समाज

चन्द्रमामा भुइँचालो

यस्ताे पनि!

पृथ्वीमा त टेक्टोनिक प्लेटका कारण नियमित रूपमा भुइँचालो जाने गरेको हामी सबैलाई थाहा भएकै कुरा हो तर चन्द्रमामा पनि भुइँचालो जाने गरेको खुलासा हालै नासाले गरेको छ।

नासाको अपोलो चन्द्र अभियानका अवधिमा दशकौँदेखि खिचिएका हजारौँ तस्वीरहरूको विश्लेषण गर्दा त्यहाँको भूसतहमा आएको परिवर्तन देखिएको हो। सो परिवर्तन अरू केही नभएर त्यहाँ नियमित रूपमा जाने भूकम्पका कारण भएको वैज्ञानिकहरूको मत छ।

‘पहिले चन्द्रमामा भूकम्प जान्छ भन्ने सोचिएको थिएन,’ टोक्यो विश्वविद्यालयका प्राध्यापक केसुके ओनोडेरा भन्छन्, ‘२२ हजार तस्वीरहरूको अध्ययनपछि त्यहाँ पनि नियमित रूपमा भूकम्प जाने कुरामा हामी विश्वस्त भएका हौँ।’

उनको सो अध्ययन विश्लेषण गत जुलाई महिनामा जर्नल अफ जियोफिजिकल रिसर्चः प्लानेट्समा प्रकाशित भएको हो। चन्द्रसतहमा भूकम्प जाने वा नजाने भन्ने विषयमा अध्ययन गर्न अपोलो अभियानले त्यहाँ मेसिन जडान गरेको थियो।

सो सेस्मिक मेसिनले सन् १९६९ देखि १९७७ सम्म आएका भूकम्पहरूको झट्का मापन गरेको थियो। त्यो बेला हातैले सेस्मिक झट्काहरूको मापन गर्नुपर्ने भएकाले तिनका बारेमा यकिनका साथ कसैले भूकम्पको घोषणा गर्न नसकेको अध्ययनमा संलग्न चन्द्रभूकम्प अभियान क्यालिफोर्नियाकी सेरी नुन बताउँछिन्। त्यसैले गत वर्ष मात्र ओनोडेराले आफ्नो ध्यान चन्द्रमाको भूकम्पतर्फ मोडेका थिए। त्यो बेलाको पुरानो तथ्यांकहरू अध्ययन गर्दा ओनोडेराले २२ हजारभन्दा बढी भूकम्पको झट्का पत्ता लगाएका थिए।

नासाले पछिल्लो समय जानाजान ठूलाठूला रकेटहरू त्यहाँ फ्याँकेर चन्द्रसतहमा आउने परिवर्तन पत्ता लगाउने प्रयास गरिरहेका छन्। ती हलचल पनि ओनोडेराको अध्ययनले देखाएको छ। ती र सन् १९७७ सम्मका झट्काबीच धेरै फरक पनि देखिएको छ। यसअघि आठ वर्षे अवधिमा चन्द्रभूकम्प कति वटा गयो भनी विश्लेषण गर्दा जम्मा २८ वटा घटना मात्र दर्ता गरिएको थियो। ओनाडेराले ४६ भन्दा बढी महत्त्वपूर्ण भूकम्प गएको दाबी गरेका छन्।

ओनाडेराका अनुसार अधिकांश भूकम्प चन्द्रमाको उत्तरी भेगमा बढी जाने गरेको छ। चन्द्रमाको सतहमा चारैतिरबाट सघन तŒव प्रवेश गर्दा त्यहाँ कम्पनहरू उत्पन्न भएको हुनसक्ने वैज्ञानिकहरूको मत छ। यसबारेमा अझै अध्ययन बाँकी रहेको समेत वैज्ञानिक ओनाडेरा बताउँछन्।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: ४ भाद्र २०८१ ११:५१ मंगलबार

# Yasto Pani! #An earthquake on the moon