समाज

सुदूरपश्चिममा गौरा पर्व सुरु, घरघरमा आज बिरुडा भिजाइँदै

सुदूरपश्चिमेलीहरूको महान् पर्व गौरा आजदेखि सुरु भएको छ। सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा भव्य रुपमा मनाइने गौरा पञ्चमीदेखि सुरु हुने यो पर्वको शनिबार पहिलो दिन घरघरमा बिरुडा भिजाँइदै छ।

गौराको पहिलो दिन बिरुडा पञ्चमी, घरघरमा बिरुडा भिजाउने गरिन्छ। गहत, गुराउस, केराउ, मास र गहुँ मिसाएर बिरुडा भिजाउने चलन छ। केही समय पहिलेसम्म पहाडमा मात्रै मनाइने गौरा पछिल्लो समय तराईमा पनि भव्यताका साथ मनाउन थालिएको छ।

शनिबार भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा, तलाउ वा पोखरीमा लगेर धुने गरिन्छ। सोही दिन बिरुडा धुनुका साथै विभिन्न धार्मिक तथा प्राचीन महत्त्वसँग जोडिएका धार्मिक गाथा,  फाग, धमारी चाचरी, सगुना,देउडा लगायातका गीत/गाथा गाउनुका साथै भारी खेल खेलेर सुदूरबासी रमाउने गर्दछन्।

अमुक्ताभरण सप्तमीको दिन गौरालाई गौरा घरमा भित्र्याउने गरिन्छ। त्यो दिन व्रतालु महिलाहरूले साँझ गौरा घरमा गौराको पूजा गर्ने चलन रहिआएको छ।

सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा गौराको रौनक अझ बढी हुने गर्छ। बिरुडा भिजाइसकेपछि गणेश कलश स्थापना गरी आफ्नो कूल देवताको पूजा गर्ने तथा फाग गाएर गौरा पर्व मनाउने गरेको गौरामै विद्यावारिधि गरेका बासुदेव जोशीले बताए।

गौरा पर्वमा व्रतालु तथा श्रद्धालु महिलाहरूले गौराघरमा शिव र गौरीको पूजा अर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गर्दछन्। यस पर्वमा शिव र पार्वतीको प्रेम अनि विवाहको स्मरण गर्दै विधिपूर्वक शिव पार्वतीको पूजा आराधना गरेर महिलाहरूले व्रत बस्ने गर्दछन्।

त्यस्तै पुरुष महिलाहरूले ५ दिनसम्म गौरा महेश्वरको पूजाआजा गरी धमारी, फाग, देउडा जस्ता गीत गाउने र देउडा खेल्ने गर्छन्।

साङ्गीतिक पर्वको रूपमा पनि चिनिने यो पर्व शिव र गौरी अर्थात् गौराको पूजा आराधनाले मनोकांक्षा पूरा हुने, पारिवारिक सुख र सौभाग्य प्राप्त हुने मान्यता रहेको छ।

यस्तो छ सांस्कृतिक विशेषता

गौरा पर्वको विशेष धार्मिक र सांस्कृतिक महत्त्व छ। प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणहरूबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणलाई मारिदिएपछि विधवा भएकी ब्राह्मणीहरुले आफ्नो सतीत्व रक्षार्थ निराहार रही गरेको उपासनाको फलस्वरूप एक ब्राह्मणीले तेजिलो पुत्र लाभ गरिन्।

सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नुपरेकाले गौरीलाई सर्वशक्तिमान् सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउने धार्मिक प्रचलन रहेको संस्कृतविद्हरु बताउँछन्।

काम विशेषले घरबाहिर गएकाहरू पनि यस पर्वमा घर फर्किने हुँदा गौरा पर्वलाई आपसी सद्धभाव र एकताको पर्वका रूपमा पनि लिने गरिन्छ।

अहिले काम विशेषले विदेशिएका सुदरुपश्चिमेलीहरु पनि गौराका लागि भनेर घर फर्किनेको लर्को लाग्न सुरु भइसकेको छ।

बैतडी, दार्चुला, कैलाली र कञ्चनपुरका नाका भएर कामका लागि भारत गएकाहरू गौराका लागि फर्किने क्रम सुरु भएको हो।

प्रकाशित: ८ भाद्र २०८१ ०६:४२ शनिबार

#Far West Province #Gaura festival