समाज

केरा किसानलाई बिमा रकम पाउनै मुस्किल

चितवन जिल्लामा केरा खेती गरेर बसेका किसानलाई बिमा रकम पाउनै मुस्किल भएको छ। यहाँ रहेका सयभन्दा बढी केरा उत्पादक किसानले एक वर्षभन्दा अघिको बिमा बापतको रकम पाएका छैनन्। केरा उत्पादक संघ चितवनका उपाध्यक्ष शंकर सुवेदीले गत वर्षदेखिको बिमाबापतको रकम नपाएको बताए। 

‘२०८० सालको वैशाख ३१ गते आएको हावाहुरीले १८ हजार बोटमा क्षति गरेको थियो । फेरि यस वर्षको जेठ १८ र १९ गते आएको हावाहुरीले मेरो ५२ बिघामा लगाएको ८५ हजार बोट नष्ट गर्‍यो’, उनले भने, ‘अघिल्लो वर्षदेखिको दुई करोड ८३ लाखभन्दा बढी रकम बिमाले भुक्तानी गरेको छैन।’ बिमा कम्पनीले प्रतिबोट २७५ रूपैयाँ बिमाबापतको रकम भुक्तानी गर्ने गर्दछ। 

किसानले प्रतिविघा ६ हजार दुई सय रूपैयाँमा केराको बिमा गर्ने गरेको उनले बताए । साउनमा बिमा गर्न कम्पनी नआएको उनले बताए। बर्सेनि प्राकृतिक विपद्का कारण केराखेतीमा क्षति हुने गर्दछ। जसकाका कारण यहाँका किसानले हरेक वर्ष साउनमा व्यावसायिक किसानले बाली बिमा गर्ने गर्दछन्। जिल्लामा करिब तीन सय किसानले केराको बिमा गरेका छन् तर किसानले बिमा रकम समयमा नपाउने गरेको नेपाल केरा उत्पादक संघ चितवनका अध्यक्ष माधवप्रसाद घिमिरेले बताए। 

‘अघिल्लो वर्ष २८ जना किसानले पाँच करोड रूपैयाँ बराबरको बिमा दाबी भुक्तानी गरेका थिए। त्यसमध्ये २५ जना जना किसानले बिमाबापतको रकम सुरुमै पाए। तीन जना किसानको ६० लाख रूपैयाँ अझै आएको छैन’, उनले भने, ‘यस वर्षको अधिकांशले पाएका छैनन्।’

यसवर्ष हावाहुरीले चितवनको खैरहनी नगरपालिका, रत्ननगर नगरपालिका र कालिका नगरपालिका क्षेत्रका किसानको करिब एक अर्बभन्दा बढीको क्षति गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका सूचना अधिकारी इन्द्रशर्मा ढुंगानाले जानकारी दिए। उनका अनुसार, किसानले बिमाबापत रकम भने २० करोड रूपैयाँ पाउनेछन्। 

किसानले बेच्न पाएको भए ६ सय रूपैयाँ घारीसम्म बेच्थे तर बिमाले दिने भनेको दुई सय ७५ मात्र हो,’ उनले भने, ‘यसरी हेर्ने हो भने किसानको एक अर्बभन्दा बढी क्षति छ ।’ चितवनमा दुई हजार पाँच सय ३५ हेक्टरमा केरा खेती हुँदै आएको छ। प्रतिहेक्टर २८ टन उत्पादन हुने गरेको ढुंगानाले बताए।

केराखेती गर्ने किसानलाई सरकारले ८० प्रतिशत प्रिमियम अनुदान दिने गरेको छ भने किसानले २० प्रतिशत प्रिमियम बुझाउने गरेका छन्। बिमा गरेको पहिलो तीन महिनामा क्षति भए ५५ प्रतिशत, चारदेखि ६ महिनामा ६५ प्रतिशत, ७–८ महिनामा ७५ प्रतिशत र नौदेखि १२ महिनामा क्षति भए शतप्रतिशत क्षतिपूर्ण दिने गरी बिमा गर्ने गरिएको हुन्छ।

केराबारीमा क्षति भएको ३५ दिनभित्र क्षतिपूर्ति दिइसक्नुपर्ने व्यवस्था रहेको छ तर सरकारले बिमा कम्पनीलाई दिनुपर्ने रकम नदिँदा किसानलाई दिन नसकिएको बिमा कम्पनीले जनाएको छ। यद्यपि पछिल्लो समयमा बिमाको रकम भुक्तानी गरिरहेको शिखर इन्सुरेन्स कम्पनी लिमिटेड नारायणगढ शाखाका व्यवस्थापक अरूणदेव आचार्र्य बताउँछन्।

चैत १ गतेदेखि जेठ २० गतेसम्म बिमाको रकम भुक्तानी भएको थिएन’, उनले भने, ‘हाम्रोमा बिमा गरेका किसानको भुक्तानी भइरहेको छ।’ राज्यले रकम निकासा नगर्दा समस्या भएको उनले बताए। चितवनका अधिकांश किसानले शिखर इन्सुरेन्स कम्पनीमार्फत बिमा गर्ने गर्दछन्। चितवनका किसान बिमा रकमको भुक्तानी नपाएपछि भदौ पहिलो साता मन्त्रीलाई भेट्न समेत गएका थिए। 

सो क्रममा बिमा कम्पनी, नेपाल बिमा प्राधिकरणका प्रमुख, किसान र कृषिमन्त्री बीच छलफल भएको जानकारी उपाध्यक्ष सुवेदीले दिए। सो क्रममा राज्यले बिमा कम्पनीलाई दिने रकम निकासा नगर्दा किसानलाई दिन नसकेको शिखर इन्सुरेन्सका कार्यकारी अधिकृतले मन्त्रीलाई बताएको सुवेदीले बताए। मन्त्रीले अनुसन्धान गरेर किसानको समस्या समाधान गर्ने बताएको उनले बताए।

प्रकाशित: २४ भाद्र २०८१ ०७:३० सोमबार

#Chitawan #Banana-cultivation