समाज

सोनारी घटना: दोषीलाई कारबाही माग गर्दै गृहमन्त्रीलाई ज्ञापन पत्र

बाँकेको राप्ती सोनारीमा भएको धारिलो हतियार प्रहारको घटनामा संलग्नलाई दोषीलाई कारबाहीको माग गर्दै तरुण दल बाँकेले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ।

जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत तरुण दलले गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र पठाएको हो।

तरुण दल बाँकेका अध्यक्ष बीरेन्द्रबहादुर शाहले सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीलाई उक्त ज्ञापन पत्र हस्तान्तरण गरे।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ बिनौना स्थित चोकमा मुख छोपेर आएका व्यक्तिले गत शनिबार बेलुकी करिब साढे ७ बजेतिर धारिलो हतियार प्रहार गर्दा राप्ती सोनारी–२ का २८ वर्षीय सन्दिप विष्ट र बैजनाथ–७ प्रशुरामपुरका २८ वर्षका सुलभ मल्ल घाइते भएका थिए।

घाइते दुवैको भारतको लखनउमा उपचार भइरहेको छ। घटनामा संलग्न रहेको आरोपमा एमाले निकट युवा संघ नेपाल बाँकेका अध्यक्ष समेत रहेका राप्ती सोनारी–२ का वडाअध्यक्ष ‘ज्ञानु’ भनिने ज्ञानेन्द्रराज ओली, सोही ठाउँका नारायण डाँगी लगायतलाई बाँके प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चलाएको छ।

पक्राउ परेका व्यक्तिलाई राजनीतिक दबाबमा उन्मुक्ति दिन खोजिएको, मुद्दा कमजोर बनाउने प्रपञ्च भइरहेको र घटनामा संलग्न केही व्यक्तिहरू अझैपनि फरार रहेकाले पीडितलाई न्याय दिनुपर्ने तरुण दलको माग छ। घटनामा संलग्नलाई बचाउने प्रयास गरिए तरुण दल चुप लागेर नबस्ने चेतावनी दिइएको छ।

ज्ञापन पत्र बुझाउने क्रममा नेपाली कांग्रेस बाँकेका सचिव सुधान्सु कोइराला, तरुण दल बाँकेका अध्यक्ष बीरेन्द्रबहादुर शाह, तरुण दल क्षेत्र नम्बर २ का अध्यक्ष धनराज बर्मा, तरुण दल नेपालगन्ज उपमहानगर अध्यक्ष संदिपजंग शाह, पीडित परिवारका तर्फबाट संदिपकी आमा र पत्नी तथा सुलभकी पत्नीले दोषीलाई कानुनी सजाय हुनुपर्ने माग गरेका थिए। ज्ञापत्र पत्र बुझाउनु अघि नेपाली कांग्रेस बाँकेको कार्यालय अगाडीबाट तरुण दलले प्रदर्शन सुरु गरेको थियो। 

प्रकाशित: ७ भाद्र २०८१ १७:०९ शुक्रबार