समाज

‘महिलालाई समान अधिकार स्थापित गर्नुपर्छ’

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुढीले जबसम्म महिलालाई समान अधिकार स्थापित गरिँदैन, तबसम्म देशले कोल्टो फेर्न नसक्ने यथार्थलाई उजागर गरेका छन् । 

मन्त्री सुढीले मंगलबार नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले ‘२८औं इक्यान डे’को अवसरमा आयोजना गरेको ‘नेतृत्व र उद्यमशीलतामा महिलाहरूको सशक्तीकरण’ इक्यान महिला नेतृत्व सम्मेलनलाई सम्बोधन गर्दै उनले पूर्वजहरूले महिलालाई पछाडि पारेकै कारण आजसम्म देशले समृद्धि प्राप्त गर्न नसकेको समेत अवगत गराए । उनले महिलाको विकासले नै देशले विकासको गति लिनेसमेत अवगत गराए ।

‘महिलाहरूले नेतृत्व भूमिकामा अद्वितीय दृष्टिकोण ल्याउँछन् र तिनीहरूको सहभागिताले थप समावेशी र प्रभावकारी निर्णय–निर्माणको नेतृत्व गर्छ,’ मन्त्री सुढीले भने, ‘यद्यपि हामीलाई थाहा छ कि सावर्जनिक र निजी क्षेत्रमा महिला नेतृत्व भूमिकामा अझै पनि अल्पसंख्यक छन् । यो अल्पसंख्यक क्षमताको अभावले होइन बरु अवसर अभावको कारण हो ।’ उनले जिकिर गरे, ‘यो खाडल हामीले सँगै काम गरेर पूर्ति गर्नुपर्छ ।

 म आशा गर्दछु कि तपाईंमध्ये प्रत्येकले यहाँबाट मात्र प्रेरित नभएर कार्य गर्न सक्षम भएर जानुहुनेछ ।’ मन्त्री सुढीले उद्यमशीलता आर्थिक सशक्तीकरणको एक शक्तिशाली उपकरण भएकाले महिला आफ्नै व्यवसाय सुरु गर्न र बढाउन आवश्यक स्रोत र समर्थन दिएर आर्थिक रूपमा सबल बनाउनुपर्नेमा जोड दिए ।

‘महिलाले आफ्नो मात्र आर्थिक स्थिति सुधार गर्दैनन् बरु उनीहरूले आफ्नो समुदाय र राष्ट्रकै आर्थिक वृद्धिमा पनि योगदान दिन्छन्,’ मन्त्री सुढीले भने, ‘हाम्रो मन्त्रालयले सबै स्तरमा महिलाको सशक्तीकरणलाई समर्थन गर्ने नीति कार्यान्वयन गर्ने थालनी गरेको छ ।’  

कार्यक्रममा महिला नेतृत्व सशक्तीकरणबारे प्यानल छलफल कार्यक्रमसमेत आयोजना गरिएको थियो । कार्यक्रममा प्यानलिस्ट महिला उद्यमी महासंघकी अध्यक्ष एवं नेपाल रिपब्लिक मिडियाकी सञ्चालक शोभा ज्ञवालीले महिलालाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा सशक्तीकरण गर्न दु्रतगतिमा अघि बढ्न आवश्यक रहेको बताइन् ।  

महिला उद्यमी महासंघको मुख्य उद्देश्य नै आर्थिक र सामाजिक रूपमा महिला उद्यमीको सशक्तीकरण गर्नु रहेको जनाउँदै उनले उद्यममा महिलाको विश्वबजारमा पहुँच पु¥याउनु र उद्यमशीलताको अभिवृद्धि रहेको जनाइन् । ‘महासंघले देशका हरेक क्षेत्रमा रहेका महिला उद्यमीले स्थानीय रूपमा उत्पादन गरेका चिजबिजलाई नै आर्थिक रूपमा परिणत गर्ने मुख्य काम गरिरहेको छ,’ अध्यक्ष ज्ञवालीले भनिन् , ‘यही विषयमा महिला उद्यमी महासंघले सिपमा आधारित तलिम, गुणस्तरीयमा जोड र तथा प्याकेजिङमा जोड दिएको छ । साथै समयको मागअनुसार डिजिटिलाइजेसन तालिम पनि दिइरहेका छौं ।’उनले महिला दिदीबहिनीले स्थानीय स्तरमा उत्पादन गरेका चिजबिजले अनलाइनमार्फत विश्वबजारमा स्थान पाएको बताइन् । आफ्ना मूल्य, मान्यता र क्षमतालाई सोचमा ढालेर राजनीतिक, आर्थिक, सामाजिकलगायत हरेक क्षेत्रमा अगाडि बढाउन चौतर्फी साथ र सहयोगको आवश्यकता रहेको अध्यक्ष ज्ञवालीले औंल्याइन् ।

नेपाल क्यापिटल मार्केट इन्भेस्टर्स एसोसिएसनकी अध्यक्ष राधा पोखरेलले नेपालको सेयर बजारमा ६२ लाख लगानीकर्तामध्ये २० प्रतिशत मात्र महिला रहेको जनाउँदै उनले पुँजीबजारमा महिलाको सहभागिता निकै कम रहेको तथ्य उजागर गरिन् । ‘हाम्रो अध्ययनले महिलाको सेयर बजारबारे जानकारी नै नरहेको पाइयो । यसकारण हामीले सातै प्रदेशमा सेयरबारे महिलालाई जानकारी गराउने उद्देश्यले सेयर साक्षरता कार्यक्रम सञ्चालन गरिरहेका छौं,’ अध्यक्ष पोखरेलले भनिन् ।

ब्रिटिस काउन्सिल नेपालकी परीक्षा प्रमुख प्रतिष्ठा थापाले महिलाको सशक्तीकरणका लागि मुख्य महिला शिक्षामा जोड दिनुपर्ने बताइन् । उनले नेपालमा शिक्षामार्फत महिला सशक्तीकरण गर्ने उद्देश्यले नै काउन्सिलले बुढानिलकण्ठ स्कुल स्थापना गरी सुरुवात गरेको जनाइन् । ‘काउन्सिलले नेपालमा अन्तर्राष्ट्रिय स्तरको बुढानिलकण्ठ स्कुल स्थापना गरी नेपालमा शैक्षिक क्रान्तिको सुरुवात गरेको हो ।

उद्यमी सुनिता अधिकारीले महिलालाई उद्यममा समृद्ध बनाउन नेपालमा महिला र पुरुषबीचको विभेद दुर गर्नुपर्ने राय राखिन् । उनले महिलालाई आर्थिक रूपमा सक्षम बनाउन सिपमूलक तालिमको खाँचो रहेको औंल्याइन् । कार्यक्रममा डा. नम्रता पाण्डेले केहीबेर योगाभ्यास गराएकी थिइन् । सोही कार्यक्रममा इक्यानका अध्यक्ष शेषराज भट्टराईले महिलालाई उद्यमशीलतासँग जोड्न निजी तथा सार्वजनिक सबै क्षेत्रले भूमिका निर्वाह गर्नु पर्ने जोड दिए । सोही कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पु¥याउने इक्यानका महिला सदस्यलाई सम्मान गरिएको थियो ।

प्रकाशित: १२ भाद्र २०८१ १४:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App