समाज

भक्तपुरमा गरियो ‘चोथा पूजा’

क्याप्शन

भक्तपुरमा शुक्रबार घरघरमा गणेश चतुर्दशी अर्थात् चोथा पूजा गरिएको छ। साँझ सूर्यास्तपछि घरका झ्याल वा छतमा भगवान् गणेशको तस्बिर राखेर विशेष पूजाको आयोजना गरी चोथा पूजा सम्पन्न भएको हो।

यो परम्परागत पर्व स्थानीय नेपाल भाषामा 'चोथा पूजा' भनेर चिनिन्छ। चोथा पूजामा गेडागुडी भुटेर खाने परम्परा रहेको छ। मकै, गहुँ, भटमास, बकुला, बदाम, केराउ, सिमी, चना लगायतका गेडागुडी सेवन गर्दै यो पर्व मनाइन्छ।

यस पर्वको रोचक पक्ष भने चोरेर खाने चलन हो। रातको समयमा खेतबारीबाट काँक्रो, लसुन, भोगटे, कागती, नरिवल, केरा, अम्बालगायत मौसमी फलफूल चोरी गरेर खाने चलनले यो पर्वलाई "चोरीको पर्व" को रूपमा पनि चर्चित बनाएको छ।

चन्द्रमाको दोष हटाउन सानोतिनो चोरी गर्नुपर्ने जनविश्वासले पनि यस पर्वमा चोरीको प्रचलन रहेको छ। स्थानीय कृष्ण प्रजापतिका अनुसार, केही वर्षअघि चोरेर खाने चलन निकै व्यापक भए पनि हाल यो प्रचलन बिस्तारै हराउँदै गएको छ।

यस अवसरमा टोल टोलका गणेश मन्दिरहरूमा भगवान् गणेशको पूजा–आराधना गरिन्छ। गणेशलाई ८४ परिकारबाट बनेको समयबजी (चिउरामा मासु मिसाएर बनाइने खाजा) चढाउने र फलफूल अर्पण गर्ने परम्परासमेत रहेको छ।

यस पर्वको तयारी बिहानैदेखि घरलाई चोखो बनाउने कार्यबाट सुरु गरिन्छ, र साँझ सूर्यास्तसँगै पूजा गर्ने चलन छ। पूजाको बेला कुकुर रुँदा कुनै अशुभ हुने विश्वास पनि स्थानीय जनमानसमा रहेको छ।

संस्कृतिविद् डा. वीरेन्द्रप्रसाद कायस्थका अनुसार, यो पर्वको जनमानसमा चोरीसँग सम्बन्ध रहेको भए पनि वास्तवमा यस पर्वको मर्म फरक छ। परापूर्वकालमा चोर होइन भन्ने प्रमाणित गर्न परिवारका सदस्यहरूले 'ज्यामिरे' बोकेर बस्ने परम्परा रहेको उनको भनाइ छ।

कसैकसैले यस पर्वलाई 'विनायक चतुर्थी' पनि भन्छन्। गणेशका १०८ नाममध्ये विनायक, गजाधर जस्ता नामले स्मरण गरिने भगवान् गणेशलाई कला र साहित्यका देवता मान्ने परम्परा रहेको छ।

प्रकाशित: २१ भाद्र २०८१ २१:३४ शुक्रबार