सन् २०१२/०१३ मा १ कक्षामा १२ लाख ७६ हजार विद्यार्थी भर्ना भएका थिए। यी विद्यार्थीले सन् २०२२/०२३ मा एसइई दिनुपर्ने हो। तर, कक्षा दशसम्म आइपुग्दा ६० प्रतिशत विद्यार्थी बेपत्ता भइसकेका हुन्छन्। शिक्षा मन्त्रालयले सार्वजनिक गर्ने फ्ल्यास रिपोर्टका अनुसार, पछिल्लो दश वर्षमा कक्षा १ मा भर्ना भएका ७ लाख ६२ हजार ४ सय विद्यार्थीले बिचैमै पढाई छाडेका छन्।
सन् २०१२/०१३ मा कक्षा एकमा साढे १२ लाखभन्दा बढी विद्यार्थी भर्ना भएकोमा सन् २०२२/०२३ मा आइपुग्दा कक्षा दशमा भर्ना हुने विद्यार्थीको संख्या घटेर ५ लाख १३ हजार ६ सयमा झरेको तथ्याङ्क छ।
यसरी विद्यालयमा विद्यार्थीको घट्दै जानु चिन्ताको विषय रहेको काठमाडौं विश्वविद्यालय, स्कुल अफ एजुकेसनका डीन प्राध्यापक बालचन्द्र लुईटेल बताउँछन्। स्कुल तहमै बिचमा पढाई छोड्नु देशको शिक्षा लागि राम्रो नभएको उनको भनाइ छ।
‘हाम्रो शिक्षा कहाँ प्रयोग गर्ने थाहा छैन, अहिलेको पाठ्यक्रम नै त्यस्तो भएर हो कि ? यसमा अध्ययन गर्नुपर्ने छ’, भरतपुरमा प्राध्यापक तथा शिक्षकहरुलाई प्रशिक्षण दिँदै लुईटेलले भने ‘राज्यले यस विषयमा बेलैमा सोच्नुपर्ने छ।’
अनुभव जन्य सिकाइ नगरेका कारण शिक्षामा ओरालो लाग्दै गएको धारणा समेत उनले राखे। उनले जीवन उपयोगी शिक्षा प्रदान गर्नुपर्ने बताए। ‘अब विद्यालयमा शिक्षकले भविष्य दिने होइन, निर्माण गर्नुपर्छ। हाम्रो विश्वविद्यालय र विद्यालय शिक्षामा सही नेतृत्वको अभाव छ।’
स्कुल तहमा मात्र होइन एसइई दिएपछि एक लाख विद्यार्थी विदेश जाने गरेका छन्। विद्यार्थी रोक्न नसक्नुका कारणबारे राज्यले छिट्टै अध्ययन गर्नुपर्ने सप्तगण्डकी बहुमुखी क्याम्पसका प्राध्यापक वसन्त राज लामिछाने बताउँछन्।
‘अहिले कलेजमा प्रत्येक वर्ष विद्यार्थीको संख्या घट्दै गइरहेका छ। सयभन्दा कम विद्यार्थी भएका कलेज पाँच सयभन्दा बढी छन्। दुई सय भन्दा कम विद्यार्थी भएका कलेज आठ सय नाघिसकेँ’, लामिछानेले भने ‘के कारणले विद्यार्थी घटिरहेका छन् ? कहाँ कमजोरी छ ? यसलाई अध्ययन गरेर राज्यले समाधान गर्न तर्फ लाग्नुपर्दछ।’
उनका अनुसार विसं २०६५ सालबाट क्याम्पसहरूमा विद्यार्थीको संख्या घट्न थालेको थियो। तर, २०७२ को भूकम्प र कोरोना महामारीपछि विद्यार्थीको संख्या क्याम्पसहरूमा निकै घटेको उनले बताए। विद्यार्थीको घट्दो संख्या रोक्न सरकारले पहल नगरे देशको अवस्था झन् झन् बिग्रन सक्ने उनको अनुमान छ।
विश्वविद्यालयमा पनि विद्यार्थीको पढाइ छाड्ने क्रम बढ्दै गएको र नतिजा पनि खस्कँदै गएको विभिन्न अनुसन्धानका तथ्यहरू समेत कार्यक्रममा प्रस्तुत गरिएको छ। क्याम्पसहरूमा वार्षिक परीक्षा प्रणालीमा भर्ना भएका विद्यार्थी मध्ये ५० प्रतिशत बढीले बीचमा नै पढाइ छाडेर विदेश जाने गरेको पाइएको छ। विद्यार्थीको उत्तीर्ण दरसमेत खस्कँदो छ। यसपटकको एसइईमा ४८ र कक्षा १२ मा ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। यसले पनि नेपालको शिक्षाको अवस्था देखाएको छ।
कृषि तथा वन विश्वविद्यालयकी रजिष्टार प्राध्यापक डा. शारदा थपलियाले विद्यार्थीहरू नेपालमा नबस्ने चिन्ताको विषय भएको बताइन्। शिक्षामा रुपान्तरणको खाँचो रहेको विचार राखिन्। बजारको माग अनुसारको पाठ्यक्रम निर्माण गर्नुपर्ने बताइन्।
वीरेन्द्र बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक डा.दायाराम पौडेलले व्यवस्थापनमा कमजोरी देखिएकोले विश्वविद्यालयहरु पछाडि परेको बताए।
उनले सरकारी विद्यालयमा शिक्षक र सेवा सुविधा राम्रो हुँदा पनि उत्कृष्ट नतिजा नआउनु र बोर्डिङ स्कुलमा राम्रो नतिजा आउनु व्यवस्थापनकै कारणले भएको विचार राखे।
प्रकाशित: १ भाद्र २०८१ २०:४६ शनिबार