समाज

वर्षाले लिमचुङबुङका सडकको दुर्दशा

जाँते–खोस्टुङ–चौलाने खण्डसडक बिच पहिरोले खसालेको ढुंगा । तस्बिर महेश्वर

हरेक वर्ष वर्षाले बिग्रने गरेको पहाडी गाउँपालिका लिमचुङबुङका आन्तरिक सडकको हालत यो वर्ष थप खराब भएको छ। निरन्तरको वर्षाले पहिरो गएर पुरिनुका साथै खाल्डाखुल्डी र हिलाम्य हुनाले सबैतिरका पहाडी सडकको दुर्दशा उस्तै भएको हो।

लिमचुङबुङसँगै उदयपुरका पूर्ण पहाडी भेगका गाउँपालिका उदयपुरगढी, ताप्ली र रौतामाईका आन्तरिक सडक वर्षायाममा आउजाउ गर्न नसक्ने अवस्थामा पुग्ने गरेका छन्।

लिमचुङबुङ जोडिएको सदरमुकाम गाईघाटदेखि बराहसम्मको मूल सडक नै ध्वस्त भएकाले यातायात आउजाउमा समस्या छ। त्यस्तै गाउँपालिकाका आन्तरिक सडक झन् धेरै बिग्रेभत्केर स्थानीयलाई वडा कार्यालय आउजाउ गर्नसम्म हम्मेहम्मे पर्ने गरेको छ।

वडादेखि गाउँपालिका केन्द्र बराहसम्म आउजाउ गर्न र एउटा वडादेखि अर्को वडासम्म पुग्ने सकड भत्केबिग्रेकाले गाउँपालिका केन्द्र पुगेर मात्र गन्तव्य पुम्नुपर्ने अवस्था सिर्जना भएको छ।

वडादेखि गाउँपालिका केन्द्र पुग्ने शाखा सडक भने नियमित आउजाउ गरिरहनुपर्ने भएकाले मोटरसाइकलसम्म दुःखले चल्नसक्ने अवस्थामा रहेको जनप्रतिनिधि बताउँछन्।

वडा नम्बर ५ जाँतेका वडाध्यक्ष कविचन्द्र राईका अनुसार हरेक कामका लागि आउजाउ गरिरहनुपर्ने हुनाले वडा कार्यालयदेखि गाउँपालिका केन्द्रको सडकखण्ड काम चलाउ अवस्थामा रहेको छ। वर्षाले भत्केबिग्रे पनि तत्काल मर्मत गरेरै सडक सञ्चालन गर्नुपर्ने उनी बताउँछन्।

सदरमुकामदेखि लिमचुङबुङ जोड्ने तीनवटा नाका सडक रहेका छन्। तर, तीनवटै सडक वर्षाले क्षतविक्षत बनाएर बेलाबेला यातायात अवरुद्ध हुने गरेको व्यवसायी बताउँछन्।

सडक बिग्रेपछि वैशाखयता ठूला यात्रु र मालवाहक सवारीसाधन चल्न छाडेका छन्। बोलेरो र मोटरसाइकलहरू भने कष्टका साथ सञ्चालन हुँदै आएको चालक निरबहादुर मगर बताउँछन्। दिन बिराएर बराह–गाईघाट आउजाउ गर्ने बोलेरो चालक मगर जेठयता पटकपटक वर्षाले बिग्रेका कारण सडक अवरोध हुँदै आएको बताउँछन्।

उनीजस्तै जाँते–गाईघाट बोलेरो सञ्चालन गर्दै आएका राजेन्द्र राई पनि सडक बिग्रेभत्केका कारण नियमित रूपमा बोलेरो चल्न नसकेको बताउँछन्। सदरमुकामदेखि उपभोग्य सामग्री र यात्रु लिएर आउजाउ गरिरहनुपर्ने भए पनि सडकको दुर्दशाले साता १५ दिनसम्म रोकिनुपर्ने अवस्था आउने गरेको राईको भनाइ छ। यात्रु लिएर गएपछि बिग्रेको सडक अफैंले मर्मत गर्दै हिँड्ने गरेको स्मरण पनि चालकहरूको छ।

गाईघाटदेखि सबभन्दा बढी चल्ने मुर्कुची–पुँवारे–माझखर्क भएर जोडिने सडक मुर्कुचीदेखि माझखर्कसम्मकै खण्ड वर्षाले बिगारेर आंशिक मात्र आउजाउ हुने गरेको छ। दुरीका हिसाबले छोटो मानिने गाईधाट–पुँवारे–माझखर्क खण्डको माझखर्कदेखि एभरेस्ट भ्युटावर हुँदै नागी–सिरुवानी–बराह–बाँसबोटे खण्डको ठाउँठाउँ बिग्रेकाले नियमित यातायात चल्न सकेको छैन।

कच्ची भएकाले सामान्य वर्षाले पनि बिगार्ने सो सडक मुर्कुची–पुँवारे खण्डमै दर्जन बढी ठाउँमा पहिरो गएर पुरिएको तथा हिलो र खाल्डाखुल्डीले भरिएको छ। त्यस्तै पुँवारे–माझखर्क खण्डको डिल्लीबर, सिन्कौले, जिरे टाट्नेको बिचबिचमा भत्कनुका साथै पुरिएर सडकको बेहाल भएको छ।

गाईघाटदेखि लिमचुङबुङ जोड्ने अर्को मध्यमार्ग सडक गाईघाट–मुर्कुची–पुँवारे–भुट्टार–जाँते खण्ड हो भने तेस्रो विकल्प गाईघाट–साउने–फोक्सिन्टार–दिक्तेल सगरमाथा लोकमार्गको फोक्सिन्टार–रेग्मीटार खण्डको चनोट–चौलाने भएर जाँते, बलम्ता, ताम्लिछा र बाँसबोटे भएर गाउँपालिका केन्द्र बराह पुग्ने गरी निर्माण भएका छन्। तर, सबै सडकको दशा वर्षाले उस्तै बनाएको छ।

वडा नम्बर ५ जाने माझखर्क–मिनासिखा–जाँते खण्ड सामान्य भए पनि हिम्मा, धुर्कुथुम, चौलाने, मतर्ला, खोस्टुङ, साफुलादेखि वडा कार्यालय आउजाउ गर्ने आन्तरिक सडक भत्केर पैदल हिँड्नुपर्ने अवस्था रहेको स्थानीय बताउँछन्।

वडा कार्यालय टोड्केदेखि बुइखा–खोस्टुङ–चौलाने–चनौटे आन्तरिक सडकको दर्जन ठाउँमा पहिरो खसेर पुरिएको छ भने बिचबिचमा धाजा फाटेर ध्वस्त भएको छ।

उता सिरुवानीदेखि बाजागाउँ हुँदै ४ नम्बर वडा बलम्ता जोडिएको बाजागाउँ–लाकु खण्डको सडकको पनि दुर्दशा उस्तै छ भने सो मूल सडकसँग जोडिने वाइला, छाताङ, देउराली, भाकाटोंलगायत शाखा सडक वर्षाले छियाछिया भएका छन्। हुतिल्मा, तिर्ला, मान्टुङदेखि वडा कार्यालय माझगाउँ आउने सडक पनि भत्केर मोटरसाइकलसम्म चल्न हम्मे हुने गरेको छ।

त्यसैगरी वडा नं. २ ताम्लिछा र १ नं. को बाँसबोटेका आन्तरिक सडकहरूको पनि समस्या उस्तै छ। ३ नं. वडा बराहमा पर्ने गाउँपालिका केन्द्रको भूगोलसँग सोझै जोडिएका ताम्लिछा र बाँसबोटेका आन्तरिक सडक अन्यजस्तै स्तरोन्नति नगरिएकै कारण वर्षाले स्थानीयलाई सास्ती हुने गरेको हो।

मर्मत ‘बालुवामा पानी’ सरह

पहाडी भेगका सडकहरूको मर्मत सम्भार नभएर यस्तो हालत भएको होइन। हरेक वर्षजसो सडक मर्मत शीर्षकमा रकम छुट्याएर गाउँसभाले बजेट पारित गर्छ। वर्षेनी मर्मत कार्य पनि हुँदै आएको छ। तर, समस्या ज्युँका त्युँ छ। कारण मर्मत गरेको केही समयपछि वर्षा हुँदा बगाएर जस्ताको तस्तै बनाइदिन्छ।

लिमचुङबुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राई वर्षेनी सडक मर्मत गर्ने गरेको बताउँछन्। गाउँबासीको मागअनुसार हरेक आर्थिक वर्ष बजेट विनियोजन गरेर गाउँसभाबाट पारित गरेरै सडक मर्मत कार्य गर्दै आएको उनको भनाइ छ। स्थानीय तहसँग ठुलो रकम नहुने हुँदा विपत् व्यवस्थापन शीर्षकमा रकम विनियोजन गरेर सडक मर्मत गर्ने गरेको उनी बताउँछन्।  

प्रकाशित: १५ भाद्र २०८१ ०८:२७ शनिबार

# Hill Village Limchungbung # Sadakako Durdas