समाज

नेपाल विद्युत् प्राधिकरणका चुनौती र प्रगति

विकास

विभिन्न आरोह–अवरोहहरू पार गर्दै आफ्नो कार्यकालको ३९ वर्ष पार गरेको नेपाल विद्युत् प्राधिकरणको स्थापना २०४२ साल भदौ १ गते भएको हो। विद्युत् उत्पादन, प्रसारण र वितरणलाई सक्षम, भरपर्दो र सर्वसुलभ गरी विद्युत् आपूर्तिको समुचित व्यवस्था गर्ने उद्देश्यले स्थापित यस संस्थानलाई हिजोआज यत्रतत्र सर्वत्र प्रशंसा गरिएको छ।

पटकपटकको राजनीतिक अस्थिरता, आर्थिक अभाव, विकट र जटिल भौगोलिक अवस्था, आयोजना निर्माणको प्रशासनिक ढिलासुस्ती (जग्गा अधिग्रहण, रुख कटान अनुमति, मुआब्जा विवाद आदि), सामाजिक सांस्कृतिक संरचना तथा सद्भावको दूरगामी व्यवस्थापन लगायत विविध चुनौतीहरू छिचोल्दै आएको नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समयमा प्रगति पथमा गतिमान हुँदा जनताको मन जित्न सफल भएको छ। त्यसैले आज प्राधिकरण हामी सबैको गौरवशाली संस्था बन्न पुगेको छ।

बहुआयामिक शक्तिका रूपमा सुपरिचित विद्युत् शक्तिबाट मुलुकमा अन्तर आबद्धता विकाससँगै परिवर्तन र समृद्धिको मार्ग प्रशस्त गर्न सकिने भएकाले यो मुलुकको सर्वाङ्गीण विकासको पूर्वसर्त मानिएको छ।

उक्त शक्ति सिर्जना गर्ने नेपाल विद्युत् प्राधिकरण मुलुकमा विकास निर्माण र परिवर्तनको संवाहक हो। मुलुकमा विद्यमान ४४ वटा सार्वजनिक संस्थानमाझ यो सर्वाधिक ठुलो रोजगारदाता पनि हो।

आज सूचना तथा सञ्चार प्रविधिको अत्युत्तम उपयोगको प्रभावका कारण मुलुक डिजिटल युगमा प्रवेश गरेको छ। यस्तो युगमा प्रवेश गराउने प्रस्थान बिन्दु पनि विद्युत् नै हो।

पेट्रोलियम इन्धनको भरपर्दो विकल्पका साथै उज्यालो नेपाल र डिजिटल नेपाल निर्माणको पूर्वसर्त पनि भएकाले विद्युत् आम नागरिकको चासो अनि आशा, भरोसा र विश्वासको सेवा बनेको छ। १९६८ सालमा फर्पिङको चन्द्रज्योति पावर हाउसदेखि सुरु भएको विद्युतीय यात्रामा नेपालले हाल तीन हजार एक सय ५७ मेगावाट जडित विद्युत् उत्पादन गर्ने क्षमता राखेको छ। निजी क्षेत्रका आयोजनाहरूलाई प्रोत्साहन गर्न लिइएका नीतिका कारण हाल १० हजार तीन सय मेगावाटभन्दा बढीको विद्युत् खरिद सम्झौता पनि भएको छ।

सरकारी, निजी तथा साझेदारी माध्यमबाट आर्थिक वर्ष सन् २०२८/२९ सम्ममा नेपालको विद्युत् जडित क्षमता झन्डै १० हजार मेगावाट पुर्‍याउने प्रक्षेपण गरिएको छ। विद्युत्को यो अविरल यात्रामा मौजुदा उत्पादनको परिमाण अपेक्षा गरेअनुरूपको त होइन, तथापि राष्ट्रका झन्डै ९९ प्रतिशत जनताले विद्युत् सेवा उपभोग गर्न पाएको विद्यमान अवस्था भने प्रशंसनीय छ।

हाल विद्युत् उपभोग गर्ने ग्राहकहरूको संख्या सामुदायिक ग्राहक सहित ५९ लाख ३४ हजार आठ सय १४ रहेको छ। अझै ग्रामीण दूरदराजका एक प्रतिशत जनतामाझ यो सेवाविस्तार गर्नुपरेको छ। विद्युत् चुहावटको अवस्थालाई न्यूनीकरण गर्दै लगेर अहिले १२.७३ प्रतिशतमा झारिएको छ। एक दशकअगाडि दैनिक १६ घण्टासम्मको लोडसेडिङ हाल विद्युत् निर्यातको चरणमा आइपुगेको छ।

अझै खुसीको कुरा त यो छ कि गत आवमा विद्युत् आयात १६ अर्ब ८१ करोड रूपैयाँ बराबरको रहेको छ भने १६ अर्ब ९३ करोड बराबरको विद्युत् निर्यात गरिएको छ। यसरी झन्डै १२ करोड रूपैयाँभन्दा बढीको विद्युत् छिमेकी मुलुकमा आयातभन्दा बढी निर्यात गरेर नेपाल खुद विद्युत् निर्यातकर्ता बन्न सफल भएको छ।

यो नेपालको जलविद्युत् विकासका लागि कोशेढुंगा मात्र होइन, महत्त्वपूर्ण प्रथानविन्दु पनि हो। मुलुकमा पेट्रोलियम पदार्थको आयात गर्नुपरेको कारणले बर्सेनि विशाल धनराशी बाहिरिएको छ। यसको विकल्पका रूपमा नेपाल विद्युत् प्राधिकरणले विद्युतीय सवारी साधनको उपयोग र प्रवर्धन गर्दै त्यस्ता सवारी साधनहरू खरिद गरेको छ। यसको प्रभावस्वरूप अन्य व्यक्ति तथा निकायहरूले पनि त्यस्ता सवारी साधनहरू खरिद कार्यमा जोड दिन थालेका छन्।

प्राधिकरणले आफ्ना कर्मचारीहरूलाई पनि विद्यतीय सवारी साधन खरिद गर्न प्रोत्साहन गरेको छ। यसले आफ्ना कर्मचारीहरूलाई विद्युतीय सवारी साधन खरिद गर्न पाँच लाख रूपैयाँ सापटी प्रदान गर्दै आएको छ।

विद्युतीय सवारी साधनहरू चार्ज गर्नका लागि नेपाल विद्युत् प्राधिकरण र अन्य व्यक्ति तथा संस्थानहरूले ठाउँठाउँमा चार्जिङ स्टेसन निर्माण गरेका छन्। नेपाल विद्युत् प्राधिकरणले मात्र विभिन्न ठाउँमा ६२ वटा चार्जिङ स्टेसन निर्माण गरेको छ भने निजी क्षेत्रले चार सयभन्दा बढी चार्जिङ स्टेसनहरू निर्माण गरी सञ्चालनमा ल्याएका छन्।

त्यसैगरी विद्युतीय चुलोको प्रयोग र प्रवर्धन गर्न प्राधिकरणले गरीब घरपरिवारलाई निशुल्क रूपमा विद्युतीय चुलो वितरण गर्दै आएको छ। त्यसका लागि ‘ग्यास छोडौं, बिजुली जोडौं’ भन्ने नारा प्राधिकरणले लिएको छ।

यसरी नेपाल विद्युत् प्राधिकरणको प्रयासमा भएको विद्युतीय चुलो र विद्युतीय सवारी साधनको प्रवर्धनबाट एकातिर पेट्रोल तथा डिजेल गाडीहरूको प्रयोग कम भई इन्धनको खपत घटेर जनतालाई आर्थिक रूपमा सस्तो पर्न गएको छ भने अर्कोतिर वायुमण्डलमा कार्वन उत्सर्जन कम भई वातावरणीय स्वच्छतामा सकारात्मक योगदान पुग्न गएको छ।

स्थानीय तहसँगको साझेदारीमा प्राधिकरणले स्मार्ट सिटी निर्माण गर्ने अवधारणाअनुरूप सहरहरूमा स्मार्ट सडकबत्ती आयोजना सञ्चालनमा ल्याएको छ। काठमाडौं, ललितपुर, पोखरा, भरतपुर, धनगढीलगायतका सहरमा स्मार्ट स्ट्रिट लाइटिङ सिस्टम सञ्चालन गरेर प्राधिकरणले उज्यालो सहर निर्माणको अभियानलाई थालनी गरेको छ। यसको प्रभावबाट रातको समयमा जो कोही व्यक्तिहरू सडकमा निर्भिक रूपमा हिँडडुल गर्न पाउनुका साथै चोरीडकैती, बलात्कारलगायतका घटनाहरू न्यूनीकरणमा सघाउ पुर्‍याएको छ। ‘हाम्रो रहर, उज्यालो सहर’ भन्ने मान्यतालाई साकार पार्न सहयोग पुर्‍याउने भएकाले स्मार्ट सडकबत्तीलाई सामाजिक समृद्धिको एउटा प्रमुख आधारशिला मान्न सकिन्छ।

प्राधिकरणले आफ्ना कामकारबाहीलाई क्रमशः अनलाइन प्रणालीमा लग्दै गएको छ। मिटर रिडिङ कार्यलाई प्रविधिमैत्री बनाई फेसलेस बनाउन प्राधिकरणले काठमाडौं उपत्यकाबाट स्मार्ट मिटरिङ सिस्टम लागु गरेको छ।

सुरुमा महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रबाट सञ्चालन गरिएको यो कार्यक्रम लगत्तै काठमाडौं उपत्यकामा विस्तार गरी पछि देशभर लागु गर्ने योजना रहेको छ। त्यसैगरी विद्युतीय आवेदन प्रणाली, कम्प्युटराइज बिलिङ सिस्टम, ई–एटेन्डेन्स सिस्टम, सिएआइएस सिस्टम, भिएमएस सिस्टमलगायतका नवीनतम प्रणालीहरूको प्रयोगबाट आर्थिक एवं प्रशासनिक सुदृढीकरणका लागि गरिएका डिजिटल क्रियाकलापले प्राधिकरणलाई विद्युतीय सुशासनको मार्गमा डो¥याएको छ।

प्राधिकरणले घर घरमा मात्र होइन, खेत खेतमा विद्युतीकरणको कार्य पनि सुचारु गरेको छ। सिँचाइका लागि सस्तो दरमा विद्युत् उपलब्ध गराएर कृषिमा समृद्धि ल्याउन मद्धत पु¥याएको छ।

त्यसैगरी बस्ती बस्ती र खेतीपातीमा मात्र होइन, उद्योग व्यवसाय र कलकारखानामा विद्युतीकरण गरेर आन्तरिक खपत बढाई प्राधिकरणले समृद्ध नेपाल निर्माणको महान् अभियानलाई साथ दिएको छ। प्राधिकरणले हाल १२९ वटा वितरण केन्द्रहरूबाट जनमैत्री ढंगले विद्युत् सेवा प्रवाह गरिरहेको छ। जनताले मिटर जडानका लागि आवेदन गरेको मितिले सात दिनभित्रै नयाँ मिटर प्राप्त गर्न थालेका छन्।

जनगुनासो व्यवस्थापनका सन्दर्भमा नेपाल विद्युत् प्राधिकरण अग्रस्थानमा रहेको छ। टेलिफोनमार्फत प्राप्त हुने गुनासो व्यवस्थापनका लागि प्रत्येक प्रादेशिक कार्यालयहरूमा कल सेन्टरको व्यवस्था गरिएको छ।

नेपाल विद्युत् प्राधिकरणको पैसा नलाग्ने हटलाइन नम्बर ११५० मा कल गरी सेवाग्राहीले आआफ्ना सम्बन्धित प्रदेशका वितरण केन्द्रको गुनासो टिपाउने गरेका छन्। यसबाट शीघ्र ढंगले जनगुनासो व्यवस्थापन गर्न सहज भएको छ।

आर्थिक वर्ष २०८०/८१ मा नेपाल विद्युत् प्राधिकरणमा जम्मा ५० हजार तीन सय ७५ वटा गुनासा प्राप्त भएकामा ५० हजार ३७ वटा गुनासा फछ्र्योट भएका र बाँकी गुनासा फछ्र्योटको प्रक्रियामा रहेका छन्। यसरी प्राधिकरणले जनगुनासो व्यवस्थापनमा प्रगतिको छलाङ मारेको अवस्था विद्यमान रहेको छ।

अन्त्यमा कार्यकारी निर्देशक कुलमान घिसिङ संस्थाको नेतृत्वमा आएदेखि नै नेपाल विद्युत् प्राधिकरणले बर्सेनि मुनाफा आर्जन गर्न थालेको छ। गत आर्थिक वर्षमा मात्र यस संस्थाले १३ अर्ब ३१ करोड रूपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ।

 प्राधिकरणका अनुभूतिजन्य कामकारबाहीले जनमानसमा नेतृत्व र आम कर्मचारीप्रति सकारात्मक सन्देश प्रवाह गरेको छ। प्राधिकरणका सकारात्मक परिसूचकहरूले गर्दा नै पछिल्ला वर्षमा इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा निरन्तर ‘डबल एप्लस’ रेटिङ पाइरहेको छ। यस आर्थिक वर्षमा आफ्नो पुँजीको १० प्रतिशत सेयर सर्वसाधारणलाई निष्काशन गर्दै नेपाल विद्युत् प्राधिकरण जनताको स्वामित्वमा आधारित संस्था बन्ने योजना रहेको छ। करिब १० हजार कर्मचारी र ऊर्जाशील नेतृत्व प्रयासको प्रतिफलस्वरूप आज यो संस्था आम नागरिकमाझ गौरव गर्न लायक रहेको छ।

 मुलुकमा पटक पटकका राजनैतिक गठबन्धन र पटकैपिच्छे सरकारको फेरबदललगायत कैयौं चुनौतीपूर्ण परिस्थितिमा पनि सर्वत्र विद्युत् प्राधिकरणको प्रशंसा भएको छ। ऊर्जामा आत्मनिर्भर भएर विद्युत् निर्यात गर्दै मुलुकलाई समृद्धिको मार्गमा क्रियाशील गराएको छ।

चुनौतीका पहाडहरूलाई अवसरको मैदानमा रूपान्तरण गर्दै निरन्तरको अनुभूतिजन्य कार्यमार्फत आज यो संस्थाले देश र जनतालाई गौरव गर्न लायक परिस्थितिमा पुर्‍याएको छ।

–शर्मा नेपाल विद्युत् प्राधिकरणका सहायक निर्देशक हुन्।

प्रकाशित: १ भाद्र २०८१ ०९:१४ शनिबार

#Various ascents and descents #Challenges and progress of Nepal Electricity Authority