समाज

थामेको विपत् व्यवस्थापन गर्न तीन क्षेत्र वर्गीकरण

जलवायुजन्य बाढीले तहसनहस पारेको थामेको विपत्ति व्यवस्थापन गर्न गाउँपालिकाले तीन क्षेत्र निर्धारण गरेको छ। खुम्बु पासाङल्हामु गाउँपालिकाले व्यक्तिगत राहत, संस्थागत व्यवस्थापन र पर्यटकीय क्षेत्र सुधार गरी तीन शीर्षकमा छुट्याएर बाढीले क्षति पुर्‍याएका संरचनाको व्यवास्थापन गर्न लागेको हो।

व्यक्तिगत, संस्थागत र पर्यटकीय क्षेत्र तथा संरचना सुधार शीर्षकमा गाउँपालिकले विपत्लाई व्यवस्थापन गर्ने कार्ययोजना बनाएको खुम्बु गाउँपालिका ४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले बताए। ‘गाउँपालिकाले विपत्को प्रभावकारी व्यवस्थापन गर्न तीन क्षेत्रमा विभाजन गरेर काम गर्ने योजना बनाएको छ।’

वडाअध्यक्ष अधिकारीले भने, ‘यसरी विभाजन गरेका काम गर्दा सजिलो, प्रभावकारी हुन्छ। न्यूनतम जनशक्ति र समयमा अधिकतम काम गर्न सकिन्छ ।’ उनले जति छिटो र प्रभावकारी काम गर्न सकियो त्यति प्रभावित गाउँ र समाजलाई सजिलो हुने बताए।

पूर्वाधार र पर्यटकीय क्षेत्र सुधारअन्तर्गत बाटो, पुल, विद्युत्, सञ्चार, नर्सरी लघु जलविद्युत् आयोजना लगायतका संरचना तथा क्षेत्र रहेका छन्। यसमा बाढीले बिगारेका बाटो, भत्काएका पुल, फूलविरूवा भएका नर्सरी र सञ्चार संरचनाहरू रहेका छन्। यी पूर्वाधार जतिसक्दो छिटो निमार्ण गर्न सके त्यहाँको जनजीवन व्यवस्थापनको लागि सहज हुने गाउँपालिकाले जनाएको छ।

बाढीले गाउँ नै क्षतिग्रस्त बनाएपछि विद्युत् र सञ्चार रोकिएकोमा हालसम्म पनि थामेमा सञ्चार र विद्युत् सेवा अबरूद्ध छ। गाउँमा विद्युत् र सञ्चार अवरूद्ध भएपछि त्यहाँको पछिल्लो जनजीवन थप कष्टकर भएको गाउँपलिकाले बताएको छ।

आकस्मिक स्वास्थ्य सेवा चाहिने स्थानीयलाई हेलिकप्टर चार्टर गरेर काठमाडौं ल्याउनुपर्ने अवस्था आएको वडाअध्यक्ष अधिकारीले बताए।

यस्तै संस्थागततर्फ अस्पताल, विद्यालय, क्लिनिक, होस्टल जस्ता संरचनाहरू रहेका छन्। अत्यावश्यक र आकस्मिक सेवा रहने यस्ता संरचनालाई गाउँपालिकाले विशेष क्षेत्र भनेर छुट्याएर काम गर्ने भएको छ।

गाउँको अस्पताललाई पुनर्निमार्ण गर्ने, उपचार सेवालाई निरन्तरता दिने, आकस्मिक स्वस्थ्य सेवा दिनुपर्नेलाई समेट्ने, बढीले क्षति पु¥याएका स्कुलको पढाइलाई निरन्तरता दिने लगायतका विषयहरूमा यस क्षेत्रको योजनाको विशेष काम र पहल हुने पालिकाले जनाएको छ।

यसै क्रममा थामेमा अध्ययन गरिरहेका विद्यार्थीलाई खुम्बुमा स्थानान्तरण गर्ने तयारी भइरहेको वडाअध्यक्ष अधिकारीले बताए। यस्तै व्यक्तिगत क्षेत्रअन्तर्गत व्यक्तिगततर्फ प्रत्येक घरधुरी र उनीहरूको नष्ट भएका सम्पत्तिको लेखाजोखा, सहयोग लगायतका विषय रहेका छन्।

गत शुक्रबार आएको बाढीले ५४ वटा घरधुरी रहेको थामे गाउँका १५ घरहरूमा पूर्णरूपले क्षति भएको थियो। थामेभन्दा उपल्लो क्षेत्रका हिमताल फुटेपछिको बहाबले हिलोमाटो र ढुंगासहित (गेग्य्रान) बगाएर ल्याउने क्रममा १५ घरसहित, पाँच वटा होटल, एक पुल, एक विद्यालय, एक होस्टेल, एक क्लिनिक र लघु जलविद्युत् आयोजनालगायतका संरचनाहरू नष्ट भएको थियो।

यस्तै बाढीको बहावले सो क्षेत्रको अन्य भौतिक संरचनामा समेत व्यापक क्षति भएकोे छ। स्थानीय सरकार, प्रशासन र स्थानीयबासीले सो क्षेत्रमा विपत् परेकालाई सहयोग र उद्धारकार्य गरिरहेका छन्।

यसै क्रममा गाउँपालिकाले बाढीका कारण पूर्णरूपमा क्षति भई बिस्थापित भएका १५ परिवारलाई तत्काल बसोवासको व्यवस्थापनको लागि प्रतिपरिवार ५० हजार रूपैयाँ र आंशिक क्षति भई विस्थापन भएका ३० घर परिवारलाई प्रतिपरिवार १० हजार राहत वितरण गरेको छ। साथै नेपाल सरकार गृह मन्त्रालयले बाढीका कारण पूर्णरूपमा क्षति भई विस्थापन भएका प्रत्येक परिवारलाई १५ हजार रूपैयाँ वितरण गरेको छ।

गाउँपालिकाले हालसम्म बाढीको तत्काल, व्यक्तिगत र संरचनागत व्यवस्थापन गर्न ५० लाख रूपैयाँ वितरण गरिसकेको जनाउँदै वडाअध्यक्ष अधिकारीले कोषमा थप ५० लाख रूपैयाँ संकलन गरिसकेको बताए।

यस्तै उनले अन्तर्राष्ट्रिय समुदायसँग पनि बाढीको क्षतिपूर्तिको माग गर्न पहल भइरहेको बताए। आकस्मिक तवरले हिमाताल फुटेर गाउँनै बगाउने बाढी आउनु जलवायु परिवर्तनको असर भएको बताए। उनले जलवायुजन्य क्षतिको नैतिक जिम्मेवारी अन्तर्राष्ट्रिय समुदायले पनि लिनुपर्ने र सरकारले पनि यस विषयमा सोच्नुपर्ने पनि उनले बताए।

यसै क्रममा गाउँपालिकाले बाढीको विपत्तिलाई सामना गर्न राहत, पुनः स्थापना तथा पुनः निर्माणका लागि सहयोगको अपिल पनि गरिरहेको छ। आवासीय एवम् व्यावसायिक भवनहरू बाढीले बगाएको र कैयौं घरहरू कटानको जोखिममा रहेका कारण प्रभावित व्यक्तिहरू र संरचना पुनः निर्माणको लागि धेरै रकम आवश्यक पर्ने भएकाले गाउँपालिकाले राहत तथा पुनः स्थापना लगायतका कार्यका लागि सरकारी, गैरसरकारी, व्यक्तिगत तथा संस्थागत रूपमा आर्थिक सहयोगको अपिल समेत गरेको छ। सहयोग रकम भने गाउँपालिकाले एकद्वारा प्रणालीबाट गर्ने निर्णय गरेको पालिकाले बताएको छ। 

प्रकाशित: ६ भाद्र २०८१ १०:२२ बिहीबार

# Thameko bipat byasthapan #Institutional Management