खोटाङ – तेश्रो चरण पार गरेर पाठेघर खसेको महिलालाई कति पीडा होला ! त्यो पनि ३३ वर्षसम्म। खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलकी बिश्वकर्मा थरकी महिला यही कहाली लाग्दो पीडा खेप्न बाध्य छिन्। कान्छी छोरीलाई जन्म दिनेक्रममा बिश्वकर्माको २०४१ सालमा पाठेघर खसेको हो। बेलामा उपचार नपाउँदा हाल उनको स्वास्थ्य अवस्था नाजुक बनेको छ।
१४ वर्षको उमेरमा विवाह गरेर १६ वर्षकै उमेरमा पहिलो सन्तान जन्माएकी उनी हाल ५६ वर्षकी भएकी छन्। उनका दुई सन्तान छन्। अन्धविश्वासका कारण पाठेघर खसेका बिश्वकर्मालाई परिवारले नै उपचारमा लैजान अस्वीकार गर्ने गरेको खुलेको छ।
यस्तै, राखाबांदेलकै खत्री थरकी महिलाको ५४ वर्षीय महिलाको पाठे घर खसेको १६ वर्ष वितिसकेको छ। १५ वर्षमै विवाह गरेकी खत्रीको तीन सन्तान छन्। पाठेघर खसेको समस्यालाई उनले अहिलेसम्म लुकाएरै आइन्।
यी केही उदाहरण हुन्। ग्रामीण क्षेत्रका कतिपय महिलाले अझै पनि पाठेघर खसेका समस्यालाई लुकाई रहेको पाइएको छ। महिलामाथि हुने सामाजिक भेदभाव र परम्परागत अन्धविश्वासका कारण धेरैजसो पाठेघर खसेका महिला उपचार गर्नुको सट्टा रोग पाल्न बाध्य छन्।
पाठेघर खसेका महिलाको तत्कालै मृत्यु नभए पनि संक्रमण भएर घाउ हुँदा उनीहरूको जीवन कष्टमय र पीडादायी बनिरहेको पाइएको छ। अर्कातर्फ पाठेघर खसेका महिला सामाजिक र पारिवारिक हिंसा बेहोर्न पनि बाध्य छन्। महिला प्रजनन अधिकार कार्यक्रम सञ्चालन गरिरहेको वातावरणीय कृषि तथा विकास केन्द्र (केड) का अनुसार राखाबांदेलका ६५ जना र केपीलासगढी गाउँपालिका–६ दिप्सुङका २६ महिलामा पाठेघरको समस्या भएको पहिचान भएको छ।
यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका ३५ बढि र दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्माका ५० बढि महिलामा पाठेघरको समस्या भएको वातावरणीय कृषि तथा विकास केन्द्रले जनाएको छ। महिला प्रजनन् अधिकार कार्यक्रमका लागि चुनिएका नमुना जोडीले स्थानीय महिलासँग गरेको छलफल तथा कुराकानीका आधारमा महिलाको पाठेघर खसेको पत्ता लागेको हो।
बातचितका क्रममा खुलेका महिलाले बताएको लक्षणका आधारमा उनीहरूमा पाठेघरको समस्या भएको पत्ता लागेको वातावरणीय कृषि तथा विकास केन्द्र (केड) खोटाङकी जेण्डर एण्ड एसआरएचआर अफिसर शुष्मा पण्डितले बताइन्। स्थानीय स्वास्थ्य संस्थाको तथ्यांकले पनि पाठेघर खसेका महिलाको संख्या भयावह रहेको देखाएको छ।
गत माघ १३ गते राखाबांदेलमा गरिएको स्क्रीनीङ क्याम्पमा ५८ जना महिलाको परिक्षणकाक्रममा २३ जना महिलाको पाठेघरमा समस्या भएको पाइएको छ। उनीहरूमध्ये १५ जनाको पहिलो चरण, ३ जनाको दोश्रो चरण र ५ जनाको तेश्रो चरण पार गरेको पाइएको छ। यस्तै, माघ १८ गते गरिएको स्क्रीनिङ क्याम्पमा आएका १२ महिलामध्ये ९ जनाको पाठेघरले पहिलो चरण, २ जनाको दोश्रो चरण र १ जनाको पाठेघरले तेश्रो पार गरेको पाइएको थियो। स्वास्थ्यकर्मीका अनुसार तेश्रो चरण पार गरेको पाठेघरको शल्यक्रीया गर्नुको विकल्प हुँदैन। वृद्धावस्थामा पुगेका कतिपय महिलाको स्वास्थ्यका कारण शल्यक्रीया गर्न नमिल्दा जीवनभर पीडा खेप्न बाध्य हुन्छन्।
पाठेघर खस्ने समस्याबाट जुनसुकै उमेर समूहका महिला पिडित छन्। बढिजसो वृद्धामा पाठेघर खस्ने समस्या अधिक पाइए पनि युवती समेत यस समस्याबाट अछुतो छैनन्। जस्तो १४ वर्षमा भागी विवाह गरेकी राखाबांदेलकी २० वर्षीय सुन्तली बर्देवा (परिवर्तित नाम) को दोश्रो सन्तान जन्मिएपछि पहिलो चरणको पाठेघर खसेको पाइएको छ। पाठेघर खसेको थाहा हुने वित्तिकै उपचार नगर्दा यसले बिकराल समस्या लिने गरेको पाइएको छ। कुराकानीका क्रममा कलिलो उमेरमा विवाह गर्ने महिलामा बढि पाठेघर खस्ने समस्या रहेको पाइएको हो।
जिल्ला जनस्वास्थ्य कार्यालय खोटाङका प्रमुख डा. रामबहादुर केसीले जिल्लाका २५ देखि ६० वर्ष उमेर समूहका महिलामा गरिएको स्याम्प्लीङमा २५ देखि ३० प्रतिशत महिलामा पाठेघरको समस्या पाइएको छ। ‘धेरैजसो महिलामा पाठेघरको कुनै न कुनै समस्या छन्,’ डा. केसीले भने, ‘स्याम्पीङकाक्रममा १० देखि १५ प्रतिशत महिलाको शल्यक्रीया गर्नुपर्ने देखिएको छ।’
पाठेघरलाई अड्याएर राख्ने मांसपेसी र तन्तुहरू कमजोर भएर ठाउँ छोड्दा योनीबाट पाठेघर बाहिर निस्कनुलाई पाठेघर खसेको भनिन्छ। पाठेघर खस्नुलाई आङ खस्ने समस्या पनि भनिन्छ। पाठेघरले तेश्रो चरण पार गरेपछि पाठेघर योनीबाट बाहिर निस्कन्छ र भित्र जाँदैन। जसका कारण पाठेघर घाउ भएर संक्रमित हँुन्छ। दिसा–पिसा वगर्न वा बस्न समेत पीडादायक हुन्छ। समाजमा कुरा काट्ने र गलत नजरले हेरिने भएकाले अधिकांश महिलाले पाठेघर खस्ने समस्यालाई लुकाउँदै आएको पाइएको छ। पाठेघर खसेको समस्यालाई खुलेर भन्न र उपचारमा जानुको सट्टा पीडा सहेरै बसिरहने गरेको वातावरणीय कृषि तथा विकास केन्द्र (केड) खोटाङका कार्यक्रम अधिकृत लोचन श्रेष्ठले बताए।
सुत्केरी वा गर्भावस्थामा आराम नगर्नु, उमेर नपुग्दै कलिलो उमेरमा बच्चा जन्माउनु, छोराको आसमा धेरै बच्चा जन्माउनु, स्याहार, पोषिलो खानेकुरा र आराम नपाउनु, ग¥हौं काम गर्नु, धुलो, धुवाँ र चुरोटका कारण बारम्बार खोकी लागी रहनु लगायतका कारण महिलाको पाठेघर खस्ने खतरा बढि हुने प्रमुख डा. केसीले बताए।
पाठेघर खसेका ११ महिलाको शल्यक्रीया
वातावरणीय कृषि तथा विकास केन्द्रको सहयोगमा खोटाङका पाठेघर खसेका ११ महिलाको शल्यक्रीया गरिएको छ। महिला प्रजनन अधिकारको विषयमा कार्यक्रम सञ्चालन भइरहेको टेम्मा, याम्खा, ऐसेलुखर्क र दिप्सुङमा चयन गरिएका नमुना जोडीमार्फत पहिचान भएका तथा उपचारका लागि सम्पर्कमा आएका महिलालाई स्थानीय स्वास्थ्य संस्था वा जिल्ला अस्पतालमा परिक्षण गरेपछि शल्यक्रियाका लागि सिफारिस गर्ने गरिएको वातावरणीय कृषि तथा विकास केन्द्रका कार्यक्रम अधिकृत श्रेष्ठले बताए। ‘पहिला स्वास्थ्य संस्थामा परिक्षण गरेर पाठेघर तेश्रो चरणमा झरेको हो÷होईन निश्चित गर्छौँ,’ श्रेष्ठले भने, ‘त्यसपछि उपचारका लागि टिचिङ अस्पताल पठाउने गरेका छौँ। एघार जनाको सफल उपचार भइसकेको छ।’
प्रकाशित: १९ चैत्र २०७४ ०८:०४ सोमबार