समाज

सात लागूऔषध कारोबारी सार्वजनिक

लागूऔषध कारोबारी सार्वजनिक गर्दै प्रहरी ।

सुनसरी कोशी गाउँपालिकाको लौकहीबाट प्रहरीले सात जना लागूऔषध कारोबारी पक्राउ गरि सार्वजनिक गरेको छ।

प्रहरीले शनिबार साँझ लागूऔषध खैरो हेरोइनसहित बराहक्षेत्र वडा नं-९ का ४५ वर्षे दिलबहादुर राई, सोही ठाउँका ४१ वर्षे नवीन कोइराला, इटहरी वडा नं-४ का २२ वर्षे शिवनाथ ठाकुर, २४ वर्षे रुपेश विश्वकर्मा, उदयपुर बेलका वडा नं-९ का कनकबहादुर खतिवडा, इनरुवा वडा नं-२ का १९ वर्षे लोकेन्द्र मण्डल र बराहक्षेत्र वडा नं-३ का ३६ वर्ष ओमबहादुर कार्कीलाई पक्राउ गरि सार्वजनिक गरेको हो। उनीहरुका साथबाट प्रहरीले १६.९३ मिलिग्राम खैरो हेरोइन बरामद गरेको छ।

लागूऔषध प्रयोगकर्ताको हिसाबले काठमाडौंपछि सुनसरी देशकै दोस्रो ठूलो जिल्लामा पर्छ। जसमा लागू औषधको कारोबारका लागि मुख्य डिलिङ हुने स्थान भने यातायातको मुख्य हब इटहरी नै हो।

लागू औषधको कारोबारमा संलग्नहरुका अनुसार इटहरीबाट पूर्वका गाउँबस्तीमा सबैतिर लागूऔषध खपत हुने गरेको छ। सुनसरीको लागूऔषध कारोबार हुने अन्य मुख्य केन्द्रमा धरान, इनरुवा, भान्टाबारी, झुम्का आदि रहेको प्रहरीले जनाएको छ।

सुनसरी क्षेत्रको कुनै नाकामा प्रहरीको सक्रियता बढ्यो भने लागूऔषध कारोबारीले रुट परिवर्तन गर्छन्। पछिल्लो समय सप्तकोशीको पूर्वी तटबन्ध क्षेत्रबाट बराहक्षेत्र हुँदै धरान र पहाडी जिल्लामा लागूऔषध खपत हुने गरेको पाइएको छ। खुल्ला सीमा नाकाको क्षेत्र बढी भएकाले गर्दा पनि यहाँ लागूऔषध भित्र्याउन सहज भएको प्रहरीको दाबी छ।

विशेष गरी लागु औषधको लतमा फस्नुको कारणमा आफूभन्दा सिनियरको सिको, रहर अनि बिस्तारै बानी बस्नु नै हो। यही ढंगले अधिकांश कुलतमा फस्ने गरेका छन्। कतिपय भने घरपरिवारको वातावरण बिथोलिएर मानसिक तनाव कम गर्ने निहुँमा पनि कुलतमा फस्ने गरेका छन्।

लागुऔषध सेवनकर्ताको हातखुट्टाको हड्डी चिलाउने, खानाप्रति रुचि नहुने लगायतका समस्या हुने गर्छन्। कसैकसैमा हातखुट्टा फ्याँक्ने, कराउने र निन्द्रा नलाग्ने समस्या पनि हुन्छ। यी समस्याले कुलतमा फसेकालाई पिरोलेपछि उनीहरु चिन्तामा डुबेर थप लागुऔषध सेवन र प्रयोगमा लाग्ने गरेका हुन्छन्।

प्रकाशित: २ भाद्र २०८१ १५:४२ आइतबार