समाज

पर्यटक पर्खिरहेको महाबुधाम

चारैतिर अग्ला र अँध्यारा लेकहरू। नजिकैको सुन्दर पाटनको बिचमा विशाल ढुंगा। त्यसमाथि पूजा आराधनाका लागि शिवलिंगको मूर्ति। सुन्दर पाटनलाई बादलले छिनभरमै ढपक्क ढाकेर अँध्यारो बनाइदिन्छ।

कहिले सिमसिमे पानीसँगै हावाको वेगले फूलहरू हल्लिरहँदा त्यहाँ पुग्ने जोकोही पनि स्वर्गै पुगेको अनुभूति गर्छन्। छिनभरमै मौसम परिवर्तन भइरहने महाबु पुग्ने जोकोही पनि आनन्दको अनुभूति गर्छन्। लेकमै रहेको पोखरी र आसपासमा ढकमक्क फुलेका बुकिका फूलले अझ आनन्दित तुल्याउँछ।

कुहिरो र हुस्सुलाई घामले हटाएपछि महाबु पाटनबाट तराईका बर्दिया, टीकापुर र नेपालगन्जका सुन्दर फाँटको दृश्य हेर्न सकिन्छ। पाटनका बिच–बिचमा स–साना ताल, नजिकै केही गाइगोठ, वरपर चौरमा भेडाबाख्रा चर्नाले महाबुको महिमा बेग्लै देखिन्छ। यी दृश्यहरू हेर्दा कसैले शान्तिभूमिको संज्ञा दिन्छन् भने कसैले शिव र पार्वतीले तपस्या गरेको हुनसक्ने अड्कल काट्छन्।

हावाको सिरेटोसँग फूल हल्लिरहेको हेर्न उत्तिकै आनन्द आउँछ पाटनमा। चारैतिरसम्म परेका फाँट, बिच–बिचमा स–साना ताल, वरिपरि हरियो घना जंगलले गर्दा झनै शालीन स्वभावको देखिन्छ महाबु। चारैतिर सेताम्य बुकी फूलसँगै अन्य रंगीबिरंगीले फूलले महाबु क्षेत्र विवाहको मण्डप सिगाँरिएको जस्तै देखिन्छ। अर्कोतिर हरियो घाँसपात र भेडाबाख्रा, गाईगोरुले चरन चर्दै गरेको दृश्यले जोकोहीको मनै लोभ्याउँछ।

कालीकोट र दैलेखको सिमाना रहेको महावै पाटन हिउँदका साथै वर्षामा पनि मनमोहक देखिन्छ। चारैतिर अग्लाअग्ला लेक र धार्मिक रूपमा पवित्र मानिने महावै पाटन पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षण केन्द्र बन्दै गएको हो।

पाटनमा हिउँदमा हिउँ र वर्षायाममा हरियाली रहने भएकाले आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्रका रूपमा रहेको कालीकोट महावै गाउँपालिका–४ ओदानकुका रजबहादुर शाहीले बताए। कालीकोट र दैलेखको सिमाना पर्ने भएकाले अहिले दुवै जिल्लाले पूर्वाधार निर्माणसँगै प्रचारप्रसारमा जोड दिन थालेका छन्।

महावै पाटनका नामबाट दैलेखमा महाबु र कालीकोटमा महावै गाउँपालिका नामकरण गरिएको छ। पाटनका बिचमा रहेको ढुंगामाथि शिवको मन्दिर छ। हरेक वर्ष जनै पूर्णिमामा यहाँ मेला लाग्ने गर्दछ। मेलाका अवसरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ।

शिव मन्दिरलाई यहाँका स्थानीयले महाबु जगन्नाथ भन्ने प्रचलन रहेको बताउँदै महावै जगन्नाथलाई पनि महादेवको प्रतीकका रूपमा लिने गरिएको शाहीले बताए। ‘पूजाप्रार्थना गरे मनोकाक्षा पूरा हुन्छ भन्ने जनविश्वास रहिआएको छ,’ उनले भने, ‘शिव मन्दिरको मेला भर्नका लागि प्रत्येक वर्ष जनैपूर्णिमाका दिन कालीकोट, दैलेख, जुम्ला, जाजरकोट र सुर्खेतबाट श्रद्धालु भक्तजन यहाँ आउने गर्छन्।’

देशका एक सय महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको सूचीमा महाबुधाम समेटिएको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए। यस क्षेत्रको भौतिक पूर्वाधारसहित विकासमा पहल थालिएको उनको भनाइ छ।

‘यहाँको पर्यटन प्रवर्धन गर्न धर्मशालालगायत अन्य भौतिक संरचना निर्माणको पहल थालेका छौं,’ उनले भने, ‘पर्यटन विकासका लागि दुवै जिल्लाका स्थानीय तह र प्रदेश सरकारले पनि कामको थालनी गरेका छन्।’

धाममा धर्मशाला, सडक र मन्दिरलगायत अन्य संरचना निर्माण गर्न ठूलो रकमको आवश्यकता रहेको बताउँदै सिंहले अहिले दैलेखको नारायण नगरपालिका हुँदै महावै पाटन भएर जुम्ला जाने सडक निर्माण भइरहेको जानकारी दिए।

‘महावैमा वर्षायाममा कालीकोट र दैलेखबाट चरनका लागि ल्याउने भेडाबाख्रा तथा गाईभैंसीलाई गोठ बनाइएका छन्,’ अध्यक्ष सिंहले भने, ‘वर्षायाममा हरियाली फाँटमा भेडाबाख्रा, घोडा, गाईभैंसीका बथान देख्न सकिन्छ, यसले यहाँको आकर्षण थप बढाएको छ।’

महाबुधामको महत्त्व फरक

महाबुधाम कालीकोटको महावै गाउँपालिका–४ मा पर्छ। प्रत्येक वर्ष जनैपूर्णिमाका दिन यहाँ भव्य मेला लाग्छ। जनैपूर्णिमाका दिन विशेष पूजा गरिने भएकाले महाबुधाममा भगवान् शिवको दर्शन गर्न दैलेख, कालीकोट, जाजरकोट, सुर्खेत, बाँके, बर्दिया, कैलालीसँगै भारतबाटसमेत भक्तजनहरू आउने गर्छन्। सुन्दर पाटन हेर्ने र धार्मिक आस्था मान्नेहरूका लागि महाबुधाम आकर्षणको केन्द्र हो। महाबुधामबाट बर्दिया, कैलालीको टीकापुर र नेपालगन्जसम्म देख्न सकिन्छ।

पाटनको बिचमा रहेको ढुंगामाथि रहेको देवतालाई महाबु जगन्नाथ भन्ने गरिन्छ। महाबु जगन्नाथलाई महादेवका प्रतीकका रूपमा लिइन्छ। जगन्नाथलाई प्रार्थना गरे आफ्नो मनोकांक्षा पूरा हुन्छ भन्ने जनविश्वास रहेकाले महादेवलाई त्रिशूल बनाएर चढाउने गरिएको छ। काँधमा त्रिशूल बोकेर शिवको महिमा गाउँदै भक्तजनहरू पैदल यात्रा गर्छन्।

कालीकोटका काफ्ले थरका एक जना र दैलेख जिल्लाका आचार्य थरका एक जना पुजारीले पूजा गर्ने परम्परा रहेको महाबुधाममा महिलाहरू गएमा अनिष्ट हुन्छ भन्ने धारणा रहे पनि पछिल्लो समय महिलाले पनि दर्शन गर्न पाउने व्यवस्था गरिएको छ।  

महाबु गाथ रहेको स्थान रमणीय, पाटन क्षेत्र र समथर चरिचरन भएकाले दैलेख, कालिकोट, जुम्लालगायत स्थानबाट भैंसी, भेडाबाख्रा चराउने उद्देश्यले गोठालाहरू गोठ निर्माण गरेर बस्ने गर्छन्। वर्षभरि हुने अन्न अभाव हटाउन, गाईवस्तु र मानव जीवनको अकालमृत्यु हुनबाट बचाउन शिवको पूजापाठ गर्ने गरिन्छ।

पूजाका लागि पुग्ने भक्तजनले मुख्य मन्दिरको करिब चार सय मिटर टाढैदेखि बुकी झारलगायत मुखमा घाँस च्याप्ने चलन अहिले पनि कायमै छ। दाम्लो बाँधेकै अवस्थामा मरेका पशु चौपायाहरूको मोक्ष प्राप्तिका लागि किसानहरूले आफ्नो घाँटीमा दाम्लो बाँधेर पूजापाठ गर्ने प्रचलन पनि छ। नबोलिकनै शिवलिङ भएको स्थानलाई तीर्थयात्रीले सातपटकसम्म परिक्रमा गर्ने गर्दछन्।

शिवलिङमा दैलेखका आचार्य र कालीकोटका ब्राह्मणहरूले प्रत्येक वर्षको पूर्णिमा पूजामा दूधको धारासँगै पूजापाठ गरेपछि मात्र देशभरिका अन्य स्थानहरूमा रहेका देवीदेवताहरूको पूजा हुने प्रचलन छ।

प्रकाशित: १ भाद्र २०८१ ०७:२१ शनिबार

# Niyatra #Mahabudham awaits tourists