समाज

बाराको नाका हुँदै रौतहटमा तस्करी,

रौतहट – रौतहट प्रहरीले नेपाल भारत सीमावर्ती नाकामा कडाई गरेपछि बाराको नाका हुँदै रौतहट तर्फ तस्करी फस्टाएको पाइएको छ। मंगलबार बिहान सशस्त्र प्रहरीको टोलीले ठूलो परिमाणमा तस्करीको माल समान बरामद गरेपछि रहस्य सार्वजनिक भएको हो।

सिमा सुरक्षा कार्यालय रौतहट र सशस्त्र बेस क्याम्प बंकुलको संयुक्त टोलीले बाराको कचोर्वा नाकाहुँदै भारतबाट ३ वटा मोटरसाइकलमा ल्याइएको करिव छ पोका कपडा रौतहटको सोनरनिया गाउँमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएको कपडाको मूल्य करिव साढे तिन लाख भएको बंकुल वेस क्याम्पका प्रमुख सशस्त्र प्रहरी निरीक्षक गोविन्द पोखरेलले बताए।

नेपाल भारतसँग जोडिएको रौतहटको २६ किलोमिटर खुला सिमा नाकाबाट तस्करीमा वृद्धि भएपछि तस्करलाई निरुत्साहित पार्न र सिमा वारपार कुनै किसिमको कालो कारोबार हुन नदिनको लागि बोर्डर मै २४ सै घण्टा गस्ति पेट्रोलिग गरेर प्रहरीले कडाई गरेपछि तस्करहरू बाराको नाकालाई सुरक्षित नाकाको रुपमा प्रयोग गर्दै आएको छ।

पछिल्लो पटक जिल्लाको दक्षिणी पश्चिमी भेगमा पर्ने बंकुल नाकाबाट तस्करी गराएको आरोपमा सशस्त्र वेस क्याम्प बंकुलमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक सुन्दर श्रेष्ठलाई रुद्र बाहिनी पथलैयामा तानेको छ। सप्रनि श्रेष्ठलाई तानेर अर्को सप्रनि गोविन्द पोखरेललाई उक्त वेसको जिम्मेवारी दिएपछि उक्त नाकाबाट हुने अवैध कारोबार पूर्ण रुपमा रोकिएको छ। बंकुल वेस क्याम्पका सप्रनि थापाले चार दिन मै करिव पाँचलाख भन्दा बढीको अवैध मालसमान नियन्त्रणमा लिएर गौर भन्सार कार्यालयमा बुझाइसकेको बताएको छ।

रौतहटको बिभिन्न खुल्ला नाकामा प्रहरीले कडाइ गरेपछि संगठित रुपमा रहेका दुवै मुलुकका तस्करहरू निर्धक्क भई सामानहरू ओसारपसार गर्न रौतहटसँगै जोडिएको बाराको बिभिन्न नाकाहुँदै कालो कारोबार गर्दै आएको श्रोतको दाबी छ।

नेपाल भारतको खुला रहेको सिमाको दुरुपयोग गर्दै कालो कारोबार गर्ने व्यापारी देखि लिएर सिमा वारीपारीबाट किनबेच गर्ने महिला तथा पुरुषहरू अहिले दैनिक उपभोग्यका चामल, दाल, चिनी, खानेतेल, कपडा, मंहगा मोटरपार्टका सामानहरू, चप्पल, स्टिलका पार्टहरू नेपाल तर्फ भन्सार छलेर भित्र्याउने गरेको छ भने नेपालबाट भारत तर्फ सुपाडी, अलैची, चाउचाउ, गुट्खा, चुरोट, टुथपेष्ट, बिभिन्न क्रिमहरू सहजै गइरहदा पनि उक्त कार्यलाई निरुत्साहित गर्ने निकाय चुप लागेर बसेका हुन्।

रौतहट जिल्ला सदरमुकाम गौर भन्सारको मुख्य नाका, बन्जरहा, मठिया, औरैया, रामपुरखाप, बंकुल, महादेवपटि, लक्ष्मीपुर बेलविछवा, ब्रहम्पुरी लगायतका छोटी नाकाहरूमा कडाइ भएपछि भन्सार राजश्वमा समेत वृद्धि हुँदै गएको छ।

यो महिनामा गौर भन्सार कार्यालयले सवा करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा ९० लाख रुपैयाँ असुल भैसकेको र यो महिनाको टारगेट पुरा हुने भन्सार कार्यालयले जनाएको छ।
 

 

प्रकाशित: २० चैत्र २०७४ ०५:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App