समाज

एक पक्राउ, तीनजनाविरुद्ध पक्राउ पुर्जी जारी

अर्घाखाँची चुनढुंगा किर्ते प्रकरण

फाइल तस्वीर

भूमिकास्थानमा रहेको चुनढुंगा उत्खनन अनुमतिपत्र नक्कली प्रकरणमा एकजना पक्राउ परेका छन्।

भूमिकास्थान नगरपालिका–९, पातले खोलामा रहेको चुनढुंगा उत्खननको अनुमति पत्र नक्कली रहेको भन्दै नगरपालिका प्रमुख झविलाल थापाले प्रहरीमा उजुरी दिएपछि छानबिन गर्न प्रहरीले कम्पनीका प्रतिनिधि नवाफ अलीलाई पक्राउ गरेको हो।

कपिलवस्तुको कृष्णनगरमा रहेको विजया सिमेन्ट्स प्रालिले २०८० फागुन १४ गते खानी तथा भूगर्भ विभागबाट चुनढुंगा उत्खननको अनुमति–पत्र पाएको थियो। गत २०८० मंसिर ५ गते नगरपालिकाले खानी तथा भूगर्भ विभागलाई स्वीकृतिसहितको आशय पत्र पठाएको देखिन्छ, तर नगर प्रमुखले यसलाई किर्ते भन्दै आएका छन्।

आफूले कुनै प्रकारको पत्र नदिएको र कागजपत्र नक्कली रहेको उजुरी दिएपछि प्रहरीले छानबिन थालेको हो। मेयर थापाको हस्ताक्षरसहितको पत्र खानी विभागमा पुगेपछि खानी विभागले अनुमति–पत्र (लाइसेन्स) प्रदान गरेको थियो। नगरको लेटरप्याड र मेयरको हस्ताक्षर सबै नक्कली रहेको नगरले दाबी गर्दै आएको थियो।

मेयरको हस्ताक्षर नक्कली नै रहेको पुष्टि भएको छ। काठमाडौंस्थित विधि विज्ञान प्रयोगशालामा गराएको जाँचमा खानी विभागमा पुगेको पत्रको हस्ताक्षर मेयरको नभएको पुष्टि भएको हो। हस्ताक्षर भिडाउँदा नमिलेको विधि विज्ञान प्रयोगशालाले बताएको छ।

मेयरको दाबी सही भएपछि प्रहरी थप अनुसन्धान अघि बढाएको छ। विजया सिमेन्ट्स प्रालिका प्रतिनिधि नवाफ अलीलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रहरीमा आफैं आएका थिए।

तीनजनाविरुद्ध पक्राउ पुर्जी जारी, सबै सम्पर्कविहीन

चुनढुंगा उत्खनन अनुमति–पत्र नक्कली प्रकरणमा थप अनुसन्धान गर्न भन्दै तीनजनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पक्राउ परेका अलीले बयानका क्रममा आफूलाई नगरको अनुमतिसहितको पत्र दिएको बताएपछि तीनजनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसी, भूमिकास्थान नगरपालिका– ४ का वडाध्यक्ष बाबुराम पन्थी सुनार र जागृत केसीका नाममा पक्राउ पुर्जी जारी भएको स्रोतले जनाएको छ। उनीहरू अहिले सम्पर्कविहीन छन्।

जिल्लाका हाइप्रोफाइलको नाम जोडिएपछि यो प्रकरणले चर्चा पाएको छ। नगर प्रमुख झविलालकै पार्टीका जिल्ला अध्यक्षसहित नेताहरूको नाम मुछिएपछि उनलाई नैतिक दबाब परेको छ।

घटना कसरी सुरु भयो ?

कपिलवस्तुको कृष्णनगरस्थित विजया सिमेन्ट्स प्रालिले २०८० फागुन १४ गते खानी तथा भूगर्भ विभागबाट चुनढुंगा उत्खननको अनुमतिपत्र पाएको थियो। पटकपटक प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) गरेको कम्पनीले २०७९ पुस ७ गते भूमिकास्थान–९ का वडाध्यक्ष खेमराज चुँदालीको अध्यक्षतामा प्रभावित क्षेत्रमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको थियो, जसमा त्यहाँका एक सय १४ जनाको उपस्थिति रहेको माइन्युटमा देखिन्छ।

त्यसको भोलिपल्टै पुस ८ गते वडा कार्यालयले काम गर्न मिल्ने गरी आशयपत्र दिएको थियो। नगरपालिकाको कार्यालयले यही २०८० मंसिर ५ गते खानी तथा भूगर्भ विभागलाई आशयपत्र पठाएको देखिन्छ।

मंसिर ५ गते नगरपालिकाको लेटरप्याडमा नगर प्रमुख थापाको हस्ताक्षरसहितको पत्र विभागलाई गएको छ। खानी तथा भूगर्भ विभागलाई नगरले सिफारिस गरी पठाएको पत्रमा दर्ता/चलानी नम्बर ५८५ छ। यता नगरपालिकाको दर्ता/चलानी किताबमा ५८५ नम्बरमा संघीय खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयलाई पठाएको पत्र छ।

अर्को रोचक कुरा के छ भने ५८५ नम्बरमा संघीय खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयलाई पठाएको पत्र सम्बन्धित कार्यालयमा दर्ता छैन। संघीय खानेपानीको कार्यालयमा उक्त व्यहोराको पत्र र त्यो चलानी नम्बरमा कुनै पत्र आएको देखिँदैन। विजया सिमेन्ट्स प्रालिले आफूहरू कानुनी बाटोमा जाने बताएको छ।

खानी तथा भूगर्भ विभाग, खानी अनुमति तथा प्रशासन शाखा (च.नं ९६) ले २०७९ साउन ८ गते वडा नम्बर ९ को सान्डेभा (पातले खोला) मा चुनढुंगा खोजतलास अनुमति क्षेत्र सीमित गरिएको पत्र पठाएपछि उत्पन्न विवाद झन्पछि झन् पेचिलो बनेको छ।

मेयर थापाले गत २०८० चैत २० गते कम्पनी र नवाफ अलीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए। अहिले आफ्नै नेताहरू मुछिएपछि उनीमाथि ठुलो दबाब छ। आफैंले दिएको उजुरीमा आफ्नै नेताहरूको नाम आएपछि यो प्रकरणले उनलाई नै पोलेको छ।

जनमोर्चाका नेताहरूले यो षड्यन्त्र भएको बताएका छन्। ठुला दलहरू मिलेर फसाउन खोजिएको उनीहरूले अभिव्यक्ति दिँदै आएका छन्। आफ्ना मान्छे जोगाउने र अन्य दललाई फसाउने प्रपञ्च भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन्।

प्रकाशित: ४ भाद्र २०८१ १०:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App