समाज

‘वातावरण संरक्षणमा तीन वटै तह जिम्मेवार बन्न आवश्यक’

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्दै वातावरण संरक्षणका लागि तीन वटै तह जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन।  

नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले आइतबार आयोजना गरेको कार्यक्रममा मन्त्री शाही ठकुरीले वातावरण संरक्षणका क्षेत्रमा तीनै तहका सरकारको जिम्मेवारीबोध गराउँदै प्रभावकारी कदम चाल्न गतिविधि स्थानीय तहसम्म पुर्‍याएर काम गर्नु पर्ने  आवश्यक रहेको उल्लेख गरे ।  

‘वातावरणको क्षेत्र ठूलो छ, काम गर्नका लागि पर्याप्त जनशक्ति छैन । छुट्टै वातावरण मन्त्रालय गठनको सम्भावना पनि छैन, अब यसैलाई स्रोत सम्पन्न बनाएर वातावरणका गतिविधिलाई स्थानीय तहसम्म फैल्याउनुपर्छ भन्ने मेरो मान्यता छ’, उनले भने ।

उनले शक्तिशाली राष्ट्रहरुले गरेको प्रदूषणका कारण नेपालले दुःख पाएको उल्लेख गर्दै क्षतिपूर्तिको लागि पहल गर्ने सरकारको तयारी रहेको जानकारी गराए । ‘सदावहार हिउँ देखिने ठाउँमा हिउँ देख्न पाइँदैन,अन्य मुलुकले गरेको प्रदूषणका कारणले हामीले दुःख पाइरहेका छौँ । यसको क्षतिपूर्तिका लागि हाम्रो प्रयास रहनेछ’, उनले भने ।

मन्त्री शाही ठकुरीले चुरे संरक्षण र विकासमा परेको असर न्यूनीकरणमा आफ्नो प्रयास रहने प्रतिबद्धता जनाए । कानुन निर्माण र कार्यान्वयनमा पहल भइरहेको र सिंहदरबारमा प्लास्टिक निषेध अभियान अगाडि बढिसकेको उनले बताए ।

मन्त्री ठकुरीले वन्यजन्तुको बासस्थान र आहारको व्यवस्थापन नहुँदा मानव–वन्यजन्तुबीचको द्वन्द्व बढेकाले त्यसतर्फ सरकारले ध्यान दिने बताए । उनले वातावरण संरक्षणका क्षेत्रमा हुने हरेक कार्यमा मन्त्रालय तहबाट नेफेज र रेडियो सगरमाथासँग निरन्तर समन्वय र सहजीकरण हुने बताए ।

नेपाल वातावरण पत्रकार समूहका अध्यक्ष रोशनी अधिकारीले मन्त्री शाहीको नेतृत्वमा वातावरण संरक्षणमा उल्लेखनीय सकारात्मक काम सम्पादन हुनुका साथै वातावरण संरक्षणका लागि प्रभावकारी ऐन तथा नीति नियमहरु बन्नेछन् भन्नेमा विश्वास व्यक्त गरिन । उनले वातावरणका मुद्दामा काम गर्नका लागि वन तथा वातावरण मन्त्रालयबाट आवश्यक सहयोग प्राप्त हुने अपेक्षा गरिएको बताइन ।

समूहका महासचिव सविन शर्माले समूहको स्थापना, समूहले गरेका काम, कार्यक्षेत्र, जलवायु परिवर्तनका कारण परेको असर,अहिलेको अवस्था र दीर्घकालीन सोचलगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

प्रकाशित: २ भाद्र २०८१ २१:०१ आइतबार

#Nepal Environment Journalists Group (NEFEJ) #Forest and Environment Minister Ain Bahadur Shahi Thakuri