समाज

बंगलादेशका पीडित विद्यार्थीको समस्या समाधानका लागि आग्रह

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट अपदस्थ गरेको केही दिनपछि अल्पसंख्यक हिन्दु र बौद्ध धर्मालम्बीमाथि भएको आक्रमणका करण पीडित बनेका मेडिकल अध्ययनरत नेपाली विद्यार्थीको समस्या समाधानका लागि चासो देखाएका छन्।

शुक्रबार नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन बंगलादेशका अध्यक्ष डा. नवीन यादबसहितको नेतृत्वको टोलीले दाहाललाई भेटेर समस्याबारे अवगत गराएका हुन्।

त्यसलगत्तै दाहालले समस्या समाधानका लागि पहल गरेका हुुन्। उनले तत्काल समस्याको समाधान गरिदिन नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सतिशकुमार देवलाई टेलिफोन गरी समस्या समाधानका लागि आग्रह गरेका हुन्।

बंगलादेशको विषय दुनियाँले बुझेको छ। यसकारण यसलाई विशेष परिस्थिति मानेर हाम्रो व्यवस्थाअनुसार देशभित्रै मेडिकलका विद्यार्थीलाई इन्टर्नसिप गर्ने वातावरण मिलाउन सकिन्छ कि सकिँदैन ? तपाईंले के बुझ्नुभयो ?’

पूर्व प्रधानमन्त्रीसमेत रहेका दाहालले विद्यार्थीको सामुन्ने नै रजिस्ट्रारलाई फोन गरेर समस्या समाधानबारे अनुरोध गरेपछि जवाफमा रजिस्ट्रार देवले भने, ‘यस विषयमा परराष्ट्र, शिक्षा र काउन्सिलका पदाधिकारी बसेका थियौं। राज्यले विशेष परिस्थिति घोषणा नगरेकाले हामीलाई अप्ठ्यारो परेको हो। एनेमा छैन, यसकारण नमिलेको हो। यदि राज्यले अनुमति दिएमा हामीलाई स्वदेशमै इन्टर्नसिप गराउन समस्या छैन।’

यसअघि पनि एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले प्रेस विज्ञप्ति जारी गर्दै राज्यले अनुमति दिए आफूहरू नेपालमै निःशुल्क इन्टर्नसिप गराउन तयार रहेको सार्वजनिक प्रतिबद्धता जनाइसकेका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समस्या समाधानबारे अध्ययन गरी १० दिनभित्र प्रतिवेदन दिने गरी अध्ययन समिति गठन गरेको थियो। तर १३ दिन बितिसक्दा पनि कुनै जवाफ नआएपछि नेपाल फर्केका विद्यार्थी थप चिन्तित बनेको अध्यक्ष यादबले बताए।

हाल बंगलादेशका विभिन्न कलेजमा करिब ३५ सयको हाराहारीमा नेपाली विद्यार्थी अध्ययनरत रहेको एसोसिएसनले बताएको छ। दुई हजार विद्यार्थी भने नेपाल फर्किसकेका छन्

प्रकाशित: ९ भाद्र २०८१ ०७:३२ आइतबार

#Chairman of Maoist Center Pushpa Kamal Dahal