समाज

सामुदायिक पुस्तकालय स्थापना

रत्ननगर -चितवनको रत्ननगरस्थित सुब्बाचोकमा सामुदायिक पुस्तकालय स्थापना भएको छ।स्काइराइडर आवासीय माध्यामिक विद्यालयले समुदायलाई पठन संस्कृतिको विकास गर्ने लक्ष्यसहित पुस्तकालय स्थापना गरेको विद्यालयका अध्यक्ष दुर्गा पुरीले जानकारी दिए।

विद्यालयका संस्थापक दीपेन्द्र क्षेत्रीको स्मृतिमा स्थापना गरिएको पुस्तकालयमा हाल धार्मिक, साहित्यिक, सामाजिक तथा समय सान्दर्भिक लगायत विभिन्न खाले पुस्तक पढ्न पाइने विद्यालयले जनाएको छ।

झण्डै रु २० लाखको लागतमा पुस्तकालय स्थापना गरिएको बताउँदै विद्यालयका प्राचार्य मदन पुरीले आगामी दिनमा यहाँ पुस्तक थप्दै जाने उल्लेख गरे।

सो पुस्तकालयमा गाउँका सर्वसाधारण आएर अध्ययन गर्न सक्ने छन् । विद्यालयले सात कट्ठा जग्गा भाडामा लिएर विभिन्न शैक्षिक क्रियाकलापअन्तर्गत पहिलो चरणमा पुस्तकालय स्थापना गरेको र बाँकी जग्गामा अन्य शैक्षिक कार्यक्रम चलाउने जनाइएको छ।

यसैबीच विद्यालयद्वारा आयोजित गुणस्तरीय शिक्षा आजको आवश्यकता विषयक छलफल कार्यक्रममा शिक्षाका जानकार तथा बुद्धिजीवी प्रेम रिमालले सबै आमा पहिलो शिक्षक भएकाले बालबालिकालाई घरबाटै असल शिक्षा र संस्कार जरुरी रहेको औँल्याए।

त्यसै पनि समाज र स्कूलका शिक्षकको भूमिका हुने भन्दै रिमालले अहिलेको समाज प्रतिभालाई हुर्कन नदिनेखालको रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा जनजागृति मावि पिठ्वाका प्राचार्य विनोद अधिकारीले पाठ्यक्रम समाजसापेक्ष बनाउनुपर्नेमा जोड दिए।

एकजना शिक्षक गोविन्द घिमिरेले बच्चाको चाहनाअनुसारको शिक्षामा जोड दिँदै भने, “शिक्षा जीवनसँग जोडिनु पर्छ, तर अहिले ग्रेडसँग जोड्ने गरिन्छ ।” उनले अहिलेको पढाइ कुनै इन्स्टिच्यूटमा कोचिङ पढाएको जस्तो भइरहेको दाबी गरे।रासस

 

प्रकाशित: १९ चैत्र २०७४ ०६:५७ सोमबार

सामुदायिक पुस्तकालय स्थापना