समाज

विपद्‌बारे सूचना आदान-प्रदान गर्न ‘क्रिस्टा एप’

विपद् सम्बन्धी सूचना आदान-प्रदानमा सहयोग पुर्‍याउने नयाँ प्रविधि, ‘क्रिस्टा एप’ को परिक्षण धादिङका तीन स्थानीय तहमा सुरु गरिएको छ।

निलकण्ठ नगरपालिका, बैरेनी गाउँपालिका र बेनीघाट रोराङ गाउँपालिकामा यो परिक्षण सुरु भएको हो। यो एप थाइल्याण्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) का प्राध्यापक डा. इन्द्रजीत पलद्वारा प्रतिपादित प्रविधि हो।

विपद् जोखिम न्यूनीकरण सञ्चार समाजले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै परियोजनाका कार्यक्रम अधिकृत युरिसा उपाध्यायले यो प्रविधिले विपद्बाट हुने क्षति न्यूनीकरणमा ठूलो सहयोग गर्ने बताइन्।

‘क्रिस्टा एप’ को प्रयोगले विपद्का सूचना तत्कालै सम्बन्धित निकायसम्म पुर्‍याउन सहज हुने र तिनले उद्धार तथा प्रतिकार्य कार्य प्रभावकारी बनाउने उनको दाबी थियो।

यस प्रविधिको माध्यमबाट स्थानीय बासिन्दाले विपद्का सूचना एपमा फोटो र अक्षरमार्फत दिन सक्छन्। त्यसपछि उद्धार टोलीलाई घटनाको स्थानसहितको आपत्कालीन संकेत पठाइन्छ। जसले उद्धार कार्यलाई छिटो र प्रभावकारी बनाउँछ।

यस्तै, घटनाको अवस्थाका आधारमा आवश्यक सामग्री पहिचान गर्नसमेत यसले मद्दत पुर्‍याउने उपाध्यायले जनाइन्।

पत्रकार सुरेन्द्र पाण्डेले स्थानीय बासिन्दा वा प्रत्यक्षदर्शीहरुले सजिलै सूचना पठाउन सक्ने र प्राप्त सूचनाको विश्वसनीयता बढ्ने अनुभव सुनाए। त्यसैगरी, पत्रकार जीवन भण्डारीले यस एपले उद्धार टोलीलाई मार्गदर्शन गर्ने र क्षति न्यूनीकरणमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा सहभागी पत्रकारहरु सरोज कोईराला, यम विरही, टिएन घिमिरे, नवराज पाण्डे, गोपालजंग थापा, महेश गौतम, भूवन शर्मा, सन्देश अर्याल लगायतले क्रिस्टा प्रविधि निकै उपयोगी हुने र देशभरका सबै पालिकामा लागू गर्न सुझाव दिएका थिए।

उनीहरुले सरकारी निकायले यसलाई स्वामित्व लिएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: २२ भाद्र २०८१ २०:१० शनिबार