समाज

दुर्घटनामा बाँचेका सुशान्त भन्छन्: किनारमा निस्किएर बोलाए, साथीहरू सुनकोसीमै हराए

सुनकोसीमा गाडी खस्दा पौडिएर सामान्य घाइते अवस्थामा निस्किएका सुशान्त कक्षपति। तस्बिर: अनिल भण्डारी/नागरिक

जगाती भक्तपुरका सुशान्त कक्षपति अन्य तीन जना साथीसँगै घुमफिरमा ओखलढुङ र सोलुखुम्बुको पताले गएका थिए। पतालेसँगै साथीहरूसँग खोटाङको हलेसी मन्दिर दर्शन गर्न कक्षपतिसहित चार जना पुगे। साथीहरूसँग रमाइलो गरे। शनिबार साँझपख काठमाडौँ फर्कने क्रममा भने कक्षपतिका सबै साथी सुनकोसीमा हराए।

खोटाङ हलेसीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१ –०२३ च ६३६६ नम्बरको निजी इसुजु  हाइलेक्स गाडी मध्य पहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका १ कुडुले नजिकबाट सुनकोसी नदीमा खसेसँगै कक्षपति पौडिएर निस्किए तर अरु साथी निस्किएनन्। 'गाडी सडक छेउको डिभाइडरमा ठोक्किएको याद छ, एक्कासि सुनकोसी नदीमा पुगे, कक्षपतिले भने, म पौडिएर बाचे अरु साथी हराए।'

कक्षपति सँगै भक्तपुर सुर्यबिनायक नगरपालिका जगातीका ३२ वर्षीय अबिन बके, सोही स्थानका ३० वर्षीय प्रनित शैँजु, र ३७ वर्षीय प्रनित घटुवा गाडी सँगै सुनकोसी नदीमा खसेका थिए।

कक्षपति बाहेक तीनै जना हालसम्म बेपत्ता छन्। 'म नदी किनारमा निस्किएर रोए कराए सबै साथीलाई बोलाए कोही बोलेनन्,' कक्षपतिले नागरिक न्यूजसँग भने, 'सुनकोसीले हाम्रो ब्यागहरू बगाउँदै थियो तर म सँगैका अरु तीन जना साथी हराए।' साथीहरू सुनकोसीमा हराएपछि उनी हतारमा सडकमा निस्किएर गाडी बाइक रोकेर आफूहरु चढेको सवारी सुनकोसीमा झरेको जानकारी दिएका थिए।

उनका अनुसार अबिनले गाडी चलाएका थिए। गाडी एक्कासि आफै अनियन्त्रित भई विपरीत दिशातर्फ गई सुनकोसीमा पुगेको थियो। चार जना सवार रहेको कार दुर्घटनामा परेसँगै कारबाटबाट घाइते अवस्थामा भेटिएका कक्षपतीको सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा उपचार पश्चात् डिस्चार्ज भैसकेको इलाका प्रहरी कार्यालय खुर्कोटका इन्स्पेक्टर एल्जिना राईले जानकारी दिइन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार शनिबार साँझ सुनकोसीमा खसेको गाडी गोताखोरको टोलीले राती फेला पारेपनि हराएका तीनै जना यात्रु फेला पारेको छैन। शनिबार साँझबाट नै गोताखोर सहित नेपाल प्रहरी, नेपाली सेना सशक्त प्रहरीले दुर्घट्नास्थल गई खोजी कार्य भइरहेपछि यो समाचार तयार पार्दा सम्म हराएका तीनै जना फेला नपरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लले जानकारी दिए।

बेपत्ता भएकाहरूलाई खोज्न सुनकोसी नदिमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस खुर्कोटबाट सशस्त्र प्रहरीका गोताखोर टिम परिचालन भएको छ।  नदी धमिलो र बाढी आएको भएकाले खोजी तथा उद्धार मा समस्या भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। 

प्रकाशित: ९ भाद्र २०८१ १७:२८ आइतबार

#Sunkoshi Jeep Accident #susant Kasapati