‘श्रीमान् बेपत्ता २२ वर्ष भयो न चुरा सिन्दूर फाल्न सक्छु न त खुसीले लाउन पाउँछु। एकल महिला भत्ता पाउन श्रीमानको मृत्यु दर्ता गराउन भन्छ। लास नदेख्दै कसरी मृत्यु स्वीकार गरूँ।’ बेपत्ता दिवसका अवसरमा घोराहीमा आयोजित एक कार्यक्रममा बोल्दै बेपत्ता परिवार चुमा आर्चायले दुखेसो पोखिन ‘ससुराको अंश आफ्नो नाममा गराउन पाएको छैन। मेरो कारण अंश पाउन नसक्दा जेठाजुहरू रिसाउन थाल्नु भएको छ।’
उनी जस्तै बेपत्ता परिवारकी मसुरी चौधरी २०५९ सालमा श्रीमान् बेपत्ता हुँदा ३ महिनाकी गर्भवती थिइन। ३ वर्षको छोरा र ७ महिना पछि जन्मिएकी छोरीलाई मजदुरी गरेर पढाइन। ‘श्रीमानको भागको अंश आफ्नो नाममा ल्याउन मन नलागी नलागी श्रीमानको न्यायिक मृत्यु तर्दा गरे। लास नदेखेमनि मृत्यु दर्ता गर्न बाध्य भए।’ उनलाई राज्यले जबरजस्त श्रीमानको मृत्यु दर्ता गर्न पठाएको हो।
द्वन्द्वपीडित राष्ट्रिय महिला सञ्जालका लक्ष्मी चौधरीले बेपत्ता परिवारका पीडा फरक भएको बताइन। ‘सबै भन्दा गाह्रो पर्खाई रहेछ। युद्धले परिवर्तन त भयो तर पीडितका पीडा कम भएनन्। अब स्थानीय तहले पनि द्वन्द्वपीडितका समस्याका बारेमा ध्यान दिनु पर्छ।’
नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ, द्वन्द्वपीडित सञ्जाल, ईन्सेक र द्वन्द्वपीडित राष्ट्रिय महिला सञ्जालको संयुक्त आयोजनामा भएको अन्तर्क्रिया कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै जिल्ला समन्वय समिति रोल्पाका प्रमुख नित्यानन्द शर्माले बेपत्ता परिवारलाई न्याय दिनु पर्ने बताए।
‘पीडा सुनेको छु बुझेको पनि छु। मैले गर्न सक्ने समन्वय गर्ने छु।’ उनले भने, ‘द्वन्द्वपीडितका घाउ नपुरिँदा सम्म देशमा शान्ति स्थापना भएको मानिँदैन। नयाँ विधेयक प्रमाणीकरण समेत भएको छ आशा गरौँ केही होला।’
द्वन्द्वपीडित सञ्जालका प्रकाश चौधरीले सहजीकरण गरेको कार्यक्रममा अध्यक्षता गरेकी कल्पना न्यौपानेले विभिन्न परियोजना र अभियान मार्फत द्वन्द्वपीडितका क्षेत्रमा काम गरिरहेको बताईन। उनले आगामी दिनमा पनि पीडितका पक्षमा काम गर्ने बताईन।
प्रकाशित: १४ भाद्र २०८१ १६:२१ शुक्रबार