समाज

सरकारी सेवा टोल–टोलमा

खोटाङको साकेला गाउँपालिका ३ नं. वडाले हरेक गाउँका टोलसम्म पुगेर सरकारी सेवा दिन थालेको छ। गाउँबासी नागरिकको समस्या वस्तीस्तरसम्मै पुगेर समाधान गर्ने उद्देश्यले वडाका टोल–टोल पुगेर सरकारी सेवा प्रवाह गर्न थालिएको हो।

सेवा प्रवाह गर्न जनप्रतिनिधि कर्मचारी र प्राविधिकसहितको टोली टोलटोल पुगेको छ। सरकारी सेवा दिन ३ नं. वडा खिदिमाले बिहीबारदेखि घुम्ती शिविर सुरु गरिएको जनाइएको छ। टोलीले सामाजिक सुरक्षा भत्ता नवीकरण, स्वास्थ्य परीक्षण, मालपोत कर सङ्कलन तथा नागरिक्ता, प्रतिलिपि, नाता प्रमाणितलगायत विविध सिफारिस दिने काम थालेको हो।

वर्षायाममा सडक बाटो खराव भएका कारण वडा कार्यालयसम्म धाउन कठिनाई भएकाले गाउँ टोलबाटै सेवा उपलब्ध गराउन घुम्ती शिविर आयोजना गरिएको वडाध्यक्ष गोविन्द तामाङले बताए। उनका अनुसार एउटै वडामा ४ दिनसम्म शिविर सञ्चालन गर्ने योजना रहेको छ। जसअनुसार पहिलो दिन पुङमा, किवा, बोरा र मखमले टोलमा शिविर सञ्चालन सम्पन्न भएको छ।

दोस्रो दिन शुक्रबारको शिविर तावाभञ्ज्याङ, लामीडाँडा र सोल्मामा आयोजना गरिने छ भने तेस्रो दिन शनिबार हात्तिसुँडे, कोक्रा र सौरेमा चलाइने छ। अन्तिम दिन आईतबारको शिविर ढाँडे र बोपुङमा सञ्चालन गरी सरकारी सेवा प्रवाह गर्ने योजना रहेको वडा सचिव राईले बताए।

भौगोलिक विकटताका कारण सानो काम लिन पनि दिन माया मारेर, पैसा र समय खर्चेर वडा कार्यालय पुग्नुपर्ने अवस्था रहेकाले शिविर सञ्चालन गरिएको हो। वडाका कर्मचारी र जनप्रतिनिधि सम्मिलित टोली टोलटोल खटाएर सेवा प्रवाह गर्न थालिएको वडाध्यक्ष तामाङले बताएका छन्। वडा सचिव सुवास राईका अनुसार भुईतहका वडाबासीको सेवा प्रवाहलाई चुस्त र सहज बनाउन शिविर सञ्चालन गरिएको हो। 

यसबाहेक वृद्धबृद्धा, अशक्त र शारीरिक अपाङ्गता भएका नागरिकलाई वडाा कार्यालयसम्म धाउनुपर्ने समस्या समाधान भएको पनि उनले बताए। लाभग्राहीहरुलाई टोलबाटै सामाजिक सुरक्षाभत्ता पट्टा नविकरण गर्न यसले अझ बढी सहयोग गरेको उनले बताए।

त्यसैगरी जग्गाको तिरोतिर्न नपाएर जरिवानामा परेका सर्वसाधारणलाई पनि यसले ठूलो राहत महसुस गराएको छ । शिविरलाई बहुपयोगी बनाउन सबैखाले सेवासहितको एकीकृत  टोली परिचालन गरिएको छ । यस्ता सेवा लिन नागरिकलाई कुनै प्रकारको झण्झट नहोस् भनेर एकीकृत शिविर सञ्चालन गरिएको सचिव राईले बताए।

पहिलो दिनको शिविरमा ५५ जना सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने सेवाग्राही लाभान्वित भएका छन्। त्यस्तै, १ सय घरधुरीले मालपोत कर बुझाएका छन् भने सामान्य प्राथमिक उपचार र सुगर (मधुमेह) र प्रेसर (रक्तचाप) परीक्षण गराउनेको संख्या ६५ जना रहेको सचिव राईले बताए। ३५ जनाले स्वास्थ्यसम्बन्धी परामर्श सेवा प्राप्त गरेको स्वास्थ्य चौकी खिदिमाका प्रमुख कमल फुयालले जानकारी दिए।

साकेला गाउँपालिका प्रमुख रवि प्रकाश राईले नागरिकलाई सहज सेवा दिन वडा कार्यालयले थालेको यो काम सराहनी भएको भन्दै प्रशंसा गरेका छन्। उनले आवश्यकता अनुसार गाउँपालिकाले पनि बेलाबेलामा गाउँटोलसम्मै पुगेर सेवा प्रवाह गर्न घुम्ती शिविर सञ्चालन गर्दै आएको बताए। 

नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्नका लागि जस्तोसुकै कठिनाईपूर्ण काम गर्न पनि साकेला गाउँपालिका तयार रहेको भन्दै त्यही अनुसार वडाले यस्तो कदम चालेकोमा खुसी व्यक्त गरे।  

साकेलालाई डिजिटल गाउँपालिका निर्माणको कदम चालिसकेको भन्दै अध्यक्ष राईले यो योजना सफल भएपछि नागरिकले घरै बसेर सबैखाले सेवा लिन सक्ने बताए। ‘हामीले साकेलालाई डिजिटल गाउँपालिका बनाउने काम सुरु गरिसक्यौँ’ अध्यक्ष राईले भने ‘यो योजना पुरा भएप्छि कुनै पनि सरकारी सेवा प्राप्त गर्न नागरिकले गाउँपालिका धाईराख्नु पर्दैन, घरमै बसेर सेवा लिन सक्ने वातावरण बन्छ।’

डिजिटल गाउँपालिका बनाएपछि अहिले व्यहोर्नु परेको झन्झटबाट सबै मुक्त हुने उनको बुझाई छ। गाउँपालिकाले गतवर्ष निर्माण गरेको ‘आवधिक योजना’ अनुसार यस्तो कदम चालिएको हो। डिजिटल गाउँपालिका निर्माण योजनालाई प्रमुख प्राथमिकता दिएर काम भईरहेकाले छिट्टै यसले पूर्णता पाउने अपेक्षा पनि उनले गरे।

त्यसले गाउँपालिका र वडा कार्यालयबाट प्राप्त हुने सबैखाले सरकारी सेवा लिन घरै बसिबसी सक्नेछन्। कुनै पनि सिफारिस, व्यक्तिगत घटना दर्ता, राजश्व र कर तथा अन्य जुनसुकै सेवा डिजिटल गाउँपालिका निर्माण भएपश्चात घरमै बसेर निश्चित फर्म भरेपछि प्राप्त गर्न सकिने अध्यक्ष राईले बताए।

प्रकाशित: ७ भाद्र २०८१ १३:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App