समाज

जनश्रममा समन्वय प्रमुख र गाउँपालिका अध्यक्ष

सडक मर्मतमा जुटेका समन्वय प्रमुख (रातो लुगा) सँगै अध्यक्ष राईलगायत। तस्बिर : महेश्वर

जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई र साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राई बिग्रेको सडक मर्मत गर्न श्रमदान अभियानमा जुटेका छन्। लगातारको वर्षाले जताततै बिग्रे–भत्केका स्थानीय सडक नियमित गर्न स्थानीय जनतासँगै प्रमुख र अध्यक्ष श्रमदानमा जुटेका हुन्।

भारी वर्षाले सदरमुकाम दिक्तेल र साकेला गाउँपालिका जोड्ने सडक तथा अन्य विभिन्न अन्तरवडा जोड्ने कच्ची ट्«्याक बिग्रेर ठप्प भएको यातायात सञ्चालन गर्न श्रमदानमा जुटेका हुन्। श्रमदानमार्फत मर्मत गरेपछि भर्खरै स्थानीय सडकमा यातायात आउजाउ सुरु भएको छ। प्रमुख र अध्यक्ष आफैं श्रम गर्न थालेको देखेर गाउँलेहरू स्वतस्फूर्त रूपमा श्रम गर्न जुटेसँगै सडक सञ्चालन गर्न सहज भएको हो।  

साकेलाका सडकहरू दर्जनौं ठाउँमा भत्के–बिग्रेर पैदल र यातायात आउजाउ गर्न रोकिएपछि मर्मतका लागि साकेलाले स्काभेटर र ट्याक्टरसँगै स्थानीयलाई पनि श्रमदानमा जुट्न आग्रह गरेको थिए। जनश्रमदान अभियानको अगुवाइ प्रमुख र आफैंले गरेपछि गाउँलेले साथ दिएर सहजै मर्मतपछि यातायात सञ्चालन भएको गाउँपालिका अध्यक्ष राईले बताए। मर्मतसँगै गाउँपालिका मुकाम मानेभञ्ज्याङदेखि बाँझेसम्मको सडकअन्तर्गत साकेला– २ रतन्छा खण्डमा पहिरो खसेर हिलाम्य भई केही दिनयता ठप्प सवारी आवागमन श्रमदानले शुक्रबार रातिदेखि सुचारु भएको छ।

गाउँपालिका अध्यक्ष राई नेतृत्वमा चलाइएको जनश्रमदान अभियानमा समन्वय प्रमुख राई बिहान ११ बजेदेखि राति आठ बजेसम्म सहभागी भएका थिए। सडक सुचारु हुने गरी बेलुका आठ बजेसम्म गाउँलेसँगै श्रमदानमा खटेका राई यातायात सञ्चालन भएपछि मात्र घर फर्किए।  

समन्वय प्रमुख राई गाउँपालिकाको श्रमदान अभियानले सार्थक रूप लिँदै गएको प्रतिक्रिया दिन्छन्। सानातिना विकास निर्माणका काम अवरुद्ध हुँदा राज्यको मुख नताकी हरेक नगारिकले सकेको सहयोग र श्रमदान गर्दा पनि विकास र समृद्धिमा सहयोग पुग्ने उनको भनाइ छ। नागरिकले भोग्दै आएको दुःख, कष्ट र समस्यालाई साकेला सरकारले समाधान गर्न चलाएको श्रमदान अभियानको प्रमुख राईले सराहना पनि गरे।  

वर्षाले हिलाम्य भएका सडकमा सवारी आउजाउ रोकिएपछि गाउँपालिकाले ब्याकहोलोडर र ३ ट्र्याक्टरसँगै गाउँलेलाई श्रमदानमा सहभागी गराई सडकको सबबेस गरेको छ, जसअनुसार आठ सय मिटर लामो सडक मर्मत कार्यमा स्थानीय नागरिकले उत्साहपूर्ण श्रमदान गरेका छन्।

वर्षाले बिग्रेर आउजाउ रोकिएका सडकमा यसरी नै क्रमिक सुधार गर्दै लाने योजना गाउँपालिकाले बनाएको अध्यक्ष रविप्रकाश राईले बताए। अध्यक्ष राईले समृद्ध साकेला निर्माण अभियानलाई यसरी नै साथ दिन गाउँबासी नागरिकसँग आग्रह गरेका छन्।

कच्ची सडक भएकाले वर्षायाममा पहिरो जाने, माथिबाट खसेको पहिरोले पुर्ने, हिलो र खाल्डाखुल्डी तथा पानी जमेर पैदल र सवारी आवागमन अवरोध गर्ने गरेको छ। सवारी आवागमन सञ्चालन गर्न तत्काल राज्यले बजेट नदिने र गाउँपालिकासँग पनि व्यवस्था नभएकाले श्रमदान अभियान चलाएर सडक सञ्चालन गरिएको अध्यक्ष राईले बताए। श्रमदान अभियानपश्चात् स्थानीय सडकहरूमा सवारी आउजाउ सहज भएको छ। केही दिनयताको लगातार श्रमदान अभियानपछि सबै वडासँग गाउँपालिका केन्द्रसम्म आउजाउ नियमित भएको छ।  

गाउँपालिका अध्यक्ष राईले साकेलालाई हरेक कुरामा व्यवस्थित बनाउँदै सुसंस्कृत, संस्थागत र समृद्ध बनाउने योजनाका साथ स्थानीय सरकारले काम गरिरहेको बताएका छन्, तर त्यो योजना पूरा गर्न आफूले मात्र चाहेर नहुने हुँदा सबै नागरिकले यसमा अग्रसर र जिम्मेवार भएर साथ दिनुपर्ने आग्रह उनको छ। गाउँबासी सबैले साथ सहयोग गरेमा गाउँपालिकाले देखेको समृद्धिको सपना पूरा गर्न धेरै कठिनाइ नहुने अध्यक्ष राई बताउँछन्।

घर, बस्ती, टोल र वडा हुँदै सिंगो गाउँपालिकाबासी आफैं सक्रिय भएर साथ दिएमा गाउँमा विकासको बाढी आउने ठम्याइ उनको छ। विकास र समृद्धि भनेको एउटाले मात्र गरेर नहुने हुँदा सबैको हातेमालो र साथ–सहयोगको खाँचो हुने भन्दै उनले गाउँपालिकाले भौतिक पूर्वाधार, सडक संरचना, शैक्षिक सुधार, सरसफाइलगायत कार्यमा सुरु गरेको विकास निर्माणमा नागरिक स्तरबाट साथ र सहयोगको अपेक्षा उनले गरेका छन्। यसरी एकजुट हुन सके समृद्ध साकेला निर्माणको नारा छिटै पूरा हुने विश्वास अध्यक्ष राईले लिएका छन्। 

प्रकाशित: ८ भाद्र २०८१ १३:३६ शनिबार

# District Coordination Committee Khotang