समाज

उदयपुरमा घरभित्रै आमा–छोरा मृत भेटिए, हत्याको आशंका

सांकेतिक तस्बिर।

उदयपुरको कटारी नगरपालिका-१४, सोरुङछबिसेमा आमा-छोरा बिहीबार बिहान घरभित्रै मृत अवस्थामा फेला परेका छन्। ३७ वर्षीया निर्मला थापा र उनका ६ वर्षीय छोरा आरुस घरभित्रै रक्तामुछेल अवस्थामा मृत भेटिएका हुन्।

स्थानीय बासिन्दाले बिहीबार बिहान उनीहरूलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। सोरुङछबिसे प्रहरी चौकीबाट खटिएको टोलीले घटनास्थलमा आमा र छोराको शव फेला पारेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। घटनाबारे थप अनुसन्धान गर्न इन्स्पेक्टर उमेश महतोको नेतृत्वमा प्रहरी टोली तत्काल घटनास्थल पुगेको छ।

इन्स्पेक्टर महतोका अनुसार घटनाबारे अहिलेसम्म केही ठोस प्रमाण नखुलेको भए पनि हत्या भएको प्रारम्भिक अनुमान गरिएको छ। ‘घरभित्रै रक्तमुछेल अवस्थामा आमा छोरा मृत भेटिए बाहेक अहिलेलाई अरु केही खुल्न सकेको छैन’ इन्स्पेक्टर महतोले भने ‘हामी भर्खरै आई पुग्यौँ, अब अनुसन्धान सुरु हुन्छ।’

कटारीका नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले घटना दुःखद भएको भन्दै सूक्ष्म अनुसन्धान गर्न प्रहरी प्रशासनसमक्ष माग गरेका छन्। मेयर श्रेष्ठका अनुसार मृतकका पति अशोक केही वर्षअघिदेखि नै घर छाडेर भारतमा बस्दै आएका छन्।

श्रीमान् दोस्रो बिहे गरेर भारत पलायन भएपछि निर्मला नाबालक छोरासँग घरमा बस्दै आएको बताइएको छ।

प्रकाशित: २० भाद्र २०८१ १४:५३ बिहीबार