समाज

रामेछाप पहिरो : ६ जनाको शव फेला, ४ बेपत्ता

रामेछापको दोरम्बा शैलुङ ३ लेखर्कमा गएको पहिरोमा परी बेपत्ता भएका  ६ जनाको शव भेटिएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा चण्डिका थापामगर र उनका २ वर्षका छोरा आयुष रहेका छन्। थापामगर शिक्षिका हुन्। यस्तै ५७ बर्षीय उर्मिला पहरी, ३० बर्षीय सन्दीप पहरी, १४ बर्षीय विज्ञान पहरी र बर्षीय ११ सन्तोष पहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सुचना अधिकारी कौशल न्यौपानेले जनाकारी जानकारी दिए।

उनका अनुसार पुड्की पहरी, काले पहरी, झ्याउकिरी पहरी, र विपिता पहरी  पहिरोमा परेका छन्। उनीहरुकाे अझै केही पत्ता लागेकाे छैन्। गएराति गएको पहिरोमा अञ्जना पहरीको सकुशल उद्धार गरिएको छ। उनी खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी पाउनासाथ स्थानीय, प्रहरी र नेपाली सेनाका जवान उद्धार र खोजीमा जुटेको छ। पहिरोले वडा नं २ र ३ को सिमाना भएर बग्ने अँधेरी खोलको पक्की पुल पनि बगाएको छ।

यसैबीच, पुष्पलाल राजमार्गअन्तर्गत चरीकोट–मन्थली सडक बाढीका कारण अवरुद्ध भएको छ। 

प्रकाशित: ९ भाद्र २०८१ १०:०२ आइतबार