समाज

घरेलु हिंसाको मुख्य कारण लागू पदार्थ

उदयपुर – लागू औषधविरुद्ध अभियन्ता तथा नार्कोननका प्रमुख बसन्तराज कुँवरले नेपालमा घरेलु हिंसा हुनुको मुख्य कारण लागू पदार्थ रहेको तथ्यांक पेश गरेका छन्। सदरमुकाम गाईघाटमा आयोजित लागू पदार्थ र दुव्र्यसनविरुद्ध आयोजित कार्यक्रममा पूर्व प्रहरी वरिष्ठ उपरीक्षकसमेत रहेका कुँवरले लागू पदार्थ सेवनका कारण नेपालका घरेलु हिंसाका घट्नामध्ये ९९ प्रतिशत हिस्सा ओगटेको डरलाग्दो तथ्यांक पेश गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय, सामुदायिक सेवा केन्द्र, संगम टोल सुधार समिति, संगम सामुदायिक पुस्तकालय र युवा समिति उदयपुरको संयुक्त आयोजनामा सम्पन्न ‘लागू पदार्थ दुव्र्यर्सनविरुद्ध सचेतना तथा अन्तरक्रिया कार्यक्रम’ मा कुँवरले नेपालमा घट्ने अपराधको ८० प्रतिशत कारकतत्व पनि लागू पदार्थ नै भएको औंल्याए। घरेलु हिंसासँगै ६० प्रतिशत एचआईभी एड्स तथा हेपाटाइटिस सी को कारण पनि लागू पदार्थ नै भएको ठोकुवा गरे।

‘एकजना दुव्र्यसनीले ३ वर्षमा सरदर ९ जनालाई एडिक्ट बनाउँछ, जसबाट पागल र डिप्रेसन रोगी हुने ७५ प्रतिशत जन्मन्छन्’ पूर्व एसएसपी कुँवरले भने ‘अधिकांश विद्यार्थी कक्षा ८ देखि १२ बीचमा दुव्र्यसनी भइसक्ने तथ्यांक फेला परेको छ।’ लागू औषध दुव्र्यसनमा फस्ने विद्यार्थीको पढाइको गति रोकिएसँगै परिवार र समाजसँग जोडिएका कैयौं सपना रोकिने उनको भनाई थियो। युवाहरू सामान्य खालको लागू पदार्थबाट सुरु गरेर जटिलखालको सेवन गर्ने अवस्थामा पुगेपछि एडिक्ट बन्ने गरेको उनको अनुभव छ।

लागू पदार्थ सेवनकर्ताहरू दिनदिनै बढ्दै गएको र त्यसमा विद्यार्थीहरू बढी फस्ने गरेको दुई दशकदेखि लागू पदार्थविरुद्ध अभियान चलाउँदै आएका कुँवरको अनुभव छ। ‘पछिल्लो समय खासगरी विद्यार्थीकालदेखि नै युवाजगत लागू पदार्थमा फस्न गरेको पाइन्छ’ कुँवरले भने ‘जब विद्यार्थी युवा उमेरमा प्रवेश गर्छन्, दुव्र्यसनमा फसिसकेका हुन्छन्। युवा बिग्रनु भनेको समाज बिग्रनु हो र समाज बिग्रीएपछि राष्ट्र संकटमा पर्ने हो।’

नेपालजस्तो सानो भुगोल र जनसंख्या भएको मुलुकमा क्षमतावान् युवाहरू दिनदिनै दुव्र्यसनमा फस्दै जाने हो भने उनीहरूको भविष्य अन्धकार हुनुसँगै देश र समाजकै भविष्य बिग्रनेमा उनको चिन्ता थियो। जाँड, रक्सी, बियर, तुम्बा, वाइनबाट सुरु गर्ने युवाहरूको बानी विस्तारै गाँजा, चरेश, कोरेक्स, डाइजोपामजस्ता कडाखालका लागू पदार्थमा पुगेर युवामा ड्रग्स एडिक्सन हुने उनको अनुभव छ।

कुलतले मान्छेको शरीरमा १७ प्रकारको भिटामिन नष्ट गर्ने गरेको वैज्ञानीक तथ्य पस्कदै उनले लागू औषधले लिभर, कलेजो, फोक्सो र दिमागमा सोझै असर पार्ने हुँदा उच्च रक्तचाप, सुगर र मुटुको दीर्घरोगी बन्ने र अन्त्यमा ज्यानै जाने खतरा हुने बताए। नेपालमा हाल करिव ५ लाख हाराहारी युवाहरू दुव्र्यसनको शिकार भइरहेको तथ्यांक सुनाउँदै उनले नेपालबाट प्रतिवर्ष २० देखि २५ अर्ब रुपैयाँ लागू पदार्थकै कारण बाहिरिने गरेको अर्को तथ्यांक प्रस्तुत गरे।

पछिल्लो समय प्रयोगकर्ताले कुन प्रकारको लागू औषध प्रयोग गरेको छ भन्ने पत्ता लगाउन ‘मल्टि ड्रग्स स्क्रिन टेष्ट डिपकार्ड’ नामक प्रविधिको विकास भएको र यसले ५ प्रकारका लागू औषध प्रयोग गरे÷नगरेको पत्ता लगाउने बताए। ब्राउन सुगर, उत्तेजित बनाउने ड्रग्स, कोकिन, गाँजा र नर्फिन प्रयोग गरेको जानकारी यो प्रविधिको प्रयोगबाट पिसाव जाँच गरेर पत्ता लाग्ने कुँवरले बताए। लागू औषधविरुद्धको अभियानमा स्थानीय तहले सक्रियता देखाउनुपर्ने सुझाव पनि उनले दिए। युवा विद्यार्थीलाई कुलतमा फस्नबाट बचाउन अभिभावक, शिक्षक, साथीसंगी र समाजले सतर्कता अपनाउनुपर्ने भन्दै उनले त्यसका लागि स्थानीय तहले अहं भुमिका खेल्नुपर्ने सुझाव उनको थियो।

कार्यक्रममा त्रियुगा नगरपालिकाकी उपमेयर देवीकुमारी चौधरीले देश बनाउने जिम्मेवारी बोकेको युवाशक्ति लागू जानु ऊ स्वयं, परिवार र देशकै लागि दुखदायी भएको बताइन्। उनले विद्यार्थी र युवाहरूलाई लागू पदार्थ र दुव्र्यसनबाट बचाउन नगरपालिकाले विशेष कार्यक्रम अघि सार्ने बताउँदै यसमा प्रहरी, प्रशासन, नगरबासी र सरोकारवालाले साथ दिन आग्रह गरिन्। कामु प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले युवा शक्ति देशको अमूल्य सम्पत्ति भएको भन्दै दुव्र्यसनबाट बचाउन परिवार, विद्यालय, क्याम्पस, आफन्त र समाजले नै सचेतना अपनाउनुपर्ने बताए।

प्रकाशित: २० चैत्र २०७४ ०६:१५ मंगलबार

घरेलु हिंसाको मुख्य कारण लागू पदार्थ