यजन्तुको चोरी शिकारी तथा अपराध नियन्त्रण सम्बन्धी अभियानलाई स्विप अप्रेसन नाम दिइएको हो।

कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्, कञ्चजंघा संरक्षण क्षेत्र कार्यालय र नेपाली सेनाको ताप्लेजुङ स्थित नयाँ रणभीम गुल्मको संयुक्त प्रयासमा अप्रेसन सञ्चालन गरिएको हो। कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालयका निमित्त प्रमुख,रेञ्जर योगेश ढकालले अप्रेसनका क्रममा नाउर, मृग र हिमचितुवा सहितका दुर्लभ वन्यन्तुलाई कब्जामा लिनेगरी थापिएका २५ बढी पासो नियन्त्रणमा लिएको जानकारी दिए। उनका अनुसार यि बाहेक डाँफे र मुनाल सहितका संरक्षीत प्रजातिका लागि शिकारीले थापेका स्थानीय तवरका डोरीको पासो समेत अप्रेसन टोलीले जफत गरी नष्ट गरेको छ।

‘हिउँले गर्दा थापिएको शंका गरिएका सवै स्थानबाट पासो नियन्त्रणमा दिन सकिएन’ढकालले भने‘तर अप्रेसन प्रकृयालाई नियमित गर्ने छौं। अप्रेशन टोलीले यो क्षेत्रमा करिव ५० वटा जति पासो थापिएको अनुमान सहित सर्च सुरु गरेको थियो। उनले चोरी शिकारी नियन्त्रणका लागि यस्ता अप्रेसनका कार्यलाई नियमित र प्रभावकारी बनाउने कार्ययोजना तयार भएको जानकारी दिए। नयाँ रणभीम गुल्मका गुल्मपति सेनानी निर्मल खड्काले अप्रेसनका क्रममा दुर्लभ वन्यजन्तुका लागि थापिएका पासो हटाउने देखि स्थानीय समुदायलाई चोरी शिकारी विरुद्ध जागरुक बनाउने सचेतनामुलक कार्यक्रम समेत सञ्चालन गरिएको जानकारी दिए।

उनका अनुसार अप्रेसनमा गएको टोलीले ओलाङचुङगोला देखि टिपतालापास सम्मको बिग्रीएको पदमार्ग बनाउने,पदमार्ग वरपर सफाई गर्ने, आगलागी नियन्त्रणका लागि समुदाय सचेतीकरण कार्यक्रम सञ्चालन समेत गरेको छ। २० दिनका लागि तोकिएको अप्रेसन अभियानमा ओलाङचुङगोला देखि टिपताला सम्मको भाग केन्द्रित गरिएको थियो। टीपतालासपास नेपाल र चिनको स्ववासित क्षेत्र तिब्बतको सिमानाका हो। टिपतालापासबाट ८ किलोमिटरको दुरीमा तिब्बतको रिउ बजार अवस्थित छ।

महत्वपूर्ण जैविक सम्पदाको राजधानीका रुपमा परिचित उत्तरी ताप्लेजुङको यो क्षेत्रमा तिब्बतीयन शिकारीहरू लुकिछिपी चोरी शिकारका लागि प्रवेश गर्ने गरेका छन्। संरक्षण क्षेत्र कार्यालयका रेञ्जर उपाध्यायले स्थानीय समुदायका उधृत गर्दै पासो थाप्ने कार्यमा तिब्बतीयन शिकारीहरूको संलग्नता शंका गरे। ‘समुदायका मान्छेले पासो थाप्नेहरू तिब्बतीयन शिकारी हुन् भन्ने शंका गर्नु भएको छ’ढकालले भने‘अब स्विप अप्रेशन नियमित चल्छ र दोषीहरू पत्ता पनि लाग्छन्’। उनले चोरी शिकारी नियन्त्रणका लागि स्थानीय समुदायसँग सहकार्य अघि बढाइएको समेत जानकारी दिए।

विश्वमै दुर्लभ मानिएको हिमचितुवा सहित दर्जनौ संकटापन्न वन्यजन्तु तथा वनस्पति पाइने क्षेत्रको रुपमा यो ठाउँ परिचित छ। नेपालको दोस्रो अग्लो शिखर कञ्चनजंघाको आरोहण तथा यस क्षेत्रको भ्रमणमा आउने बाह्य पर्यटकको पदमार्ग समेत यसै क्षेत्रमा पर्छ।‘पर्यटकिय सिजन समेत भएकोले पदमार्गको सफाई तथा ठाउँठाउँमा बिग्रीएको मार्गको सुधार समेत गरेका छौं’सेनानी खड्काले भने। उनले चोरी शिकारी नियन्त्रणका लागि स्थानीय समुदायले गर्ने सहयोग सबैभन्दा बढी प्रभावकारी हुने समेत जानकारी दिए।

स्थानीय समुदायले दिएको सुचना र गर्ने सहयोगलाई लिएर यो क्षेत्रमा वन्यजन्तु अपराध नियन्त्रण कार्य सफल बनाउन सकिने खड्काको विश्वास छ। यसै क्षेत्रको खम्बाछेन ईलाकामा नेपालमै पहिलो पटक क्यामरा ट्रयापमा हिमचितुवा परेको थियो। त्यसपछि गरिएको रेडियो कलरिङबाट नेपालमै सबैभन्दा बढी घना रुपमा यो क्षेत्रमा हिमचतुवा पाइने पुष्टी भएको छ । विश्व जन्तु कोषसँग मिलेर व्यवथापन परिषद् र तत्कालिन कञ्चनजंघा संरक्षण क्षेत्र आयोजनाले रेडियो कलरिङबाट हिमचितुवाको अध्यन गरेका थिए।

हिमचितुवाको घाँटीमा विशेष प्रकारको उपकरण जडान गरी उसको दैनिकी पत्ता लगाउन प्रयोग गरिएको बिधीलाई कलरिङ भनिन्छ। हिमचितुवाको घना उपस्थिति रहेको पाइएपछि नेपाल सरकारको अग्रसरता यो क्षेत्रमा हिमचितुवा अध्यन केन्द्र समेत बन्ने भएको छ।

प्रकाशित: २० चैत्र २०७४ ०७:४२ मंगलबार

चोरी शिकारी नियन्त्रणका लागि स्विप अप्रेसन