कालीकोटको नरहरिनाथ गाउँपालिका लालुकी मनशोभा उपाध्याय महिनावारी हुँदा बस्ने ठाउँ मात्रै फेरिएको बताउँछिन्। ‘महिनावारी भएको समयमा बस्न बनाइएको गोठ भत्काइए पनि गाइगोठ र बाख्रा खोरमा बस्नुपरिरहेको छ,’ उनले भनिन्, ‘वर्षौंदेखि जरा गाडेर रहेको कुसंस्कार गोठ भत्काएर मात्रै हट्दो रहेनछ।’ कालीकोटमा अधिकांश घरमा देवताका मन्दिर र माडु छन्। त्यसैले पनि महिनावारी भएका महिलालाई घरभित्र राख्दैनन्।
संघीय संरचनाअघि नै तत्कालीन कतिपय गाविसलाई छाउगोठमुक्त घोषणा गरिएको थियो। त्यसमध्येको एक हो मान्म गाविस। २०७१ सालमै मान्म छाउगोठमुक्त घोषणा गरिसकिएको हो। मान्म कालीकोटको जिल्ला सदरमुकाम पनि हो । १० वर्षअघि छाउगोठमुक्त भएकै ठाउँमा अहिले पनि छाउगोठहरू छन्, जहाँ महिनावारी हुँदा सात दिनसम्म महिला गोठमा बस्छन्।
खाँडाचक्र नगरपालिका–६ की देवीसरा विकले छाउपडी कुप्रथा अन्त्य गर्न तामझाम गरेर मात्रै नहुने बताउँछिन्। ‘हामीलाई त घरभित्रै बस्न पाए हुन्थ्यो भन्ने लाग्छ,’ उनले भनिन्, ‘सासू–ससुरा पहिलादेखि चलेको चलन बिग्रियो भने देउता रिसाउँछन् भन्नुहुन्छ अनि बाहिर बस्न बाध्य हुन्छौं।’
खाँडाचक्र नगरपालिका उपप्रमुख गणेशबहादुर शाहीले छाउपडी समस्या विकराल रहेको बताउँदै यसको अन्त्यका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। नयाँ पुस्ताले परिवर्तन चाहे पनि पुरानो पुस्ताले नमानेकाले समस्या भइरहेको बताए। छाउगोठ भत्काउने अभियानमा स्थानीयको सहभागिता भएन। संघीय सरकारको नीतिलाई जनप्रतिनिधिले साथ नदिँदा पनि अभियान प्रभावकारी हुन सकेन। वर्षौंदेखि समाजमा जरा गाडेर बसेको छाउपडी कुप्रथा एकैपटक प्रहरी–प्रशासन लगाएर अन्त्य गर्न सम्भव नरहेको दलित महिला हजा सुनारले बताइन्।
पाँच वर्षअघि कर्णाली प्रदेशमा दुई हजार २३५ छाउगोठ भत्काइएका थिए। कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार सुर्खेतमा एक हजार नौ सय २४, दैलेखमा दुई सय ५९, जाजरकोटमा ३०, कालीकोटमा २० र सल्यानमा दुईवटा छाउगोठ भत्काइएका थिए। रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगु र हुम्लामा छाउगोठ छैनन्।
कालीकोटको नरहरिनाथ गाउँपालिका र शुभकालिका गाउँपालिकामा धेरै गैरसरकारी संस्थाहरूले छाउगोठ भत्काउने अभियान चलाए। गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा कालीकोटमा २० छाउगोठ भत्काइए।
खाँडाचक्र नगरपालिका–६ दाहाँकी मनशोभा शाहीले आफू महिनावारी हुँदा घरभित्र बस्ने मन हुँदाहुँदै पनि देउताको डरले बाहिर बस्नुपरेको बताइन्। उनी मात्र होइन, दाहाँ गाउँका धेरैजसो महिला छाउपडी गोठमा बस्ने गरेका छन्। देउता रिसाउने डरले आफूहरू छाउगोठमै बस्ने गरेको नरहरिनाथ गाउँपालिकाकी विमला शाहीले बताइन् । ‘सरकारले गोठ भत्काएपछि खुला ठाउँमा रात बिताउनुपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘नबारे देउता रिसाउँछन्, घरपरिवारमा बिसन्चो हुन्छ।’
कालीकोटमा छाउगोठको कुरा कम रहेको बुझेको प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए। उनले भने, ‘परम्परागत मूल्यमान्यताले गर्दा केही ठाउँमा गोठ बनाएर बस्ने गरेका हुनसक्छन्। बाकी गाईवस्तुको दुध खाएपछि बिरामी हुने, देउता रिसाउने कुरा भनेको कहिलेकाहीं संयोग मात्र हो।’
कर्णालीका १० वटै जिल्लामा २०७६ पुसमा तामझामका साथ छाउगोठ भत्काउने अभियान चल्यो । सरकारको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा विभिन्न गैरसरकारी संस्थाहरूको सक्रियतामा सबै स्थानीय तहका धेरै छाउगोठ भत्काइए । त्यसअघि नै स्थानीय निकाय हुँदा पनि यहाँका प्रायः साविकका गाविसलाई छाउगोठमुक्त घोषणा गरिएको थियो ।
बेलाबखतमा छाउगोठमुक्त घोषणा गरिएका साबिकका गाउँ विकास समितिहरूमा अहिले छाउगोठका स्वरूप फेरिएका छन्। पहिला छाउगोठ नै अलगै बनाएर बसिन्थ्यो भने अहिले प्रहरी प्रशासनलाई छल्नका लागि कुखुरा र बाख्राको खोरमा समेत छाउगोठ बनेका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार प्रहरीले सुर्खेत, दैलेख, जाजरकोट, सल्यान र कालीकोटमा दुई हजार २३५ छाउगोठ भत्काएको थियो। जसअन्तर्गत सुर्खेतमा एक हजार ९२४, दैलेखमा २५९, जाजरकोटमा ३०, कालीकोटमा २० र सल्यानमा दुई ओटा छाउगोठ भत्काइएका थिए। तर प्रहरी, प्रशासनले छाउगोठ भत्काए पनि देवताको डरले महिला र किशोरीहरू त्यसको वैकल्पिक छाउगोठमा बस्न थालेका हुन्।
प्रहरीले छाउगोठ भत्काए पनि देवता रिसाउने डरले फेरि अस्थायी गोठ बनाएर बस्नुपर्ने बाध्यता रहेको नरहरिनाथ गाउँपालिकाकी पिरिङका बोहोराले बताइन्। ‘बाहिर गोठ बनाए प्रहरीले भत्काइहाल्छ । घरभित्र बसे देवता लाग्ने डर छ। त्यसपछि घरको छेउमै रहेको बाख्राको खोरमा बस्ने गरेकी छु,’ उनले भनिन्, ‘गोठ भत्काएर के गर्नु ? मान्छेको परम्परागत सोच भत्किन सकेन। हामी त मारमा छौं।’
ढोका नभएको घरको एउटा कोठामा बस्दै आए पनि घरमा कसैको अलिकति टाउको दुखे पनि छोइछाइ भएर देउता बिगारी भन्ने आरोपसमेत खेप्नु परेको शुभकालिकाकी डोल्मा शाहीको गुनासो छ। गाउँका अधिकांश महिला छाउगोठमै सुत्ने गरेको उनले बताइन्।
पहिलेजस्तो छुट्टै गोठ निर्माण नभए पनि बाख्राको खोर, गाइगोठलगायतमा महिलाले महिनावारीका पाँच दिन गुजार्नुपरेको उनको भनाइ छ। महिनावारी भएका बेला घरभन्दा टाढा एक्लै छाउगोठमा बस्दा बलात्कार र दुव्र्यवहारको सिकार हुनुका साथै सर्पले टोकेर, निसास्सिएर र चिसोले मृत्युसम्मका घटना कर्णालीमा हुँदै आएका छन्।
प्रकाशित: १२ भाद्र २०८१ ०७:०३ बुधबार