समाज

मौरीमा देखिएको रोगबारे अध्ययन गर्न विज्ञसहितको टोली जुम्लामा

मौरीमा देखिएको रोगबारे अध्ययन गर्न मौरी विकास केन्द्र ललितपुर गोदावरीको टोली जुम्ला आइपुगेको छ।

तीन वर्षदेखि मौरीमा देखिएको रोगबारे अध्ययन गर्न मौरी विज्ञ तीर्थकुमार श्रेष्ठ नेतृत्वको टोली जुम्ला पुगेको हो।

आइतबार जुम्ला आएको टोलीले मौरीपालक किसान र जिल्ला कृषि विकास कार्यालयसँग मौरीको अवस्थाबारे छलफल सुरु गरेको छ।

सोमबार बिहानैदेखि मौरी घार हेर्न टोली गाउँ–गाउँ पुगिरहेको छ। जुम्लामा सेराना जातको मौरी पालन हुँदै आएको छ।

जिल्ला कृषि विकास कार्यालय प्रमुख बालकराम देवकोटाले व्यवसायिक रुपमा मौरीपालन गरेका किसानको घार अध्ययन टोलीले हेर्ने बताए।

सोमबार पातारासी गाउँपालिका–१ पेरेगाउँमा अध्ययन गर्न पुगेको टोली आज भने गुठिचौर गाउँपालिकाको गुठिगाउँ र भोलि तातोपानी र चन्दननाथका मौरीपालक किसानका घार हेर्ने र किसानसँग छलफल गर्नेछ।

मौरीघारको अवस्था, चरन क्षेत्र र रोग किराको बारेमा टोलीले अध्ययन गर्ने बताइएको छ।

प्रकाशित: २५ भाद्र २०८१ १०:१७ मंगलबार