गण्डकी प्रदेशका विभिन्न जिल्लामा पछिल्लो समय डेंगी संक्रमणले तिब्रता पाएको छ। यो वर्ष (२०२४) को अगष्ट महिनामा प्रदेशमा सबैभन्दा बढी संक्रमित भएका छन्। प्रदेशमा सबैगरि ३५ सय ७८ जनामा डेंगी संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये अहिलेसम्म तीनजनाको ज्यान गएको प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले बताएको छ। एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगी सर्ने गर्छ।
मन्त्रालयका प्रवक्ता सुरज गुरौका अनुसार सबैभन्दा बढी तनहुँमा संक्रमित छन्। तनहुँमा १५ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ। त्यसपछि कास्कीमा १२ सय १२ जनामा संक्रमण पुष्टि भएको छ। पर्वतमा ३ सय २, गोरखामा १ सय ३८, स्याङजामा १ सय ९, बागलुङमा ९८, लम्जुङमा ५७, म्याग्दीमा ५०, नवलपुरमा ३३ र मनाङमा २ जनामा संक्रमण पुष्टि भएको छ। प्रदेशको मुस्ताङमा बाहेक सबैतिर संक्रमण फैलिएको छ।
प्रवक्ता गुरौका अनुसार २६ सय ५ जनामा यो अगष्ट महिनामा मात्र संक्रमण पुष्टि भएको छ। गएको जुलाई महिनामा मात्र ७ सय १५ जनामा संक्रमण पुष्टि भएको थियो। जुनमा जम्मा ९२ जनामा संक्रमण पुष्टि भएको थियो। उनका अनुसार जनवरीमा ७०, फेब्रुअरीमा ११, मार्चमा १४, अप्रिलमा २९, मे मा ४३ जना संक्रमित भएका थिए। ‘यो महिनामा संक्रमण ह्वात्तै बढेको छ। डेंगी संक्रमणले अहिले प्रदेशमा निकै नै अत्याएको छ,’ प्रवक्ता गुरौले भने।
उनका अनुसार अहिले संक्रमण रोक्नका लागि लामखुट्टे रहन सक्ने ठाउँ पहिल्याउने र नोक्सान (सर्च एण्ड डिस्ट्रोय) अभियान चलाइएको छ। ‘तनहुँमा अलि बढी समस्या परेको हो। तनहुँको आँबुखैरेनीमा अलि बढी समस्या भएपछि दुइजना अतिरिक्त चिकित्सक पनि थपेका छौं,’ उनले भने। उनका अनुसार संक्रमण कम गर्नका लागि जनचेतना नै आवश्यक छ। त्यसका लागि घर वरिपरि सरसफाईमा ध्यान दिनुको विकल्प छैन।
उनका अनुसार अघिल्ला वर्षको वृद्धिदर र अवस्था हेर्दा असोजसम्म डेंगी संक्रमण बढ्ने जोखिम रहेको छ। अघिल्ला वर्र्ष पनि असोजसम्मै संक्रमण तिब्र थियो। ‘पछिल्लो महिना बल्ल संक्रमणले गति लिएको छ। अब पानी पर्ने र रोकिने गर्दा संक्रमण ह्वात्तै बढ्न सक्छ। यो वृद्धिदर आगामि महिनासम्म पनि रहने हाम्रो अनुमान छ,’ उनले भने, ‘यो बेला सचेत हुने हो भने केहीदिनमा संक्रमित कम हुन थाल्छन। त्यसका लागि सचेतना नै मुख्य रहन्छ।’
प्रदेश सरकारका अनुसार यो वर्ष तनहुँको आँबुखैरेनी गाउँपालिकामा अहिलेसम्म ११ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ। पोखरा महानगरपालिकामा ११ सय ८२ जनामा संक्रमण पुष्टि भएको। पोखरामा संक्रमण पुष्टि भएपछि सशस्त्र प्रहरीले केहीदिन अघिदेखि यहाँ सर्च एण्ड डिस्ट्रोय अभियान पनि चलाएको थियो।
आँबुखैरेनी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. धनबहादुर क्षेत्रीका अनुसार संक्रमितको थपिने क्रम केही कम भएको छ। ‘पछिल्लो केहीदिनको अवस्था हेर्दा संक्रमित हुनेको संख्या कम भएको अनुमान छ। किनकी दिनमै ५०–६० जना आउनेमा अहिले केही घटेका छन,’ क्षेत्रीले भने, ‘अब सहज हुने अनुमान छ। तर, सतर्कता भने अपनाउनुपर्छ।’
उनका अनुसार बिरामीको संख्या थपिएपछि वार्ड, इमरजेन्सी देखि भएभरको ठाउँमा बिरामी राखेर उपचार गरिएको थियो। तर, त्यो अवस्था अहिले केही सहज भएको छ। ‘अब संक्रमित कम हुने देखेका छौ। तर, केही बिरामीमा अझै पनि जटिल अवस्था भने छ,’ उनले भने, ‘जटिल अवस्थाका बिरामीलाई उपचारका लागि चितवन पठाउने गरिएको छ।’
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अनुसार सन् २०१९ मा गण्डकी प्रदेशमा २६ सय ५० जनामा डेंगी संक्रमण देखिएको थियो। त्यो संक्रमण २०२० मा १५९, २०२१ मा ९५ र २०२२ मा २३ सय ८० जनामा देखिएको थियो। प्रदेश सरकारका अनुसार २०२३ मा प्रदेशमा सबैगरि ११ हजार ९ सय ८६ जना डेंगीबाट संक्रमित बनेका थिए।
चिकित्सकका अनुसार एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा डेंगी सर्छ। यो लामखुट्टेले दिनको समयमा मात्र टोक्छ। यो लामखुट्टे फैलिनका लागि २० देखि ३० डिग्री सेन्टिग्रेड तापक्रम उपयुक्त मानिन्छ फूलबारी, गमला, एसी, फ्रिज, छत, कौसीको पानी जम्ने ठाउँमा यस्तो लामखुट्टेले फुल पार्ने र त्यो फुल एकवर्षसम्म पनि रहन सक्ने भएकोले सधैंभरी जोखिम रहने स्वास्थ्यकर्मीको भनाई छ।
पोखरामा २०७२÷७३ सालदेखि डेंगी देखिन थालेको थियो। सुरुका तीनवर्ष पोखरामा एकएकजना मात्र डेंगीका बिरामी भेटिएकोमा चौथो वर्ष ५७१ जना बिरामी परेका थिए। त्यसपछिको वर्ष भने त्यो संख्या झन्डै २ हजार पुगेको थियो। डेंगी फैलाउने यो लामखुट्टेले सफा पानी जमेको ठाउँमा मात्र फुल पार्ने गर्छ। खासगरि वर्षाको पानी जम्ने भाडाकुँडा, टिनका बट्टा, पुराना टायर, खालि ड्रम, फूलदानी, गमला, पानी ट्यांकी लगायतका भाडामा फुल पार्छ। त्यसैले वर्षातको पानी जम्ने सिजनमा यो रोग फैलिने गरेको चिकित्सकले बताएका छन्।
चिकित्सकका अनुसार डेंगी संक्रमण भएपनि उच्च ज्वरो आउने, जिउ, जोर्नी र हाड दुख्ने गर्छ। त्यस्तै आँखाको गेडी वरिपरि दुख्ने, वाकवाकि लाग्ने, वान्ता हुने, खान मन नलाग्ने, छालामा रगत जमेको धब्बा देखिने, नाक, गिजा, तथा शरीरका अन्य अंगबाट रगत बग्ने सम्भावना रहेको चिकित्सकले बताएका छन्।
प्रकाशित: १० भाद्र २०८१ १७:३५ सोमबार