समाज

पहिरोका कारण देशका कुनैपनि सडक दुई घण्टा बढी अवरुद्ध हुन दिदैनौँः मन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले देशका कुनैपनि सडक पहिरोका कारण दुई घण्टाभन्दा बढी अवरुद्ध नहुने बताएका छन्।

आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री दाहालले देशभरका जुनसुकै सडक खण्ड पहिरोका कारण दुई घण्टा भन्दा बढी अवरुद्ध नहुने बताएका हुन।उनले सडक अवरुद्ध भएको अवस्थामा सडक खुलाउन आवश्यक उपकरणहरू तयारी अवस्थामा रहेको भन्दै जहाँ पहिरो गए पनि तत्कालै सुचारु हुने व्यवस्था मिलाइएको बताए।

उनले नागढुंगा–मुग्लिन सडक खण्डमा पहिरोका कारण समस्या आइरहने भएकाले सो सडक खण्डलाई पहिलो प्राथमिकतामा राखिएको बताए । उनले सो सडक खण्डमा आइपर्ने समस्या समाधानका लागि मन्त्रालय तयारी अवस्थामा रहेको बताए। नागढुंगा–मुग्लिङ सडक खण्ड एक घण्टा भन्दा बढी समय अवरुद्ध हुन नदिइएको उनको भनाई छ।

मन्त्री दाहालले सवारी चालक अनुमति पत्र छपाइको काम प्रदेशलाई पनि दिइने बताए । उनले छपाइको लोडलाई कम गर्नका लागि सम्बन्धित प्रदेशमै छपाई गरेर वितरण गर्ने व्यवस्था मिलाइने बताए। चालकले अनुमति पत्र नपाउन्जेल सम्मका लागि प्रयोग गर्ने रसिदलाई गुणस्तरीय बनाउने पनि उनले जानकारी दिए ।

उनले नारायण घाट–बुटवल सडक खण्ड निर्माणको विषय सरकारको टाउको दुखाइको विषय बनिरहेको उल्लेख गर्दै समस्या समाधानका लागि प्रयास भइरहेको बताए । 

प्रकाशित: २ भाद्र २०८१ १७:५५ आइतबार

#Physical Infrastructure and Transport Minister Devendra Dahal