समाज

२३ वर्षपछि सञ्चालनमा आएको बागलुङ बसपार्कको मुख्यमन्त्री पाण्डेद्वारा उद्घाटन

नवनिर्मित बागलुङ बसपार्क मंगलबारदेखि सञ्चालनमा ल्याइएको छ। मंगलबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बसपार्क उद्घाटन गरेका हुन्। बसपार्क उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेलले यसको दिगो सञ्चालनका लागि प्रदेश सरकारले सहकार्य गर्ने बताए। ‘लामो समयको प्रयासपछि बसपार्क सञ्चालनमा आएको छ’, उनले भने, ‘मुख्य सडकबाट बसपार्कसम्म आउनका लागि आवश्यक पहुँचमार्गलाई व्यवस्थित गरी कालोपत्रे गर्ने विषयमा प्रदेश सरकारले स्थानीय सरकारसँंग हातेमालो गर्छ।’

सीमित स्रोतसाधनका बिचबाट धेरै आवश्यकता पूरा गर्नुपर्ने भएकाले सबैलाई एकैपटक सम्बोधन गर्न नसकिने उनले बताए। ‘पञ्चकोटमा मैले प्रतिबद्धता गरेको थिएँ, त्यो कसरी छुट्न पुगेछ। मलाई अहिले पनि महिनाको चारपटक फोन आउँछ। प्रतिबद्धता गर्नुभएको थियो भनेर सम्झाइरहनुहुन्छ’, उनी भन्छन्, ‘दिन त सबैलाई दिन मन छ, तर हाम्रो ढुकुटी सानो छ। एकैपटक सबैतिर पुर्‍याउन गाह्रो छ।’

बागलुङ बसपार्क निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका जग्गाधनीहरूलाई लाभकर छुट गर्न प्रदेश सरकारको आर्थिक ऐनले दिएको जति गर्ने उनले बताए। ‘बसपार्क बनाउन निःशुल्क जग्गा दिएका जग्गादाताको बाँकी जग्गा फिर्ता गर्न झन्डै तीन करोड लाभकर छुट गरिदिए हुन्थ्यो भनेर यहाँहरूले भन्नुएको छ’, उनले भने, ‘चालु आर्थिक वर्षको आर्थिक ऐन पारित भइसकेको छ। ऐनले दिन मिल्ने छुट हामीले प्रदेश सरकारबाट निर्णय गरेर दिने छौं।’

नवनियुक्त स्वास्थ्यमन्त्री कृष्ण पाठकले लामो संघर्षपछि निर्माण भएको बसपार्कलाई दिगो रूपमा सञ्चालन गर्न सबैले आआफ्नो दायित्व निर्वाह गर्नुपर्ने बताए। बागलुङ नगरपालिका—४ दावगरामा विगत तीन वर्षअगाडि निर्माण पूरा भइसकेको बसपार्क पहुँचमार्गको अभावमा अहिलेसम्म सञ्चालन हुन सकेको थिएन।

बसपार्क निर्माणका लागि ५२ जना स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराएका थिए। बसपार्क निर्माण क्षेत्रमा रहेको ५९ रोपनी जग्गामध्ये १७ रोपनीमा बसपार्क निर्माण गरी अन्य जग्गा व्यवस्थित घडेरीका रूपमा विकास गरेर स्थानीयलाई फिर्ता दिने गरी बसपार्क निर्माणको काम अगाडि बढेको थियो। बसपार्क सञ्चालनमा आएपछि जग्गा फिर्ता प्रक्रिया सुरु हुने बागलुङ नगर प्रमुख वसन्तकुमार श्रेष्ठले बताए। ‘हामीले नगर विकास कोषबाट ऋण लिएर बसपार्क निर्माण थालेका थियौं, बसपार्क निर्माण भएर पनि सञ्चालनमा नआउँदा नगरपालिकाले ठूलो घाटा व्यहोर्नुपरेको छ’, उनले भने, ‘बसपार्क सञ्चालनमा आएको छ। अब हामीले यहाँका अन्य आधारभूत कुरा पूरा गर्दै जग्गादातालाई जग्गा फिर्ता गर्ने काम अगाडि बढाउँछौं।’

नगर विकास कोषलाई वार्षिक एक करोड रूपैयाँ साँवा–ब्याजको किस्ता तिर्नुपर्ने अवस्था रहेको उनले बताए। जग्गा व्यवस्थापन समितिका अध्यक्ष सुवासचन्द्र राभजण्डारीले बसपार्क सञ्चालनमा आएपछि दाताको जग्गा फिर्ता गर्ने विषयमा नगरपालिकाले चासो दिनुपर्ने बताए। ‘सडक, नाली, खानेपानी, विद्युत्लगायतका सबै सुविधा पुगेको व्यवस्थित घडेरीका रूपमा जग्गा विकास गरेर फिर्ता गर्ने भनेर बसपार्कका लागि निःशुल्क जग्गा उलब्ध गराएको हो’, उनले भने, ‘अब नगरपालिकाले यहाँको पूर्वाधार निर्माणमा ढिलाइ गर्नुहुन्न। २३ वर्षअगाडिबाट सुरु भएको काम हो। अहिलेसम्म जग्गा दिनुभएका नौजना व्यक्तिको मृत्यु भइसकेको छ।’

बसपार्क सञ्चालन थाले पनि पहुँच मार्ग सहज नभएको धौलागिरि गण्डकी यातायात सेवा प्रालिका अध्यक्ष उमेश केसी बताउँछन्। ‘हामीले आजबाट ट्रायलका रूपमा बस चलाउन सुरु गरेका छौं, ठूलो बसका लागि केही अप्ठ्यारो छ’, उनले भने, ‘बाटो फराकिलो गरी कालोपत्र गर्नुपर्ने छ। नगरपालिका र सरकारले पहिले त्यो समस्या समाधानतर्फ ध्यान दिनुपर्छ।’ बसपार्क सञ्चालनमा आएसँगै उपल्लाचौर क्षेत्र गुल्जार हुने स्थानीयको अपेक्षा छ।

करिब १० करोड लगात अनुमान गरिएको उक्त बसपार्क निर्माणका लागि फेवा/आशिष जेभीले सुरुमा सात करोड ६६ लाख ९९ हजार ७४ रूपैयाँमा निर्माण जिम्मा लिएको थियो। दोस्रो भेरिएसनपछि बसपार्क निर्माणको कुल लागत आठ करोड ८० लाख ६४ हजार एक सय ९८ पुगेको थियो।

पटकपटक म्याद थपेको निर्माण कम्पनीले तेस्रो भेरिएसनपछि कुल नौ करोड २१ लाख ३५ हजार निर्माण लागत पुर्‍याएको थियो। उपल्लाचौरको दापगरामा बसपार्क निर्माण गर्ने निर्णय भएपछि २०५७÷५८ सालदेखि त्यहाँका स्थानीय जग्गा लिन सुरु भएको थियो। बसपार्क निर्माणका लागि आवश्यक जग्गा नगरापालिकाले प्रयोग गर्ने र बाँकी जग्गा व्यवस्थित घडेरीका रूपमा विकास गरी स्थानीयलाई फिर्ता गर्ने सर्तमा उनीहरूले जग्गा दिएका थिए। जग्गा विकास समिति गठन गरेर त्यसमार्फत काम अगाडि बढेको थियो, तर त्यसले समयमै मूर्तरूप धारण गर्न सकेन।

२०६३ सालमा तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रेमनारायण शर्माले बसपार्क निर्माणका लागि भनेर उद्घाटन गरे पनि अर्को एक दशक कुनै काम अगाडि बढ्न सकेन। न त्यहाँ बसपार्क नै बन्यो न स्थानीयले आफ्नो जग्गा उपभोग नै गर्न पाए। स्थानीय तह निर्वाचनपछि जनप्रतिनिधिमाथि बसपार्क निर्माणको व्यापक दबाब परेपछि बागलुङ नगरपालिकाले बसपार्क निर्माणका लागि अग्रसरता लिएको थियो।

बसपार्कको टर्मिनल भवन, व्यापारिक भवन, भूमिगत ट्याक्सी पार्कलगायत संरचना निर्माण गरिएको छ। आधुनिक बसपार्क निर्माण भएपछि कम्तीमा ६० वटा बस पार्किङ गर्न सकिने र साना सवारी साधनका लागि समेत सहज पार्किङ हुनेछ। नगर विकास कोषसँगको ९० प्रतिशत ऋण लगानी नेपाल सरकारको साढे सात प्रतिशत र नगरपालिकाले साढे दुई प्रतिशत आर्थिक दायित्वको व्यवस्थापन गरेको छ।

प्रकाशित: १९ भाद्र २०८१ ०६:२५ बुधबार

#Surendra pandey