समाज

प्रहरी हुँ भन्दै १६ जिल्लामा ठगी गर्ने नक्कली प्रहरी पक्राउ

दैलेख प्रहरीको नियन्त्रणमा रहेका ठगी गर्ने नक्कली प्रहरी।

नक्कली प्रहरी बनेर १६ जिल्लामा ठगी गरिरहेका व्यक्तिलाई दैलेख प्रहरीले पक्राउ गरेको छ।

राप्ती सोनारी गाउँपालिका–७, लालपुरका ३६ वर्षीय लोकबहादुर खाणले नक्कली प्रहरी बनेर ठगी गरेको भन्ने उजुरीका आधारमा दैलेख प्रहरीले उनलाई पक्राउ गरेको हो।

लोकबहादुरले विभिन्न मुद्दाका पीडित र पीडकहरूको स्वास्थ्य परीक्षणको क्रममा संकलित स्वाब परीक्षण प्रतिवेदन चाँडो निकालिदिने बहानामा ठगी गरेको खुलासा भएको छ।

उनले आफ्नो नाम पूर्ण बहादुर देउवा र विनोद खाण बताउँदै १८ जना पीडितलाई फोन गरी मुद्दा मिलाइदिने भन्दै ठगी गरेको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ।

खाणले आफू विधि विज्ञान प्रयोगशालामा प्राविधिक प्रहरी नायव निरीक्षक (सई) भएको दाबी गर्दै पीडितहरूलाई आफ्नो लेखापाल विकास विसीको नाममा रहेको बैंक खातामा पैसा पठाउन भनेका थिए।

यसरी उनले १८ जना पीडितबाट ५ लाख ६ हजार ५ सय ३५ रुपैयाँ ठगी गरेको दैलेख प्रहरी प्रमुख डिएसपी सुनिल दाहालले जानकारी दिए।

यसै घटनामा संलग्न लेखापाल भनिने दैलेख गुराँस गाउँपालिका–६ का २७ वर्षीय विकास विसीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीको सहकार्यमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले लोकबहादुरलाई सुर्खेतको लेकवेशी नगरपालिका–२, दशरथपुरबाट पक्राउ गरेको हो।

यसैगरी लोकबहादुरले जवरजस्तीकरणी मुद्दामा थुनामा रहेका चामुण्डाविन्द्रासैनी नगरपालिका–२ का ५१ वर्षीय तुल्सी अधिकारीको छोरा खगेन्द्र अधिकारीलाई छिटो निकालिदिने बहानामा पैसा मागेका थिए।

उनले आफू विधि विज्ञान प्रयोगशालाको सई भएको भन्दै पीडितलाई ५८ हजार २ सय ३५ रुपैयाँ जम्मा गर्न लगाई ठगी गरेको दैलेख प्रहरीले जनाएको छ।

प्रकाशित: २५ भाद्र २०८१ १८:३६ मंगलबार