समाज

सरकारको मार्गदर्शनमा रहेर कार्य सम्पादन गर्नेछु: डेनमार्कका लागि प्रस्तावित राजदूत तुलाधर

डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधरले सरकारको मार्गदर्शनमा रहेर आफूले कार्य सम्पादन गर्ने बताएकी छिन् ।

आइतबार संसदीय सुनुवाइको क्रममा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सरकारले जारी गरेको कूटनीतिक मर्यादाभित्र रहेर आफूले कार्य सम्पादन गर्ने कार्य योजना प्रस्तुत गरेकी हुन।

प्रस्तावित राजदूत तुलाधरले युवाहरूको चासो र चिन्तालाई सम्बोधन हुने गरी पर्यटन प्रवर्द्धनमा पनि आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरिन । डेनमार्क लगायतका विकसित देशमा सोसियल सेक्युरिटीको क्षेत्रमा धेरै सुविधा हुने भएकाले त्यहाँ जाने नेपालीहरूलाई त्यसबारे जानकारी गराउने विषयमा पनि आफूले ध्यान दिने उनको भनाई थियो।

डेनमार्क लगायतका मुलुकहरूमा उच्च शिक्षा कम खर्चमा हुने भएकाले त्यसमा सहजीकरण गर्न पनि आफूले जोड दिने प्रस्तावित राजदूत तुलाधरले बताइन । उनले देशका मुख्य मुख्य निकायसँग सहकार्य गरेर आफूले देशको हितमा हुने गरी महिलाको क्षेत्रमा, बालबालिका र मातृभाषाको क्षेत्रमा पनि काम गर्न चाहेको बताइन।

प्रस्तावित राजदूत तुलाधरले विकसित देशहरूबाट नेपाल जस्ता विकाशशील राष्ट्रहरूले पाउनुपर्ने सुविधाको बारेमा पनि आफूले चासो दिएर काम गर्ने बताइन । 

प्रकाशित: १६ भाद्र २०८१ १६:१३ आइतबार

#Parliamentary hearings #Sumnima Tuladhar