समाज

बाणगंगा नगरपालिकाका २ सय बढी घर डुबानमा

सोमवार राति देखि परेको अविरल वर्षाका कारण कपिलवस्तुको बाणगंगा नगरपालिकाको चार नम्बर  बैरिया र पिपरा क्षेत्रका २ सय बढी घरहरू डुबानमा परेका छन्।

स्थानीय तथा पत्रकार महासंघका जिल्ला उपाध्यक्ष हरि अधिकारीले त्यस क्षेत्रमा पर्ने  घर बस्ती र सडक डुबानमा परेको बताए । बैरियाको बाल मावि समेत डुबानमा पर्दा मंगलबार विद्यालय समते बन्द गरिएको छ। यस्तै बैरियामा रहेको ओसियन सिनेमा घरमा समेत पानी पसेको छ । पिपरामा रहेको सब डिभिजन कार्यालय पिपरा समेत डुबानमा छ । खाेला, नालीको  पानी सडक र घरमा पुगेको छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल रायमाझीले बाणगंगाको चार नम्बर, बैरिया, पिपरा लगायतका क्षेत्रका सडक, घर बस्तीमा पानी पसेको बताए । 

चार नम्बरको रहेको लुम्बिनी कृषि फर्ममा पानी पसेको छ । पानी पस्दा लाखौँको नोक्सान भएको सञ्चालकले बताए । अविरल वर्षाले कोठी नदीको पानी सडकमा समेत पुग्दा राजमार्ग क्षेत्र समेत डुबानमा परेको छ । बाणगंगा नगरपालिकाका मेयर चक्रपाणि अर्यालले चार नम्बर चोक, पिपरा र बैरिया क्षेत्रका घरहरू डुबानमा परेको बताए । 

उनले फ्रिडम फाउन्डेसनमा बसेको ३५ बढी युवाहरूलाई बारको सामुदायिक भवनमा राखिएको बताए । यस्तो बिपतका बेला सुरक्षित रहन आग्रह गरेका छन् । डुबानमा परेकाहरूको नगर बिपद व्यवस्थापन समिति मार्फत आवश्यक प्रक्रिया अघि बढाइने बताए । उनले वडाध्यक्ष मार्फत क्षतिको संकलन गरी राहत बाँडिने बताए । 

उता बाणगंगा नदीमा फसेका १५ बढीको सुरक्षाकर्मीले सकुशल उद्धार गरेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए । यस्तै घरमा पानी पसेका फसेका ७ जनाको सशस्त्र प्रहरी टोलीले सकुशल उद्धार गरेको सशस्त्र प्रहरी उपरिक्षक रामजंग पाण्डेयले बताए ।  

प्रकाशित: ४ भाद्र २०८१ २१:१८ मंगलबार

#flood #heavy rain #Banganga Municipality