समाज

सामुदायिक अस्पताल आएका बिरामीलाई सित्तैमा खाना

लमजुङ जिल्ला सामुदायिक अस्पतालमा बेसीसहर नगरपालिकाले उपलब्ध गराएको निःशुल्क खाना खाँदै बिरामी र सेवामा खट्दै क्यान्टिनका कर्मचारीहरू । तस्बिरः नागरिक

लमजुङ – बेसीसहरस्थित सामुदायिक अस्पतालमा छोरीको उपचार गराइरहेकी श्रीमञ्ज्याङकी राममाया नेपाली हस्याङ–फस्याङ गर्दै अस्पताल छेवैको होटलमा पुगिन् र खाना अर्डर गरिन्। होटल संचालकले सोधे, ‘खाना बिरामीलाई कि, कुरुवालाई ?’ उनले उत्तर दिइन्, ‘छोरी बिरामी छे उसैलाई।’ होटल सञ्चालकले जवाफ दिए, ‘बिरामीलाई अस्तालमै खाना खुवाइन्छ, त्यो पनि सित्तैमा।’ राममाया फनक्क फर्किइन्।

सदरमुकाम बेसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पताल आसपासका होटलमा जाने ग्राहक र होटल संचालकबीच आजकल यस्तै संवाद निकै सुनिन्छ। सो अस्पतालमा जाने बिरामीलाई सुविधा पुर्याउने उद्देश्यले बेसीसहर नगरपालिकाले फाल्गुन देखि निःशुल्क खानाको व्यवस्था गरेसँगै होटल व्यवसायीहरूले बिरामीका आफन्तलाई सो जानकारी दिँदै आएका छन्। उनीहरू बिरामीका आफन्तलाई खाना खुवाउँछन् तर बिरामीलाई खाना बेच्दैनन्।

अस्पतालका सेवा सुविधालाई थप प्रभावकारी बनाउने र बिरामीलाई समयमै स्वच्छ, सफा र ताजा खाना उपलब्ध गराई आर्थिक भार कम गराउन नगरपालिकाले निःशुल्क खानाको व्यवस्था गरेको नगरप्रमुख गुमानसिंह अर्याल बताउँछन्। ‘बिरामी भएपछि मान्छेलाई यसैपनि आर्थिक बोझ थपिन्छ,’ अर्याल भन्छन्, ‘खानाको लागि मात्रै सहयोग भयो भनेपनि उनीहरूलाई सजिलो हुने देखेरै हामीले यस्तो निर्णय गरेका हौं।’

अस्पतालमा बिरामीको अवस्था र मौसम अनुसार सादा खाना, जाउलो, चिया, अण्डा, दुध जस्ता खानेका परिकार उपलब्ध गराइने गरेको अस्पतालका प्रशासकीय प्रमुख युवराज देवकोटाले बताए। महिनाभरी बिरामीलाई खाना खुवाउने र त्यसको विल भर्पाइ तयार गरि नगरपालिकामा पेश गरी भुक्तानी लिने प्रकृया रहेको पनि उनी बताउँछन्। बिरामीका लागि औसतमा मासिक सवा एक लाख रुपैयाँ खर्च हुने अनुमान अस्पताल र नगरपालिकाले गरेका छन्। बिहान ८ बजे र साँझ ७ बजेको बिरामीलाई खाना खुवाउँदै आएको क्यान्टिन संचालक राजमान गुरुङ बताउँछन्।

अस्पतालमा विगतमा सित्तैमा खाना खुवाउने व्यवस्था नहुँदा बिरामीका आफन्तहरू नजिकका होटल, बेसीसहरमा रहेका ईष्टमित्रको घर वा कोठा तिर धाउनु पर्ने वाध्यता रहेको सुन्दरबजार नगरपालिका खत्रीठाँटीकी निर्मला रिमालले बताइन्। छोरो बिरामी भएर ४ दिन अस्पताल बस्दा खानाको लागि बाहिर धाउनु नपर्दा निकै सुजिलो महसूस भएको उनी बताउँछिन्। छोराकै उपचारका लागि अस्पताल बस्दै आएकी बेसीसहर ९ डिहीथोककी लक्ष्मी बस्नेतले पनि खानाको जोहो गर्न आफूले दौडधूप गर्न नपरेको र आफन्तलाई पनि दुःख दिनु नपरेपछि साह्रै सजिलो भएको बताइन्।

खाना पकाउनु अघि कुन बिरामीले के–कस्तो खाना खान्छन् अर्डर लिने र सोही अनुरुपको खाना तयार गर्ने क्यान्टिनका कर्मचारी हिरा श्रेष्ठ बताउँछिन्। तयारी अवस्थाको खाना ट्रलीमा राखेर डेलिभरी वार्ड, बहिरंग, अन्तरंग लगायतका वार्डमै पुर्याउने गरिन्छ। बिरामीका वेडमै पुर्याएर उनीहरूको ईच्छा अनुसारको खाना खुवाउन पाउँदा कतिबेला त आफूलाई भाग्यमानी रैछु जस्तो लाग्ने हिरा श्रेष्ठ र अञ्जु गुरुङ बताउँछन्।

दुःखले बनाएको खाना बिरामीले खाइरहँदा आफूले गरेका सबै दुःख विर्सने पनि उनीहरूले बताए। क्यान्टिनमा राम्रो स्टोर नहुँदा, पानी प्रशस्त नहुँदा, खाना ओसारपसार गर्ने बाटो सहज नहुँदा सास्ती भइरहेको क्यान्टिन सञ्चालक सीता गुरुङ बताउँछिन्। आफूले व्यवसाय भन्दा पनि बिरामीलाई खाना, खाजा, चिया, नास्ता बनाउँदैछौं भन्ने सोच आउँदा ति सबै सास्ती हराउने उनले बताइन्। खानाको अर्डर लिने देखि पकाउने, खुवाउने, सफा गर्ने र त्यसको रेकर्ड राख्न क्यान्टिनमा ४ जना कर्मचारी र आफ्नो परिवार खट्दै आएको क्यान्टिन संचालक गुरुङ दम्पती बताउँछन्।

६२ शैयाको जिल्ला अस्पतालमा स्त्री रोग सेवा, आङ खस्ने, पायल्स, हर्निया, एपेन्डिक्स, हाडजोर्नी शल्यक्रिया लगायतका सेवाहरू उपलब्ध छन्। उपचार सेवा प्रभावकारी बनाउन करोड बढी लगानीमा अत्याधुनिक उपकरण जडान गरिएको अस्तालका प्रशासकीय प्रमुख देवकोटा बताउँछन्। अस्पतालमा बिशेष खालको डिआर डिजिटल एक्सरे मेसिन, ओटी लाईट र दन्तसेवाका लागि इलेक्ट्रोनिक कुर्सी लगायतको व्यवस्थापन गरिएको छ। डिआर एक्सरे मेसिन प्रयोग गर्नेमा सामुदायिक अस्पताल जिल्लामा पहिलो र मुलुकभरमा चौंथो अस्पताल रहेको अस्पताल व्यवस्थापक संस्था मानव विकास तथा सामुदायिक सेवाका कार्यकारी निर्देशक डाक्टर नास्तुप्रसाद शर्माले बताए।

यसअघि अस्पतालले सिआर एक्सरे मेसिनबाट सेवा उपलब्ध गराउदै आएको थियो। डिआर एक्सरे मेसिनबाट अन्य एक्सरे मेसिनको तुलनामा छ गुना कम हानीकारक विकिरण उत्पन्न हुने र लिइएको एक्सरे कम्प्युटरको माध्यमबाट जुम गरि स्पष्ट रुपमा समस्या पहिचान गर्न सकिने पनि स्वास्थ्यकर्मीको भनाई छ। यी उपकरणका अलवा अस्पतालमा ओटी टेवल, अक्सिजन कन्सन्टेटर, प्यासेन्ट मनिटर, ईसीजी प्रोटेवल, डेन्टल एक्सरे मेसिन, भेन्टीलेटर लगायतका उपकरण समेतको व्यवस्था गरिएको बताइएको छ।

प्रकाशित: २० चैत्र २०७४ ०६:३७ मंगलबार

सामुदायिक अस्पताल आएका बिरामीलाई सित्तैमा खाना